भूमिलाई सम्झँदै उधाैली, धान्य पूर्णिमा र याेमरी पर्व मनाइँदै

 मंसिर २६, २०७६ बिहिबार ८:३७:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बिहीबार (आज) किराँत समुदायले उधौली तथा नेवार समुदायले योमरी पुन्ही पर्व मनाउँदै छन् । 

किराँत समुदायले खेतमा अन्नबाली पाकेपछि आफ्नो इष्ट देवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बुहरूले चासोक तङ्नाम भन्छन् । 

किराँतभित्रका विभिन्न जातजातिले यो पर्वलाई फरक फरक नाम दिए पनि समग्रमा उधौलीका नामले चिनिने किराँत संस्कृतिका अध्येता कीर्तिकुमार दुमी राईले बताउनु भयो । मंसिर शुक्ल पूर्णिमाका दिन उधौली पर्व मनाउने किराँत समुदायले बाली लगाउने बेला अर्थात वैशाख शुक्ल पूर्णिमाका दिन उभौली पर्व मनाउने प्रचलन छ । 

आज भूमि पूजाका लागि बिहानैदेखि किँरात महिला तथा पुरुषहरू जातीय भेषभूषामा सजिएर च्याब्रुङ ढोल झ्याम्टासहित बाजाको तालमा नाच्दै पर्व मनाउने ठाउँमा पुग्छन् । पर्व र रीतिरिवाज एउटै भए पनि आ–आफ्नो भाषाअनुसार पर्वलाई पुकार्ने चलन छ । 

किराँतकालदेखिको ऐतिहासिक धार्मिक तीर्थस्थल मानिने सानो हात्तीवनमा आज उधौलीको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । वैशाख पूर्णिमामा उभौली पूजा बाली लगाउनुअघि भूमिको पूजा गर्नुपर्ने सन्दर्भसँग जोडिएको छ भने आजको उधौली बाली उत्पादन गरिदिएकोमा भूमिप्रति कृतज्ञता ज्ञापन गर्ने सन्दर्भसँग जोडिएको मानिन्छ । 

यस्तै उधौली उभौलीले ऋतु परिवर्तन र पर्यावरण अनुकुलता अनुरुपका कामका रुपमा समेत लिइने संस्कृतिविद राईले बताउनु भयो । मंसिर पूर्णिमाका दिन अर्थात आज धानको विधिपूर्वक पूजा आजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदैछ । 

मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गोठ देवता, महारुद्र, महालक्ष्मी लगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ । 

त्यसैगरी नेवार समुदायले आज योमरी पूर्णिमा मनाउँदै छन् । चामलको पीठो, चाकु, कालो तिलको योमरी बनाएर बेलुकी यस वर्ष भित्र्याएको अन्न बाली, भकारी पूजा गर्ने चलन छ । त्यस्तै भकारी पूजा गर्दा चामलको पीठोको कुबेर, लक्ष्मी र गणेशको मूर्ति बनाएर पूजा गर्ने गरिन्छ । 

यो दिनलाई लक्ष्मी पूजाको रुपमा मनाउने गरिन्छ । यसरी पूजा गरेमा वर्षभरि अन्नको अभाव नहुने विश्वास छ । 

जाडोको समयमा मास र चाकुलगायतका शरीरमा ताप बढाउने सामग्रीबाट रोटी बनाएर खाने पर्वका रुपमा यो पूर्णिमा मनाउने गरिएको हो । चार दिनपछि भकारी पूजाको विसर्जन गरिन्छ । 

काठमाण्डौ उपत्यकाका नेवार समुदायले ४०० वर्षअघि उत्तरायण माघ १ गतेदेखि योमरी पूर्णिमाका दिनमा सारेको विश्वास गरिन्छ । योमरी पूर्णिमाको अवसरमा साँखु, पाटन, टोखा, बनेपा, पनौती लगायतका ठाँउमा सांस्कृतिक र्‍याली, र्‍यालीसहितको त्य छि त्य कार्यक्रम हुँदैछ । 

यो दिनलाई धान्य पूर्णिमाका रुपमा समेत मनाउने गरिन्छ । पहाडी क्षेत्र र अन्य ठाउँमा बसोबास गर्ने पहाडी समुदायले कुलपूजा, गोठपूजा गर्ने परम्परा छ । त्यस्तै आज बनेपाको धनेश्वर महादेवको मेला लागेको छ । आज ज्यापू दिवस पनि मनाइन्छ । 

यसैबीच गृह मन्त्रालयले आज सार्वजनिक बिदा नभएको तर सम्बन्धित चाडपर्व मनाउने समुदायका व्यक्तिलाई भने बिदा दिइएको जनाएको छ । 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया