भारतले अतिक्रमण गरेको नेपाली भूमि गुञ्जीमा हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी

 मंसिर २६, २०७६ बिहिबार १२:४२:५३ | शंकर धामी
unn.prixa.net

दार्चुला – भारतले अतिक्रमण गरेको नेपाली भूमि गुञ्जीमा स्थानीय र सुरक्षाकर्मीका लागि हेलिकोप्टरबाट खाद्यान्न ढुवानी गरिएको छ । 

उच्च हिमाली क्षेत्रमा हिमपातका कारण खाद्यान्न अभाव हुने अवस्थालाई मध्यनजर गर्दै खाद्यान्न ढुवानी गरिएको भारतीय पत्रिका ‘दैनिक जागरण’ले जनाएको छ ।   

हिउँदको समयमा धारचूला र मुनस्यारी तहसिलको उच्च भूभागमा भारी हिमपात हुने गरेको छ । झण्डै ६ दशकदेखि भारतीय अतिक्रमणमा रहेको नेपाली भूभागमा झण्डै १ हजारको संख्यामा स्थानीय र भारतीय सुरक्षाकर्मी बसोवास गर्दछन् । 

महाकाली नदी र भारतले भन्दै आएको नक्कली महाकाली अर्थात लिपु खोलाको संगलस्थल रहेको गुञ्जीमा खाद्य भण्डार स्थापना गरिएको छ । भौगोलिक दुरी र विकटताका कारण भारतीय सेनाको हेलिकोप्टरमार्फत बुधबार खाद्यान्न ढुवानी गरिएको छ । 

बुधबार बिहानैदेखि भारतीय सेनाको हेलिकोप्टरले धारचूलादेखि गुञ्जीसम्म ३ पटक खाद्यान्न ढुवानी गरेको छ । धारचूला तहसिल अन्तर्गतको व्यास घाटी क्षेत्रका स्थानीयका लागि सन् २०२० मे महिनासम्मका लागि खाद्यान्न ढुवानी गरिएको दैनिक जागरण पत्रिकाले जनाएको छ । 

धारचूलासँगै जोडिएको मुनस्यारी तहसिलको खाद्य गोदाममा भने सन् २०२० जनवरीसम्मका लागि खाद्यान्न पुर्याइएको छ । उत्तराखण्ड सरकारको पूर्ति विभागले सैनिक हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी गरेको हो । 

पूर्ति विभागका पिथौरागढ जिल्ला पूर्ति अधिकारी एमएस रावतले व्यास घाटीका बासिन्दाका लागि आगामी मे महिनासम्मका लागि रासन भण्डारण गरिएको बताए । पिथौरागढका जिल्ला अधिकारी (डीएम) डा. विजयकुमार जोगदण्डेले सबै ग्यास गोदामहरु र पेट्रोल पम्पहरुलाई अतिरिक्त मात्रामा ग्यास र तेल भण्डारण गर्न निर्देशन दिएका छन् । 

अन्तिम अपडेट: चैत ४, २०८०

शंकर धामी

दार्चुलाका पत्रकार शंकर धामी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया