आप्रवासी कामदार दिवस : सीप र रोजगारीमा केन्द्रित

 मंसिर २६, २०७६ बिहिबार १५:३६:४ | उज्यालो सहकर्मी

काठमाण्डौ – सरकारले यस वर्षको अन्तर्राष्ट्रिय आप्रवासी दिवस सीप र रोजगारीमा केन्द्रित गरेको छ । ‘सीप र रोजगार : आर्थिक समृद्धिको आधार’ भन्ने मूल नाराका साथ सप्ताहव्यापी रुपमा दिवस मनाउन सुरु भएको हो । 

सुरक्षित वैदेशिक रोजगारीका लागि सरोकारवालाहरुमा सचेतना अभिवृद्धि गर्ने उदेश्यले सप्ताहव्यापी रुपमा दिवस मनाउन सुरु भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

आप्रवासी श्रमिक र उनीहरुका परिवारका सदस्यको अधिकार संरक्षणको लागि हरेक वर्ष डिसेम्बर १८ मा यो दिवस मनाइन्छ । दिवसको मूल कार्यक्रम डिसेम्बर १८ अर्थात आउँदो पुस २ गते भए पनि बिहीबारदेखि नै कार्यक्रम सुरु भएको छ ।  

हप्ताभर हुने मुख्य कार्यक्रम

विभिन्न संघ, संस्थाहरुले वैदेशिक रोजगारीसँग केन्द्रित रहेर हप्ताभरी विभिन्न कार्यक्रम आयोजना गर्ने मन्त्रालयले जनाएको छ ।

माइती नेपालले बिहीबारदेखि पुस २ गतेसम्म राहदानी लिन जानेहरुका लागि परामर्श र विद्यालयमा आप्रवासनसम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्नेछ ।
यस्तै नेपाल ट्रेड युनियन कांग्रेसले शुक्रबार वैदेशिक रोजगारीमा जानु पहिले ध्यान दिनुपर्ने विषयमा अन्तरक्रिया गर्नेछ । 

नेपाल वैदेशिक रोजगार व्यवसायी महासंघले शुक्रबार नै काठमाण्डौ भित्रिने मुख्य नाका थानकोट, साँगा, गोंगबु र त्रिभुवन अन्तर्राष्ट्रिय विमान थलमा जनचेतनामूलक नारा सहित फ्लेक्स बोर्ड राख्ने तय भएको छ ।

नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघले शुक्रबार होटल अन्नपूर्णमा कामदारको लागि वित्तीय साक्षरतामा अभिमुखीकरण तालिमको भूमिका सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गर्नेछ । 

पिपुल फोरमले शुक्रबार वैदेशिक रोजगार पीडितको सुनुवाइ कार्यक्रम र २९ गते वैदेशिक रोजगारको मुद्दाको अनुसन्धानबारे अन्तरक्रिया गर्नेछ । यस्तै रिटर्नी माइग्रेन्टले विप्रेषणको सामाजिक प्रभाव र पीडा विषयमा मंसिर २९ गते छलफल गर्नेछ ।

नेपाल मेडिकल व्यवसायी संघले २९ गते नै वैदेशिक रोजगारीमा जाने युवाहरुलाईस्वास्थ्य सम्बन्धी जनचेतना जागरण तथा निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ ।

यस्तै सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल (एनएनएसएम)ले २९ गते वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार बोर्डको कार्यसञ्चालन प्रभावकारिता विषयमा छलफल कार्यक्रम गर्नेछ ।

प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)ले ३० गते हराइरहेका नेपाली कामदारहरुको सम्बन्धमा अन्तरक्रिया तथा पुस २ गते वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका कामदारहरुको सम्झनामा माइतीघर मण्डलामा दीप प्रज्वलन गर्नेछ ।

पौरखी नेपालले सुरक्षित आप्रवासन सम्बन्धमा २७ गते फुटुङ र २९ गते दक्षिणकालीमा सरोकारवालासँग छलफल गर्ने तय भएको छ । यस्तै आप्रवासी महिला कामदार समूह (आम्कास नेपाल)ले पुस १ गते  आव्रवासी घरेलु महिला कामदार सम्बन्धमा नेपाल आर्ट काउन्सिल, बबरमहलमा पोस्टर प्रदर्शनी गर्नेछ । 

युथ एक्सन नेपालले १८ गते आप्रवासनका समसामयिक विषयमा युवाहरुको भूमिका सम्बन्धमा विद्यार्थीहरुलाई अभिमुखीकरण गर्नेछ । वैदेशिक रोजगार बोर्डले पुस २ गते ‘सीप र रोजगार : आर्थिक समृद्धिको आधार’ सम्बन्धमा छलफल गर्नेछ ।

अन्तर्राष्ट्रिय श्रम संगठनले पुस २ गते कार्यक्षेत्रमा हुने हिंसाबारे राष्ट्रिय कार्यशाला आयोजना गर्नेछ । अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम)ले पुसा २ गते नेपाल बसाईसराई रिपोर्ट २०१९ सार्वजनि गर्नेछ । नेपाल ट्रेड युनियन महासँघ (जिफन्ट)ले पुस १ गते अन्तरक्रिया कार्यक्रम गर्नेछ ।

सीप र रोजगारीमा जोड

संयुक्त राष्ट्रसंघको महासभाले आप्रवासी श्रमिक र परिवारका सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि, १९९० पारित गरेको दिनको स्मरणमा हरेक वर्ष डिसेम्बर १८ का दिनलाई विश्वभर आप्रवासन दिवसका रूपमा मनाउने गरिन्छ । उपलब्ध तथ्यांकअनुसार संसारभर २३ करोडभन्दा बढी मानिस आप्रवासीको रुपमा रहेका छन् । त्यसमध्ये १५ करोडभन्दा बढी आप्रवासी कामदार छन् । 

नेपालको पन्ध्रौं योजनाको आधारपत्र अनुसार नेपालमा वार्षिक ५ लाख थप जनशक्ति श्रम बजारमा प्रवेश गर्छन् । देशभित्र पर्याप्त रोजगारीका अवसर नहुँदा र गन्तव्य देशको आकर्षणका कारण दैनिक करिब १२ सय युवाहरुले वैदेशिक रोजगारीमा जानको लागि श्रम स्वीकृति लिने गरेका छन् । 

शिक्षा, व्यापार, व्यवसाय आदि कारणले विदेश जानेहरु तथा भारतमा रोजगारीको लागि गएका नेपालीको संख्यालाई अभिलेख गर्ने हो भने यो संख्या अझ बढी हुने अनुमान गरिएको छ ।

यस वर्ष अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसमा सरकारले देशभित्रैको कामलाई जोड दिएको जनाएको छ । ‘सकभर आफ्नै देशमा काम गरौं, विदेशमा गएर पैसा कमाउन सजिलो छैन’, ‘अरुको लहैलहैमा वैदेशिक रोजगारीमा नजाऔं’, ‘सीप सिकेर मात्र वैदेशिक रोजगारीमा जाऔं’ लगायतका नारामा जोड दिइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया