नेपाली श्रमिकको समान ज्यालाका लागि पहल गर्छु : श्रम मन्त्री यादव

 मंसिर २७, २०७६ शुक्रबार १७:७:४६ | रासस

शर्लाही – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले अरु देशका श्रमिक सरह नेपालका श्रमिकले समान ज्याला पाउनुपर्ने विषयमा पहल गर्ने बताउनुभएको छ ।

सर्लाहीमा शुक्रबार भएको ‘विदेशबाट आउने विप्रेषणको उत्पादनमूलक प्रयोगका लागि अवसर र चुनौती’ विषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले यस्तो बताउनुभएको हो ।

‘अरु देशका श्रमिकले पाउने पारिश्रमिकभन्दा नेपालका श्रमिकले कम श्रम पाउनु हुँदैन, समान पारिश्रमिकका लागि योजना बनाउन लागेको छु,’ मन्त्री यादवले भन्नुभयो ।

युवालाई राम्रो आम्दानी हुने देशमा रोजगारीका लागि पठाउन पहल भइरहेको भन्दै उहाँले वैदेशिक रोजगारीमा जाने व्यक्तिले सीप सिकेर जानुपर्नेमा पनि जोड दिनुभयो ।

सीप सिकाउनका लागि सातवटै प्रदेशमा प्रादेशिक तालीम केन्द्र सञ्चालनको तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । स्वदेशमा भित्रिने विप्रेषणलाई उत्पादनतर्फ कसरी लगाउन सकिन्छ भन्नेबारेमा र विदेशबाट श्रमिकले सिकेर आएको सीपलाई सदुपयोगका विषयमा विभिन्न पक्षसँग छलफल भइरहेको पनि मन्त्री यादवले बताउनुभयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया