धनुषा बम विस्फाेट प्रकरण : विप्लव समूहका ३ जना पक्राउ

 मंसिर २८, २०७६ शनिबार १६:१४:३३ | सुभाष कर्ण
unn.prixa.net

धनुषा - धनुषाको क्षिरेश्वरनाथ नगरपालिका -५ महेन्द्रनगरमा प्रहरी निरीक्षकसहित ३ जनाको ज्यान जाने गरी भएको बम विस्फोट घटनामा संलग्न भएकाे आराेपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले अनुसन्धानको क्रममा दुई महिला र एक पुरुष गरी तीन जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुमा हंसपुर नगरपालिका २ बघचौडा निवासी ललितादेवी महरा, सीता देवी महरा र मिथिला बिहारी नगरपालिका-१ का रामसुजित धानुक रहेका छन् ।

पक्राउ परेकाहरु विप्लव समूहसँग आबद्ध रहेकोले घटनामा विप्लव समूहकै संलग्नता हुन सक्ने आशंका प्रहरीको रहेको छ । पक्राउ परेकाहरु विप्लव समूहका केन्द्रीय सदस्यदेखि जिल्ला पदाधिकारी रहेको बुझिएकोे छ ।

श्रोतका अनुसार विस्फाेटमा परि ज्यान गुमाएका राजेश्वर साहले ऋणमा पैसा लगानी गर्ने गरेकाे र विप्लव समूहका केही कार्यकर्ताहरुलाई समेत ऋण दिनु भएकाे थियाे । त्यही पैसा ताकेता गर्दा उनको घरमा बम झुण्डयाएको हुन सक्ने प्रहरीकाे प्रारम्भिक विश्लेषण रहेकाे छ । केही दिनअघि राजेश्वरले आफू असुरक्षित रहेको भनी इलाका प्रहरीका कार्यालय हेन्द्रनगरबाट प्रहरी सुरक्षा लिनु भएकाे थियाे ।

गएराति भएको बम विस्फोट घटनामा परि प्रहरी निरीक्षक अमिर दाहालसहित ३ जनाको ज्यान गएकाे छ । इलाका प्रहरी कार्यालय नजिकै रहेको राजेश्वर साहको घरको गेटमा फेला परेको बम हो होइन भन्ने यकिन गर्ने क्रममा प्रहरी निरीक्षक दाहालसहित ३ जनाकाे ज्यान गएकाे हाे ।

घरधनी राजेश्वर साह र उहाँका छोरा आनन्द साहको घटना स्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते भएका प्रहरी निरीक्षक दाहालको उपचारको क्रममा धरानस्थित बीपी कोइराला प्रतिष्ठानमा बिहान ७ बजे मृत्यु भएको थियो ।

विस्फाेटमा प्रहरी जवान रिजन महतो, राजेश्वरका छोरा प्रकाश साह र छोरी अञ्जली साह घाइते भएका छन् ।  उनीहरुको उपचार धरानमै भइरहेको छ । राजेश्वरको श्रीमती शौचालयमा रहेका कारण केही भएकाे छैन ।

घरको गेटमा बमको झोला झुण्डयाइएको छ भनी राजेश्वरले ११ बजेतिर प्रहरी निरीक्षक दाहाललाई फोन गर्नु भएकाे थियाे ।  बम झुण्डयाइएको गेटसहित शौचालय र घरका झ्याल ढोकासमेत टुटफुट भएको छ ।

घटनाबारे यकिन अनुसन्धान विवरण आउन नसके पनि प्रहरी श्रोतका अनुसार रिमोट बम रहेको थियो । प्रहरी पुग्नेबित्तिकै रिमोट थिचिएको प्रहरीको भनाइ छ । तर केही स्थानीयका अनुसार शंकास्पद झोलामा केही छैन भनी प्रहरीले झोला उतार्न लाग्दा विस्फोट भएको र राजेश्वरका परिवारका व्यक्तिहरु प्रहरी नजिकै रहेको कारण घटनामा पर्न गएको हो ।

औषधि व्यवसायीसमेत रहेका राजेश्वर ऋणमा पैसा दिने साहुकारको काम समेत गर्दै आउनु भएकाे थियाे । पारिवारिक श्रोतका अनुसार हालसम्म उहाँले ३० लाख रुपैयाँ ऋणमा लगाउनु भएकाे छ ।

 

अन्तिम अपडेट: चैत १५, २०८०

सुभाष कर्ण

कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया