'युवा जागे ठाडो भाका मर्दैन'

 मंसिर २८, २०७६ शनिबार २०:४२:५३ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ - नेपाली मौलिकता झल्किने र लमजुङे संस्कृतिसँगै जोडिएको प्रचलित भाका हो, ठाडो भाका । त्यही भाकासँग जोडिएको चर्चित नाम हो, भेडीखर्के साइँला (दीर्घराज अधिकारी) ।

ठाडो भाका लमजुङसहित गोर्खा, तनहुँ, कास्कीमा गुन्जने लोपाेन्मुख भाका पनि हो । जानकारहरुका अनुसार ठाडो भाकाका पिता बांग्रे, हाँडीखोलाका देउबहादुर दुरा र कास्कीका पञ्चेसुब्बा गुरुङलाई नै मानिन्छ ।

‘ठाडोभाका शिरोमणि’को उपाधि

त्यसलाई यो समयसम्म पनि टिकाइराख्ने श्रेय स्व. भेँडीखर्के साइँलालाई नै जान्छ । माया, पिरती, दुःख–सुख, गाउँले जन–जीवनका भाव समेटेर साढे ७ दशकसम्म ठाडो भाकाको संरक्षणमा लाग्नुभएका साइँला अहिले हामीमाझ हुनुहुन्न ।

विक्रम संवत १९९० भदौ २९ गते बुवा बलभद्र अधिकारी र आमा नन्दकुमारी अधिकारीको कोखबाट साबिक सिन्दूरे गाविस–६, दुराडाँडा लमजुङमा जन्मिनुभएका साइँलाको २०७४ साल भदौ २६ गते ८४ वर्षको उमेरमा निधन भएको हो ।

आजीवन ठाडो भाकाको श्रीवृद्धिमा लाग्नुभएका साइँलाले नागरिक तहबाट ‘ठाडो भाका शिरोमणि’को उपाधि पाउनुभयो । तर उहाँको जीवनकालमा उहाँलाई राज्यले खासै सहयोग र सम्मान गर्न नसकेको जानकारहरु बताउँछन् ।

मिठा, मधुर, जन–जनका मनछुने ठाडोभाका गाएर नेपाली मौलिक गीत–संगीत क्षेत्रमा अतुलनीय योगदान पुर्‍याउनुभएका साइँला अहिले हामीमाझ हुनुहुन्न । उहाँको सम्मान र सम्झनामा लमजुङको सुन्दरबजारस्थित लक्ष्मीनारायण मन्दिर परिसरमा साइँलाको शालिक बनाइएको छ ।

सम्मान र सम्झनामा शालिक निर्माण

यस्तै, लमजुङको सुन्दरबजार नगरपालिका–८, भोटेओडार कृष्ण बगैँचामा पनि स्वर्गीय भेँडीखर्के साइँलाको शालिक अनावरण गरिएको छ ।

सँगै राष्ट्रिय लोक गायक युक्तबहादुर गुरुङको शालिक र कृष्ण बगैँचाका संस्थापक स्वर्गीय कालु कार्कीको पनि स्मारक अनावरण गरिएको छ । भोटेओडार, कृष्णबगैँचामा रहेको झण्डै एक रोपनी जग्गामा स्वर्गीय साइँला र गुरुङको अर्धकदको शालिक निर्माण गरिएको हो ।

भेँडीखर्के साइँला र युक्तबहादुर गुरुङ स्मृति पार्क निर्माण समितिले १५ लाख ६५ हजार ५ सय रुपैयाँ खर्चेर भोटेओडारमा स्वर्गीय साइँला, गुरुङको शालिक र कार्कीको स्मारक निर्माण गरिएको समितिका अध्यक्ष एवम् भेँडीखर्के साइँलाका छोरा गंगाप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

ठाडो भाका जोगिए मात्रै अग्रजको सम्मान

साइँलाको शालिक बनाएर उहाँको सम्झनालाई चिरस्थायी बनाउन सहयोग पुगेको संगीतकर्मी कृष्ण गुरुङ बताउनुहुन्छ ।

‘ठाडोभाका नेपालकै पहिचान र निधी हो । साइँलाले ठाडोभाका संरक्षणमा पुरै जीवन सुम्पनुभयो । शालिक बनाएर उहाँको सम्झनालाई चिरस्थायी बनाएका छौँ,’ गुरुङले भन्नुभयो, ‘यतिले मात्र पुग्दैन । नयाँ पुस्ताले ठाडोभाका गाउन सिक्नुपर्छ । गाउनुपर्छ र यसको प्रचारप्रसार व्यापक बनाउनुपर्छ । तब मात्र हामीले अग्रजहरुको गुन तिर्न सक्छौ ।’

साइँलासँग लामो संगत नभएतापनि केही समय बिताउने सुअवसर पाएको चर्चित लोक दोहोरी गायक राजु परियार बताउनुहुन्छ ।

‘उहाँसँग केही समय बिताउने सुअवसर पाएँ । आदरणीय भेँडीखर्के साइँला बुवाबाट केही शब्द उपहारको रुपमा पाएको छु । ठाडोभाकाको ‘मेसो’, ‘रहनी’ उहाँबाटै सिक्ने अवसर पनि पाएँ । पक्कै हामी जुटे ठाडोभाका जगेर्ना हुनेमा म विश्वस्त छु,’ गायक राजुले भन्नुभयो ।

प्रख्यात लोक दोहोरी गायक राजुसंगै गायिका मञ्जु विक, राधा भण्डारी, रमेश परियार, उत्तम गुरुङ, धम्पु दुरालगायतका गायक–गायिका ठाडोभाका संरक्षणमा जुटिरहनुभएको छ ।

‘ठाडोभाका सिक्दैछु । अहिले यो भाका फस्टाएको मैले महसुस गरेको छु । लमजुङसंगै बाहिरका कलाकारले पनि यसलाई गाउन थाल्नुभएको छ,’ गायिका मञ्जु विकले भन्नुभयो ।

सबै पक्ष जुर्मुराए मौलिक ठाडोभाकालाई विश्वव्यापी बनाउन सकिने लोकप्रिय टिभी कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्ण कडेँल बताउनुहुन्छ । ‘युवा जागे ठाडोभाका मर्दैन,’ उहाँले भन्नुभयो । 

ठाडो भाका शिरोमणि साइँलाको निधनसँगै पछिल्लो समय लमजुङे ठाडो भाका हराउँदै जान थालेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लमजुङका अध्यक्ष अनुज अधिकारी बताउनुहुन्छ । ‘तर मौलिक ठाडो भाका संरक्षणमा हामीहरु निरन्तर लागिरहन्छौँ’, उहाँले भन्नुभयो ।


 

अन्तिम अपडेट: बैशाख ३, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया