गहिरिँदै नेपाली चलचित्रको संकट : हलमा खडेरी, दाउमा ‘स्टारडम’ !

 मंसिर २९, २०७६ आइतबार १४:२०:४८ | विष्णु विश्वकर्मा
unn.prixa.net

काठमाण्डौ – गएको हप्ता ‘माछा माछा’ र ‘माया पिरम’ चलचित्र प्रदर्शनमा आए । यसमध्ये ‘माछा माछा’बाट केही आश गरिएको थियो ।

आश गर्नु पनि स्वभाविक थियो । चर्चित ‘सिनेमा आर्ट’को ब्यानरमा बनेको चलचित्रमा ‘ब्राण्डेड’ रामबाबु गुरुङ र दयाहाङ राईले लगानी गरेका थिए । चल्तीका कलाकार सौगात मल्ल, विजय बराल, भोला सापकोटा र सरिता गिरी लगायतको मुख्य भूमिका थियो ।

तर आश गरिएको ‘माछा माछा’ चलचित्र पनि ‘भ्यागुता’ साबित भयो । लगानी उठ्नु त परको कुरा, सिनेमा हलमा दर्शकको उपस्थिति निकै कम देखियो । शुक्रबारदेखि प्रदर्शनमा आएका चलचित्र ‘प्रेमसागर’ र ‘सूर्यकिरण’को पनि यही हविगत छ ।

दुई हप्ताअघि प्रदर्शनमा आएका ‘लभ यु हमेशा’, ‘मखमली मखमली’ र ‘सरौतो’को अवस्था पनि उही रह्यो । हलमा तीन वटा चलचित्र थिए, तर दर्शकको खडेरी ! 

यी मात्रै होइनन्, गएको असोजमा लागेको ‘छ माया छपक्कै’पछिका कुनै चलचित्रलाई पनि दर्शकले रुचाएका छैनन् । ‘घामड शेरे’, ‘चचहुई’, ‘जीवन काँडा की फूल’, ‘पोइ पर्‍यो काले’ यही कोटीमा पर्छन् । त्यसपछि पनि हलमा हप्तैपिच्छे नयाँ नयाँ चलचित्र त आए तर चलचित्र हेर्न दर्शक हलसम्म गएनन् ।

चलचित्र विकास बोर्डका अनुसार गएको वैशाखदेखि मंसिरसम्ममा ६० भन्दा बढी चलचित्र प्रदर्शनमा आएका छन् । तर तीमध्ये औँलामा गन्न सकिने चलचित्र मात्रै सफल भए ।

नामैै किटान गर्ने हो भने ‘जात्रै जात्रा’, ‘कबड्डी कबड्डी कबड्डी’ र ‘छ माया छपक्कै’ सफल देखिए । बाँकी सबै औसतमै गनिए । आखिर किन त ? 

दोहोरिएको संकट !

यसरी संकट आउनुका पछाडि अहिले पनि धेरै चलचित्रकर्मीको रेडिमेड जवाफ छ – सबै चलचित्र सफल हँुदैनन् । तर सबै चलचित्र सफल हुँदैनन् भने पनि हलमा यसरी दर्शकको खडेरी परेको पहिलो पटक भने होइन ।

२०६८ सालमा पनि यही संकटबाट चलचित्र क्षेत्र गुज्रिएको थियो । जतिबेला निश्चल बस्नेतको ‘लुट’ले नेपाली चलचित्र उद्योगको उद्धार ग¥यो । चलचित्र विकास बोर्डले संकटकाल घोषणा गर्नै लागेका बेला ‘लुट’ले तहल्कै पिटेको थियो ।

लुट चलचित्रले नै सौगात मल्ल र दयाहाङ राईलाई नेपाली चलचित्रका नयाँ स्टार बनाएको हो । निश्चल बस्नेत भने स्टार निर्देशक भए । झण्डै दशकअघि नेपाली चलचित्र क्षेत्रको उद्धार गरेका तीनै जना स्टार सौगात, दयाहाङ र निश्चल अहिले ‘फ्लप’ छन् । अर्थात संकटबाट गुज्रिरहेका छन् ।

प्रमाणका रुपमा ‘घामड शेरे’ र ‘माछा माछा’ नै काफी छन् । घामड शेरेले निश्चल बस्नेत र स्वस्तिमा खड्का दम्पतीलाई ठूलै झट्का लाग्यो । ‘माछा माछा’ले दयाहाङ र सौगातलाई ‘भ्यागुता’ बनाइदियो । गएको वर्ष ‘बुलबुल’ चलचित्रबाट उत्कृष्ट अभिनेत्री बनेकी स्वस्तिमा ‘घामड शेरे’का कारण ‘फ्लप’ बनिन् ।  

पुरानै कथा, शैली र सूत्र !

चलचित्र समीक्षक शान्तिप्रियका अनुसार नेपाली चलचित्र अहिले पनि पुरानै कथा, शैली र सूत्रमा चलिरहेका छन् । २०६८ सालभन्दा अगाडि बलिउडकै शैलीमा कथाभन्दा अनुहार देखाएर चलचित्र बनाउने र चलाउने होडबाजी थियो ।

जुन ६०को दशकको अन्त्यतिर काम लाग्न छाड्यो । त्यसपछि ‘लुट’ले नयाँ शैली सुरु गर्‍यो । लुटले मुख्यतः कथा भन्ने शैली परिवर्तन गरेको हो । जसमा कथा प्रधान मानेर प्रस्तुति शैली फरक थियो । थोरै कमेडी पनि मिसियो ।

त्यसयता लुटकै शैलीमा चलचित्र निर्माण भइरहेका छन् । यद्यपी कथा, विषयवस्तु र प्रस्तुति शैलीमा पनि त्यत्तिकै ‘अर्गानिक’ ल्याइयो । तर सबै चलचित्रमा त्यो छैन । 

७०को दशकको सुरुमा कमेडी हावी भयो । जसको नेतृत्व दीपकराज गिरी र दीपाश्री निरौलाले गरे । ‘वडा नम्बर ६’ बाट सुरु भएको कमेडी शैली अहिले ‘छ माया छपक्कै’सम्म आइपुग्दा ‘कमेडी’ तर गहकिलो ‘कन्टेन्ट’मा परिणत भएको छ ।

‘चलचित्र निर्माण हुने र चल्ने भनेको कथा, प्रस्तुति र प्रविधिले हो’ चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष समेत रहेका समीक्षक शान्तिप्रिय भन्नुहुन्छ, ‘तर यी तीनवटै विधामा चलचित्र निर्माण हुन सकेनन् । जो भए, चले पनि । धेरैजसो भएनन् र चलेनन् पनि ।’

शान्तिप्रियका अनुसार हरेक १० वर्षमा चलचित्रका दर्शक पनि फेरिन्छन् । दर्शक फेरिएपछि कथा, विषयवस्तु र प्रस्तुति शैली पनि फेरिनुपर्छ । तर नेपाली चलचित्रमा नयाँ र भिन्न शैलीभन्दा एउटै शैलीमा चलचित्र बनाउने र व्यापार गर्ने होडबाजी छ । जसलाई ब्रेक गर्नेभन्दा व्यापार गर्ने प्रवृत्तिले अहिलेको संकट दोहोरियो ।

‘विगतमा अनुहार देखाएर चलचित्र निर्माण गरियो । कथामा ध्यान दिइएन । त्यसपछि कथा केही परिवर्तन भयो । प्रस्तुति पनि केही फेरियो । तर त्यही पटक पटक दोहोरियो । प्रविधिलाई पनि आत्मसात गरिएन । अनि चलचित्र चल्न छाड्यो’ शान्तिप्रियको दाबी छ ।

‘ब्राण्ड’को भर, टिमको सफलता !

यस वर्ष सफल देखिएका ‘जात्रै जात्रा’, ‘कबड्डी कबड्डी कबड्डी’ र ‘छ माया छपक्कै’ ब्राण्ड हुन् । जात्रै जात्रामा रवीन्द्रसिंह बानियाँ, विपिन कार्की, रवीन्द्र झा, वर्षा राउत छन् । जसको सफल निर्देशन प्रदीप भट्टराईले गरे । ‘जात्रा’बाट हौसिएको यो टिमले ‘जात्रै जात्रा’ पनि सफलता पायो ।

‘कबड्डी कबड्डी कबड्डी’ रामबाबु गुरुङले निर्देशन गरेका हुन् । ‘कबड्डी’बाट सुरु भएको यो टिमको सफलता ‘कबड्डी कबड्डी कबड्डी’सम्म पुगेको हो । दयाहाङ राई केन्द्रीय पात्र मानिएको यो टिममा विजय बराल, बुद्धि तामाङ, सौगात मल्ल, निश्चल बस्नेत लगायत छन् ।

कबड्डी र जात्रा अब ब्राण्ड भइसकेका छन् । यस्तै ब्राण्ड दीपकराज गिरी र दीपाश्रीको ‘वडा नम्बर ६’ देखि सुरु भएर ‘छ माया छपक्कै’सम्म पुगेको छ । ब्राण्डका पछाडि कथा, प्रस्तुति शैली र सूत्र पनि जोडिएको छ ।

जसलाई दर्शकले रुचाएका छन् । समीक्षकले केही आलोचना र प्रशंसा गरे पनि ‘कन्टेन्ट’ले गर्दा चलचित्र चलेका हुन् । व्यापार गरेका छन् । दर्शकलाई हलसम्म तानिरेहका छन् । 

यस्तै ब्राण्ड र टिम अरु चलचित्रमा पनि छन् । तर निरन्तर रुपमा अघि बढ्न सकेका छैनन् । कोही अघि बढे पनि सफल देखिएका छैनन् । 

‘स्टारडम’को चिन्ता !

चलचित्र कथावस्तुमा निर्माण हुने विधा हो । जस्तो कथा छ, त्यहीअनुसार चलचित्र निर्माण हुन्छन् । तर कथावस्तुअनुसार पात्र छनौट सही हुन सकेन भने चलचित्र असफल हुन्छन् ।

कथाअनुसारको पात्र छनौट र अभिनयले राजेश हमाल महानायक बने । भुवन केसी सदाबहार नायक बने । निखिल उप्रेती र विराज भट्ट एक्सन स्टार बने । तर अहिले यी चारै जना सुपरस्टार फ्लपजस्तै छन् । 

‘बाग्मती’ असफल भएपछि राजेश हमालले चलचित्र खेल्ने आँट गर्न सकेनन् । ‘भैरव’बाट सफल कमब्याक गरेका निखिल उप्रेती ‘रुद्र’ र ‘पिजँडा ब्याक अगेन’ असफल भएपछि चलचित्र खेलेका छैनन् । ‘जय पर्शुराम’बाट कमब्याक सफल नभएपछि ‘साङ्लो’ ल्याउनै लागेका विराज भट्ट पनि उति साह्रो चर्चित छैनन् । यद्यपी सफल कमब्याकको आशामा छन्, विराज ।

केही समय पहिले प्रदर्शनमा आएको चलचित्र ‘मिस्टर नेपाली’ असफल भएपछि भुवन केसीको पुरानो स्टारडम पनि बिक्न सकेन । यी पुराना सुपरस्टार मात्रै होइनन्, अहिलेका दयाहाङ राई, सौगात मल्ल, विपिन कार्की, आर्यन सिग्देलको ‘स्टारडम’ पनि धर्मराइसकेको छ ।

नयाँ विषयवस्तु र कथा नहुने तर चर्चित अनुहार अथवा ‘स्टारडम’ भएपछि चलचित्र चल्छ भन्ने ‘ट्रेन्ड’ असफल भइसकेको छ । यसको पछिल्लो उदाहरण नयाँ पुस्ताका अनमोल केसी र प्रदीप खड्का पनि हुन् । 

‘होस्टेल’बाट नेपाली चलचित्रमा डेब्यू गरेका अनमोल केसीका ‘ड्रिम्स’, ‘जेरी’, ‘गाजलु’ सफल चलचित्र हुन् । तर पछिल्लो समय आएका ‘कृ’, ‘ए मेरो हजुर ३’, ‘क्याप्टेन’ त्यत्ति सफल नभएपछि अनमोल पनि आफ्नो ‘स्टारडम’लाई लिएर चिन्तित छन् ।

युवा सुपरस्टारका रुपमा चिनिएका भुवन केसीका पुत्र अनमोल ‘कोरियन लुक्स’को स्टारडम फर्काउन नयाँ चलचित्र र कथावस्तुको पर्खाइमा छन् । यस्तै ‘प्रेमगीत’बाट नयाँ स्टार बनेका प्रदीप खड्काका पछिल्ला तीन चलचित्र लगातार असफल भए ।

‘लिलिबिली’, ‘रोजी’ र ‘लभ स्टेशन’ फ्लप भएपछि गिरेको स्टारडम फर्काउन प्रदीप ‘प्रेमगित ३’को पर्खाइमा छन् । जुन आउँदो चैतमा प्रदर्शन हँुदैछ ।
स्टारडमले चलचित्र चल्छ भनेर व्यापार गर्न हौसिएका निर्माता र निर्देशकले ‘हण्डर ठक्कर’ खाइसकेका छन् । तर त्यसको विकल्प के ? भन्नेमा कसैको पनि एकमत छैन ।

अबको विकल्प के ? 

जसरी २०६८ सालको संकट टार्न निश्चल बस्नेतको ‘लुट’ले ‘आइसब्रेक’को काम ग¥यो । त्यही नयाँ आइसबे्रेकको पर्खाइमा अहिलेका चलचित्रकर्मी छन् । हुन त आउँदो हप्ता सलमान खानको ‘दबंग ३’ प्रदर्शन हुँदैछ ।

त्यसपछि विपिन कार्कीको ‘सेल्फी किंग’ र प्रदीप खड्काको ‘प्रेमगीत ३’ पनि प्रदर्शनमा आउने तयारीमा छन् । यसबीचमा पनि सफल र राम्रा चलचित्र आउलान् । तर नयाँ र भिन्न शैली बोकेर अहिलेको ‘ट्रेन्ड’लाई फेर्न ‘चमत्कारिक’ पर्खाइ रहे पनि प्रयास ठ्याक्कै सुरु भइसकेको छैन ।

‘अहिले चलचित्र नचल्नु, व्यापार नहुनु, धेरै चलचित्र फल्प हुनुका पछाडि हाम्रै काम गर्ने शैली र सूत्र असफल हो’ समीक्षक शान्तिप्रियको निष्कर्ष छ, ‘तर नयाँ के गर्ने ? अहिलेको संकटलाई कसरी पार लगाउने भनेर चलचित्र विकास बोर्ड, निर्माता संघ, निर्देशक र कलाकार पनि मौन छन् । यसका लागि निर्माता, निर्देशक, कलाकार र सरोकारवालाले गम्भीररुपमा समीक्षा गरेर सुधारको प्रयास नगरेसम्म नेपाली चलचित्र उद्योग उँभो लाग्दैन ।’

अन्तिम अपडेट: चैत १०, २०८०

विष्णु विश्वकर्मा

उज्यालोमा कार्यरत विष्णु विश्वकर्मा कृषि र राजनीतिक क्षेत्रमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया