नेपाली स्याट–१ ले लियो तीन देशको तस्बिर

 मंसिर ३०, २०७६ सोमबार १७:२२:७ | रासस
unn.prixa.net

काठमाण्डाै - नेपालले पहिलो पटक प्रक्षेपण गरेको भू-उपग्रह नेपाली स्याट–१ ले भुटान, बङ्गलादेशको ढाका तथा भारतका आसाम, दार्जिलिङ र सिक्किमका भूभागको तस्बिर लिएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) ले आफ्नो कार्यालयमा सूचना प्रवाह गर्ने माध्यम ग्राउण्ड स्टेशन जडान गरेसँगै नेपाली स्याट–१  पहिलो पटक ती तस्वीर लिन सफल भएको हो । 

झण्डै एक महिनाअघि नेपाली स्याट–१ ले उक्त तस्वीर लिएको जानकारी जापानस्थित क्यूटेक विश्वविद्यालयले  दिएको नाष्टका प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘नाष्टमा जडान गरिएको रेडियो उपकरणमा समस्या भएका कारण हामी नेपाली स्याट–१ मार्फत नेपालमाथिको आकाशबाट भने ठ्याक्कै तस्बिर कैद गर्न सफल भएका छैनाैँ । सो भू-उपग्रह नेपाल आएर फर्केर जाँदा नाष्ट रेडियो उपकरण मिलान गर्न सफल भएन ।’

नाष्टभित्रकै प्रविधिमा ससाना समस्या देखिएकाले त्यसको खरिद प्रक्रियामा नाष्ट अघि बढेको ढकालले बताउनुभयो । नाष्टले आफ्ना प्राविधिक इञ्जिनियरलाई ग्राउण्ड स्टेशनबारे थप जानकारी हासिल गराउन केही दिनका लागि जापान पठाउने तयारी गरिरहेको छ ।

नाष्टले भू-उपग्रहबारे तीनदेखि चार दिनको तथ्यांक संकलन गरेर अध्ययन गर्दा ती तस्बिर कैद भएको सूचना प्राप्त गरेको थियो । नेपालले गएकाे वैशाख ४ गते नेपाली स्याट–१ नामक भूउपग्रह प्रक्षेपण गरेको थियो । 

नेपाली स्याट–१ मा पाँच मेगा पिक्सलको क्यामेरा जडान गरेका कारण यसबाट अलि धमिलो तस्वीर कैद हुने बताइएको छ । गएकाे साउन पहिलो साता नेपाली स्याट–१ ले पहिलो पटक सूर्य र पृथ्वीका साथै चीन र भारत सिमानाका तस्बिर खिचेको र जापानको शिक्षा मन्त्रालयले अनुमति दिएपछि नाष्टले त्याे सूचना सार्वजनिक गरेको थियो ।

नेपाली स्याट–१ सँग दुईदेखि तीन वर्षसम्म तस्बिर सङ्कलन गर्ने क्षमता  छ । जापानको ‘बर्ड–३’ परियोजनामार्फत नेपालले त्याे भू-उपग्रहको काम अघि बढाएको थियो ।

नेपाली स्याट–१ सँगै गएकाे वैशाख ४ गते श्रीलङ्काले रावण– १ र जापानले युवुसु नामक भू-उपग्रह एकैसाथ प्रक्षेपण गरेका थिए । नेपाल सरकारले सन् २०१७ देखि उक्त भूउपग्रह निर्माणको योजना अघि बढाएको हो । त्यस भू-उपग्रहले ९० मिनेटमा एक पटक पृथ्वीको परिक्रमा गर्छ । यसले दैनिक १६ पटक पृथ्वीको परिक्रमा गर्ने नाष्टले बताएको छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया