सीमा क्षेत्रका बस्तीमा खरको छानो हटाएर टिनकाे छानाे

 पुस २, २०७६ बुधबार १०:५६:५३ | हेमराज शर्मा
unn.prixa.net

दाङ – नेपाल–भारत सीमा क्षेत्र दाङ गढवा गाउँपालिका ८ को कोइलाबासका स्थानीयलाई घरछाउनको लागि जस्तापाता वितरण गरिएको छ । 

गढवा गाउँपालिका वडा कार्यालयले गएको आर्थिक वर्षको १४ लाख रुपैयाँ बजेटबाट वडाका ५९ घरधुरीको लागि जस्तापाता वितरण गरिएको हो । गढवा ८ को मुसीनाका, खबरीनाका र कोइलाबास हुलाकी राजमार्ग आसपासका स्थानीयलाई जस्तापाता वितरण गरिएको वडाध्यक्ष सद्दाम सिद्धिकीले जानकारी दिनुभयो । 

गर्मी मौसममा खरका छानामा आगलागीको खतरा हुने भएका कारण आफ्नो कार्यअवधिभर कोइलाबासका सबै घरको खरको छाना हटाउने योजना बनाएको वडाध्यक्ष सिद्धिकीले जानकारी दिनुभयो । 

जस्तापाता कार्यक्रमले प्रत्येक वर्ष निरन्तरता पाउने जानकारी दिँदै उहाँले स्थानीय उपभोक्ताले सही सदुपयोग गरेर स्थानीय जनप्रतिनिधिलाई सल्लाह र सुझाव दिन आग्रह गर्नुभयो ।

जस्तापाता वितरण कार्यक्रममा प्रदेश ५ का सांसद इन्द्रजीत थारुले सुरक्षित आवासको ग्यारेण्टी सरकारले गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘टिनको छानोबाट यसको सुरुवात गरिएको छ । तीन तहकै सरकारले जनता आवासको ग्यारेण्टीको कार्यक्रमहरु ल्याएका छन्, आवासविहिन कोही पनि हुँदैनन्’,  सांसद थारुले भन्नुभयो । 

प्रदेश ५ को सरकारले जनता आवास कार्यक्रम लागू गरी अति विपन्न र दलित समुदायको आवास निर्माण गरिरहेको स्मरण गराउँदै सांसद थारुले कोइलाबास क्षेत्रमा पनि जनता आवास कार्यक्रममार्फत तीनवटा घर बनाउने योजना रहेको बताउनु भयो । 

यसैबीच वडा कार्यलयबाट जस्तापाता पाएपछि स्थानीय उपभोक्ताहरु खुशी भएका छन् । गढवा गाउँपालिका ८ खबरीनाकाका चन्द्रबहादुर बुढाले भन्नुभयो, घर छाउन टिन आउन लागेको छ भनेपछि खरको छाना फालेर टिन लगाउन तयार पारेको थिएँ, जस्तापाता पाउँदा खुशी लागेको छ ।’ 

यस्तै मु्सीनाकाका जीतबहादुर घर्तीले जस्तापाताको छाना पाएपछि सरकार भएको अनुभूति गरेको बताउनु भयो । ‘सरकार भएको महसुस भयो । जंगलको बीचमा घर रहेकाले असुरक्षित थियो । आगलागी हुँदा डर हुन्थ्यो, अब धेरै सहज हुने भयो’, घर्तीले भन्नुभयो ।

अन्तिम अपडेट: चैत १५, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया