'हाफ द नाइट इज गन'लाई २५ लाखकाे पुरस्कार

 पुस २, २०७६ बुधबार १२:४७:४४ | रासस
unn.prixa.net

काठमाण्डौ – अमिताभ बागचीको उपन्यास  ‘हाफ द नाइट इज गन’ ले सन् २०१९ को प्राइज फर साउथ एसियन लिटरेचर (डीएससी) पुरस्कार जितेको छ । 

पोखराको फेवाताल किनारामा रहेको बाराही घाटमा सम्पन्न आईएमई नेपाल साहित्य महोत्सव २०७६ का अवसरमा २५ लाख रुपैयाँ राशिको पुरस्कार वितरण गरिएको हो । 

पुरस्कारका लागि छनोट सूचीमा परेका लेखक र उपन्यासमा ‘हाफ द नाइट इज गन’ सँगै जमिलजान कोचाईको ‘९९ नाइट्स इनलोगार’, ‘भारत र भाइकिङ’, ‘पेन्गुइन र्‍याण्डमरहाउस’, ‘अमेरिका’, माधुरी विजयको ‘द फार फिल्ड (ग्रोभ प्रेस, ग्रोभ एटलान्टिक, अमेरिका)’, मनोरञ्जन व्यापारीको ‘देयर इज गनपाउडर इन द एयर’ (बङ्गालीबाट अरुनाभा सिन्हाको अनुवाद, एका, अमेजन वेस्टल्याण्ड, भारत), राजकमल झाको ‘द सिटी एण्ड द सी’ ‘ह्यामिशह्यामिल्टन, पेन्गुइन र्‍याण्डमहाउस, भारत’ र सदिया अब्बासको ‘द एम्प्टी रुम (जुबान पब्लिसर्स, भारत)’  थिए ।

गएका वर्षहरुमा यो पुरस्कार श्रीलङ्का, बङ्गलादेश र भारतमा घोषणा भएको थियो भने यसपटक नेपालमा पहिलो पटक घोषणा गरी वितरण गरिएको हो । डीएससी पुरस्कारले दक्षिण एसियाली जनजीवनका विविधपत्र केलाउने र विविधतापूर्ण आवाजहरुलाई प्रोत्साहन गर्दै आएको छ ।

निर्णायक मण्डलका अध्यक्ष हरिश त्रिवेदीले दक्षिण एसियाको उपस्थिति र प्रभाव अहिले निकै बढेको बताउँदै दक्षिण एसियाका नौ राष्ट्र र डायस्पोरालाई समेट्ने एउटै मात्र पुरस्कार डीएससी पुरस्कार रहेको बताउनु भयो । 

२५ हजार अमेरिकी डलर पुरस्कार राशिको डीएससी पुरस्कार सुरिना नरुला र मनहदन रुलाले सन् २०१० मा स्थापना गर्नुभएको थियो ।

यसअघि पाकिस्तानका एचएम नक्वी, श्रीलङ्काका शेहन करुणातिलका, भारतका जीत थायिल र साइरस मिस्त्री, भारतीय मूलकी अमेरिकी लेखिका झुम्पालाहिरी, भारतकी अनुराधा रोय, श्रीलङ्काका अनुक अरुदप्रगसम र भारतका जयन्त कैकिनी र अनुवादक तेजस्विनी निरन्जनाले यो पुरस्कार प्राप्त गरिसकेका छन् । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया