‘घुम्न जाउँ दाङ’ काे नारासहित दाङमा चल्ने गाडीमा नेपाल भ्रमण वर्षको प्रचार-प्रसार

 पुस २, २०७६ बुधबार १५:३८:२१ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङमा तुलसीपुर, घोराही र लमही क्षेत्रका गाडीमा ‘घुम्न जाउँ दाङ’ को प्रचार सामग्री टाँसेर नेपाल भ्रमण वर्ष प्रचार अभियानको उद्घाटन गरिएको छ ।

त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिले पर्यटन वर्ष २०२० को प्रचार प्रसार अभियान सञ्चालन गरेको हो । दाङबाट बाहिरी जिल्लाका लागि दैनिक छुट्ने सयौँ सवारी साधनले दाङको पर्यटकीय गन्तव्यको प्रचार प्रसार गर्नेछन् ।

यातायातले राजमार्गमा चल्ने सवारी साधनमा ‘घुम्न जाउँ दाङ’ लेखेको स्टिकर टाँसेकाे छ । ‘पर्यटकहरुलाई दाङ देउखुरीका पर्यटकीय स्थलमा पुर्‍याउन र त्यहाँको दृश्य देखाउने चाहना सबैको छ । त्यही उद्देश्य राखेर प्रचार प्रसार थालेका हौंँ’,यातायात प्रालिका अध्यक्ष सुरेश हमालले भन्नुभयो, ‘यातायातका साधन पुग्ने पर्यटकीय स्थलसम्म पर्यटकलाई पुर्‍याउन सवारी साधन समेत चलाउछौँ ।’

नेपाल भ्रमण वर्षमा सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । त्याे लक्ष्य पूरा गर्न यातायात व्यवसायीको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता हमालले व्यक्त गर्नुभयो ।

‘सार्वजनिक सवारी साधनमा पर्यटकहरुले यात्रा गर्नुहुन्छ । सुरक्षित यात्राको लागि बसका कर्मचारीले ध्यान दिनुहुनेछ’, उहाँले भन्नुभयो, ‘यातायात व्यवसायी तथा बसका कर्मचारीले पर्यटकसँग मित्रवत व्यवहार गर्न जरुरी छ ।’

अन्तिम अपडेट: चैत १५, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया