समस्याले थिचिँदै सगरमाथा : ‘मानिसको धेरै गतिविधि हिमालले सहँदैन’

 पुस २, २०७६ बुधबार १९:३८:१३ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

काठमाण्डाै - २०६८ सालको जेठ ३ गते मंगलबार राति निजामति कर्मचारीको सगरमाथा आरोहण टोली चौथो शिविरबाट उकालो लाग्यो । नौ जना कर्मचारीको टोलीमा ज्ञानेन्द्र श्रेष्ठ पनि हुनुहुन्थ्यो । 

त्यसअघि सगरमाथा आधार शिविरमा पाँचवटा आरोहण सिजन बिताएका श्रेष्ठलाई हिमालबारे धेरै जानकारी थियो । नेपाल पर्यटन वर्ष सन् २०११ को अवसरमा कर्मचारीको टोलीले सगरमाथा चढेको थियो । 

मध्यराति उकालो लागेको टोली जेठ ४ गते बिहान ६ नबज्दै शिखरमा पुग्यो । श्रेष्ठ भन्नुहुन्छ, ‘शिखर छेउमा पुग्दै गर्दा चन्द्रमा यति नजिक थियो कि हातले नै छुन्छुझैँ लाग्यो ।’ शिखरमा पुगेको अनुभूति शब्दमा बयान गर्नै नसकिने श्रेष्ठ बताउनुहुन्छ । यही खुशी पाउनका लागि बर्सेनि सयौँ विदेशी हजारौँ डलर खर्च गरेर नेपाल आउँछन् । 

‘शिखरमा पुग्दा पर क्षितिजबाट घाम झुल्किएको देखेँ, हामीभन्दा तलबाट आएको सुनौलो किरणले शरीरमा मिठो तरङ्ग ल्यायो, तलतिर कालो बादल मडारिएर बिजुली चम्किँदै थियो, मलाई निकै अग्लो सफलता मिलेको अनुभूति भएको थियो’ श्रेष्ठले भन्नुभयो । 

हिमालमा समस्या बढ्दै 

श्रेष्ठ १३ वर्षदेखि सगरमाथा आधार शिविरमा पर्यटन विभागबाट सम्पर्क अधिकृतको रुपमा काम गर्दै आउनुभएको छ । उहाँ आधार शिविरमा वर्षमा एक महिनाभन्दा धेरै बस्नुहुन्छ । लगातार १३ वर्ष भयो, सयौँ आरोही-आरोहण सहयोगी, हजारौँ पदयात्री, हजारौँ मजदूरसँग आधार शिविरमै कुरा गर्नुभएको छ ।

सगरमाथाको शिखरसम्म पुगेर अवस्थितिबारे जानकारी लिनुभएको छ । सगरमाथामा भैरहेको परिवर्तन बारेमा अध्ययन गर्नुभएको छ । अनुभव र भोगाइले खारिएका श्रेष्ठ हाम्रो हिमालमा गम्भीर परिवर्तन भैरहेको बताउनुहुन्छ । 

श्रेष्ठ भन्नुहुन्छ, ‘हिमालमा धेरै नै परिवर्तन भइसकेको छ । सन् २००७ मा आधार शिविर पुग्दा प्रशस्त हिउँ थियो । आरोहीहरु आधार शिविरमै रहेका हिउँका पहाडमा आरोहणको प्राक्टिस गर्थे, तर अहिले हिउँ निकै कम छ । आधार शिविर मात्र हैन दोश्रो शिविरसम्म पनि हिउँ घटेको छ । हिउँको स्तर कम हुँदै गइरहेको आधार शिविरमा स्पष्ट देखिन्छ ।’

जलवायु परिवर्तनले नेपालका हिमालमा समस्या बढिरहेको विभिन्न अध्ययन प्रतिवेदनले पनि देखाएका छन् । श्रेष्ठ यस्ता परिवर्तनको साक्षी बन्नुभएको छ । हिउँ पग्लिंदै गर्दा हिमतालमा पानीको मात्रा बढिरहेको छ । हिमताल विस्फोटको जोखिम बढ्दै गएको श्रेष्ठ बताउनुहुन्छ । सगरमाथा आधार शिविर वा त्यसभन्दा माथि मात्रै ५० भन्दा धेरै हिमतालहरु छन् । 

आफ्नो प्रत्यक्ष अनुभव अनि आधारशिविरमा भेटिएका हजारौँ हिमालप्रेमीसँग गरिएको साक्षत्कारबाट हिमालमा समस्या बढिरहेको प्रष्ट रहेको श्रेष्ठ बताउनुहुन्छ । पटकपटक हिमाल चढ्ने र चढाउन तथा भारी बोक्न जानेहरुले हिउँ घटेको, हिमतालमा पानी बढेको, हिमनदीको आकार बढेको तथा हिमपहिरो झर्ने क्रम बढिरहेको अनुभव सुनाएका छन् । 

यस्तै सगरमाथामा फोहोर पनि थुप्रँदै गएको छ । आधार शिविर र त्योभन्दा तल फोहोरको धेरै समस्या नरहे पनि आधार शिविरभन्दा माथि विभिन्न फोहोर र कतिपय शव पनि रहेको श्रेष्ठ बताउनुहुन्छ । आरोहण गराउने कम्पनीले फोहोर फिर्ता ल्याउनुपर्ने बाध्यताले प्रभावकारी काम नगरेको श्रेष्ठको बुझाई छ ।

सरकारले आरोहीबाट निश्चित रकम लिएर एक वर्षको फरकमा सगरमाथा सफाई अभियान सञ्चालन गर्नुपर्ने शेर्पाको सुझाव छ । 

होडबाजी र गैरकानुनी काम  

आधारशिविरमा सरकारको प्रतिनिधिको रुपमा सम्पर्क अधिकृत मात्रै रहेकोले हिमालमा हुने गतिविधि र मानिसको बारेमा ध्यान दिनु उहाँको जिम्मेवारी हो । त्यसैले पर्यटक र आरोहीका धेरै कथाहरु सुन्नुभएको छ । 

आरोहीहरुका कथा फरक फरक हुन्छन् तर उदेश्य शिखर पुगेर आत्मसन्तुष्टि लिने हो । तर पछिल्लो समयमा हिमालमा आफूलाई अरुभन्दा फरक देखाउने तथा धन र चर्चा कमाउनका लागि हिमाल चढ्ने क्रम निकै बढेको छ । यो खतरनाक भएको श्रेष्ठ बताउनुहुन्छ । 

श्रेष्ठ भन्नुहुन्छ, ‘जब मानिसले हिमाल चढ्न प्रायोजक खोजेर नाफा कमाउने, व्यवसायिक क्षेत्रबाट प्रतिनिधित्व गरेर बढुवा वा अरु सुविधा हात पार्ने, चर्चा बटुलेर विभिन्न कमाई गर्ने क्रम बढ्यो यसपछि समस्याहरु थपिदै गएका छन् ।’

आरोहण आत्मसन्तुष्टिका लागि हुनुपर्छ । सन्तुष्टिका लागि जाँदा ज्यान समस्यामा परेपछि मानिस फर्कन्छ, तर अहिले ज्यान गए जाओस् भन्दै माथि उक्लिनेहरुको संख्या बढेको छ । नाफा÷घाटाको खेलले यस्तो भएको हो । चर्चाकै लागि आरोहणका क्रममा विभिन्न क्रियाकलाप गर्ने होडबाजी हुने गरेको र यस्ता कार्य हिमालमा हुन नहुने श्रेष्ठ बताउनुहुन्छ । 

यस्तै टुर र ट्रेकिङ कम्पनीहरुले सगरमाथा आरोहण गर्न आवेदन दिनेहरुलाई जसरी भए पनि सगरमाथाको शिखरमा लगेर प्रायोजक, पैसा लगानी गरिदिनेहरु तथा समर्थकको स्वार्थ पूरा गर्ने गरेका छन् । हिमालमा नाफा र घाटाको व्यापार सुरु हुनु नै हिमालमाथि अतिक्रमण वा समस्या ल्याउने खल सुरु हुनु हो । 

पछिल्ला दिनमा हिमाल आरोहण सजिलो हुँदै गएको छ । परिवर्तित र परिष्कृत वातावरणका कारण सामान्य क्षमता भएका मानिसले पनि हिमाल चढ्न थालेका छन् । आधुनिक प्रविधि र अक्सिजनको सिलिण्डर बोकिदिने शेर्पाको सहयोगमा सगरमाथाको शिखरमा पुग्न सजिलो भएको छ । सजिलो भएसँगै सगरमाथा आरोहण फेसनको रुपमा विकसित भइरहेको छ ।

अरुले बनाइदिएको बाटो, टाँगिएको डोरी र राखिदिएको भर्‍याङ चढ्दै शिखर चढ्न आरोहीलाई सजिलो भएको छ । यसैकारण सगरमाथा आरोहण मेलाजस्तै लाग्न थालेको छ । सगरमाथा चढ्ने सिजन वैशाख÷जेठमा सगरमाथाको आधार शिविरमा मात्रै दैनिक २ हजार जना भन्दा धेरैको चहलपहल हुने ज्ञानेन्द्र श्रेष्ठ बताउनुहुन्छ । पैसा खर्च गर्न सक्ने मानिस विश्वको सर्वोच्च शिखरमा पुग्न सक्छ भन्ने विश्वास बढ्नु राम्रो हैन । 

श्रेष्ठ भन्नुहुन्छ, ‘हिमालमा एउटा किला ठोक्दा धेरै हिउँ भत्किन सक्छ । मानिसको चापले हिउँ पग्लिन्छ । मानिसको धेरै गतिविधि हिमालले सहँदैन । त्यसैले सजिलो बनाएर मेला लगाउनुभन्दा सगरमाथा आरोहणलाई अझ चुनौतीपूर्ण र रोमाञ्चक बनाउनुपर्छ ।’

सम्पर्क अधिकृतको मनलाग्दी  

विभिन्न हिमाल आरोहण टोलीसँग खटिएका सरकारी सम्पर्क अधिकृतहरु कार्यस्थलमा नपुग्दा हिमालमा गैरकानुनी गतिबिधि बढिरहेको पर्यटन व्यवसायीहरुले गुनासो गरेका छन् । केही समयअघि आमाडब्लम हिमालको शिखरमा कतारको ठूलो झण्डा टाँगिएको घटना सार्वजनिक भएपछि सम्पर्क अधिकृतको कामबारेमा प्रश्न बढेको छ । सम्पर्क अधिकृतका रुपमा १३ पटक सगरमाथा आधार शिविरमा खटिनुभएका ज्ञानेन्द्र श्रेष्ठ सम्पर्क अधिकृतले बेवास्ता गर्दा हिमालमा गैरकानुनी काम बढेको बताउनुहुन्छ । 

हिमालमा अनुमतिबिनै आरोहण गर्ने, ड्रोन उडाउने, विभिन्न वस्तु शिखरमा लैजाने लगायतका गतिबिधि हुने गरेका छन् । श्रेष्ठ भन्नुहुन्छ, ‘यस्ता गतिबिधि रोक्नको लागि सरकारले खटाएका सम्पर्क अधिकृत चनाखो बन्नुपर्छ, तर कार्यस्थलमै नगएपछि कसरी रोक्न सकिन्छ र ?’

एक जना कर्मचारी सम्पर्क अधिकृतका रुपमा खटिँदा ७५ दिनसम्मको काज र झण्डै तीन लाख रुपैयाँ पाउँछन् । त्यसैले सम्पर्क अधिकृतमा खटिनका लागि हानाथाप हुन्छ । पहुँचमा नियुक्ति लिनेहरु हिमालतिर भने कमै जान्छन् । केही बाटोबाटै फर्कन्छन्, केही एकाध दिन आधार शिविरमा पुग्ने र कोही त जाँदै नगई प्रतिवेदन बुझाएर सेवा सुविधा लिन्छन् ।

आरोही घाइते भएमा उद्दार, ज्यान गएमा मुचुल्का उठाउने, प्रतिबन्धित वस्तु लैजानबाट रोक्ने, अवैध रेकर्ड बनाउने होड रोक्ने लगायतका कामको निगरानी पनि सम्पर्क अधिकृतले गर्नुपर्छ । तर सम्पर्क अधिकृत नै आधार शिविर नपुग्दा विश्वमै चर्चाको विषय बनिरहेको हिमाल आरोहणमा समस्याहरु थपिँदै गएका व्यवसायीहरु बताउँछन् । 

सरकारले हरेक आरोहण टोलीलाई एक जना सम्पर्क अधिकृत खटाउँछ । यसो गर्दा एउटा आरोहण सिजनमा सगरमाथामा ६० जनाको हाराहारीमा सम्पर्क अधिकृत हुनुपर्ने तर त्यहाँ दुई÷चार जना भेट्न पनि मुश्किल पर्छ । सबैजसोले काठमाण्डौमै बसेर सुविधा लिइरहेका हुन्छन् । श्रेष्ठ भन्नुहुन्छ, ‘सम्पर्क अधिकृतको अनुगमन गर्नुपर्छ, पर्यटन विभागले नै आधार शिविरमा क्याम्प खडा गरेर सम्पर्क अधिकृतको टोली राख्ने हो भने प्रभावकारी अनुगमन र समन्वय हुन्छ ।’

अहिले सम्पर्क अधिकृतहरु आरोहण दलकै खाना र छानामा रहने हुँदा उनीहरुको अनुगमन फितलो भएको छ । श्रेष्ठ भन्नुुहुन्छ, ‘त्यो स्वभाविक पनि हो, उनीहरुकै पालमा सुतेको छ, उनीहरुसँगै खाएको छ, अनि कसरी विरोध हुन्छ, कतिपय कुरा देखे पनि नदेखेको जस्तो गर्नु बाध्यता हुन्छ ।’

सम्पर्क अधिकृतहरु आधार शिविरमा आरोहण सिजनभर रहिरहे हिमालमा हुने गैरकानुनी गतिबिधि नियन्त्रण गर्न सकिने र जाली आरोही रोक्नको लागि व्यवसायी र आरोहण सहयोगी शेर्पाहरु ईमान्दार बन्नुपर्ने श्रेष्ठ बताउनुहुन्छ । 

सगरमाथा लगायतका हिमालमा हुने अबैधानिक गतिविधि रोक्न सरकार सचेत हुनुपर्ने श्रेष्ठ बताउनुहुन्छ । गएको सिजनमा सगरमाथामा ट्राफिक जाम भएको खबर संसारभर फैलियो । यसमा मौसमले धोका दिएको र सरकारले अन्तिम अवस्थामा बाटो खोल्ने तथा अन्तिम अवस्थासम्म आरोहण अनुमति दिईरहनु पनि समस्या भएको श्रेष्ठको भनाइ छ । 

केही हप्ताअघि नै बाटो खोलिदिँदा मौसम अनुकूल बनाएर आरोहीहरु चढ्छन् । अनि कुनै निश्चित दिन भित्र आरोहणको अनुमति लिईसक्नुपर्ने व्यवस्था गरेमा आरोही संख्या कम हुन्छ । आरोहण शुल्क घटाएर आरोही बढाउनेभन्दा आरोहण जोखिमपूर्ण र रोमाञ्चक बनाएर स्तरीय पर्यटक भित्र्याउनुपर्ने श्रेष्ठको सुझाव छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया