नागरिक कमजोर भएको बेला जन्मिएका मधेशका महन्त

 साउन ४, २०७५ शुक्रबार १२:२४:३१ | कुन्दन झा

मधेशको राजनीति शक्तिशाली समूह र  व्यक्ति केन्द्रित देखिन्छ ।  मधेशी भाषामा प्रायः   महन्त त्यस्ता व्यक्तिलाई भन्ने गरिएको छ, जो आर्थिक र सामाजिक रुपमा सक्षम हुन्छन । व्यापारी र सामन्तको भूमिकामा रहने महन्तहरु मधेशभित्र राजनीतिमा पनि उतिकै प्रभावशाली छन् । हिजोआज मधेशभित्र अधिकारको लडाईंको नारा विभिन्न राजनीतिक र सामाजिक मञ्चमा सुन्न सकिन्छ र राजनीतिक रुपमा हामी मधेशी कमजोर रहेको निस्कर्ष त्यहाँबाट देखिन्छ ।

मधेशका महन्त शीर्षकले आज तिनै कमजोर राजनीतिक व्यवस्था र राजनीतिक व्यक्तित्वलाई सतहमा ल्याउने प्रयास गर्ने छ । राजनीतिभित्र फरक मत हुनु लोकतन्त्रको एक सुन्दर पक्ष हो, तर देशको अखण्ड़तालाई नै खलबलाउने गरी जन्मिएको फरक मत निहीत स्वार्थ पूर्ति र सदैव शक्तिशाली पदमा रहीरहन मात्रै रहेको कुराले आज समस्त राष्ट्र नै  दोधारमा परेको अवस्था छ । 

अधिकार र पहिचान दुबै पक्षमा कमजोर रहेको मधेश आज भ्रष्ट नेता र तिनका आसेपासेको चेपुवामा परेको छ । एकातिर अधिकारको लडाईंको नाममा कयौं निर्दोष र कमजोर नागरिकलाई उचालेका छन् भने अर्कोतिर सरकार गठन हुनासाथ आफ्नो परिवार  लगायत  अनन्य मित्रलाइ राजनीतिक सेवा सुविधा दिंदै आएका छन् । मधेश आज एउटा यस्तो बाटोमा आएर उभिएको छ, जहाँ परिवर्तनका सबै मार्गमा सम्भावना भन्दा बढी चुनौती देखिन्छ ।

चुनावमा वाम गठबन्धनले नयाँ कीर्तिमान स्थापित गर्यो । मधेशभित्र २०६३ सालझैँ मधेशवादी राजनीतिक दलको बर्चस्व कायम रह्यो । नागरिकमा उत्साहको तरंग थियो । किनभने राजनीतिले निकासको बाटो खोज्दै थियो । तर आम नागरिकमा रहेको उत्साह धेरै दिन कायम रहेन । 

देशभित्र अधिकारको लडाईं लडिरहेको मधेश आफू कतै समावेशी हुन सकेन । कमजोर वर्गका वकालत गर्ने महन्तहरुले आफ्नो छोराछोरी, नाती, नातिनी, ज्वार्इं, सम्धी र अनन्य मित्रहरुलाई आफूले लगानी गरेको समय र पैसा उठाउन राजनीतिक नियुक्ति दिन थाले ।

मधेशभित्र उठेको अधिकारको लडाईंको आवाज आज बन्द कोठामा हुने बलात्कार जस्तै लाग्न थाल्यो । जसले समाजभित्र रहेको गलत पक्षलाई उजागर त गर्छ । तर त्यस्ता गलत पक्षलाई सुधार गर्न कानुन र नीति बनाउँदैन ।

हिजोसम्म देशले अधिकार खोस्यो भनेर हल्ला गर्दै हिँडेका महन्तहरु आज आफ्नै सुनको महल बनाउन व्यस्त छन् । चुनावी प्रक्रियालाई नै गलत भन्दै कहिले चुनावमा सहभागी नहुने भन्ने नेताहरु आज सरकारका समर्थक र साझेदार बनेर बसेका छन् ।  
लोकतन्त्रको मर्म विपरित अझै मधेशभित्र परिवारवाद हावी रहेको उदहारण हेर्ने हो भने मधेशवादी दल नमूनाका रुपमा प्रस्तुत भएका छन् । हिजोसम्म नागरिकले हक अधिकार पाएनन् भनेर हिँड्ने नेताहरु आज आफनै सरकार पनि समावेशी बनाउन सकेका छैनन् ।

कानुन निर्माण जस्ता गम्भीर विषयमा विवादित रहेर केन्द्र सरकारसँग भिड्दै गरेको प्रदेश सरकार बिखण्डनकारी व्यक्ति र शक्तिलाई  कानुन निर्माणका जिम्मेवारी दिएर बसेका छन् । कानुन निर्माणको अभिप्राय मजबुत आन्तरिक व्यवस्थापन हुन्छ । तर प्रदेशभित्रको सरकारले गैर जिम्मेवार र विदेशी लगानीमा अघि सरेका गैरसरकारी संस्था चलाउने व्यक्तिहरुलाई कानुन निर्माण गर्ने अवसर प्रदान गरेर अघि बढेको प्रष्ट देखिन्छ ।

मधेशभित्र रहेका राजनीतिक दल आन्तरिक भागबन्डा मिलाउन व्यस्त छन् भने भागबण्डाका दाबेदार कार्यकर्ताहरु प्रायःजसो नैतिकरुपले समाजभित्र कमजोर रहेका व्यक्तिहरु छन् ।
 
मधेश आनदोलनको मुख्य उदेश्य हेर्दा र बुझ्दा धेरै भिन्न रहेको अहिले थाहा हुँदैछ । यस्तो वास्तविकता अब बाहिर आउँदा आमनागरिकमा आफ्नो चयनप्रति क्रोध र घृणा बढ्दै गएको छ । आनदोलनको क्रममा जब यहाँका नागरिक दैनिक उपभोगका सामग्रीका लागि संघर्ष गर्दै थिए, राजनीतिक दलका नेता र कार्यकर्ताहरु कालोबाजारीमा व्यस्त थिए । आन्दोलनको असर कम भए आफ्नो व्यापार समाप्त हुने डर उनीहरुमा देखिन्थ्यो । 

यसरी नागरिक कमजोर भैरहेको बेलामा मधेशभित्र कयाैँ नयाँ महन्तहरुको  जन्म भयो । मधेशभित्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इमान्दारीपूर्वक आफ्नो काम गरे धेरैभन्दा धेरै जनप्रतिनिधिहरु सजायका भागिदार बन्नेछन् । जनप्रतिनिधि  नेताभन्दा बढी महन्त र व्यापारीको छबी बनाउन सफल भएका छन् भने विकासका कामकाज गुणस्तरहीन हुँदै गएको छ ।

समाजको काम छाडेर आफ्नो निजी कामकाजमा लागेका जनप्रतिनिधिहरु कमजोर राज्य व्यवस्था र कानुनका फाइदा उठाएर बसेका छन् । यस्ता व्यक्ति र समूह  बिरुद्ध खुलेरै लाग्नुको विकल्प छैन । मधेशका महन्त बलियो हुँदै गए भने भोलिको भविष्य अन्धकारमय हुनबाट कसैले रोक्न सक्दैन ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया