‘महानगरपालिकाले मर्मत गरेको सडकमा फेरि खानेपानीले खन्ने गर्छ’

 पुस ४, २०७६ शुक्रबार १४:४:४७ | मल्लिका थापा
unn.prixa.net

सन् २०२० लाई सरकारले नेपाल भ्रमण वर्ष घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने  लक्ष्य राखेको छ । अब भ्रमण वर्ष सुरु हुन केही दिन मात्र बाँकी छ  । तर कार्यक्रम सुरु हुन धेरै समय नरहेको अवस्थामा पूर्वाधार विकास र प्रचार-प्रसारमा अपेक्षित ढङ्गबाट काम हुन नसकेको यस क्षेत्रका विज्ञहरुले बताइरहेका छन् ।

‘नेपाल भ्रमण वर्ष २०२०’ बारे ललितपुर महानगरपालिकाको तयारी र भ्रमण वर्षलाई लक्षित गरेर सडक मर्मत, सम्भारको काम कसरी अघि बढिरहेको छ भन्ने विषयमा उपमेयर गीता सत्यालसँग कुराकानी गरेका छौं । 

ललितपुर महानगरपालिकाले ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने तयारी कसरी गरिरहेको छ ?

यस आर्थिक वर्ष २०७६/७७ मा सरकारले घोषणा गरेको एक सय वटा पर्यटकीय गन्तव्यमध्ये ललितपुर महानगरपालिकाको पाटन दरबार स्क्वायर नयाँ तथा विकास गर्नुपर्ने गन्तव्यको रुपमा पहिचान भएको छ । यस्तै महानगरपालिकाको धापाखेलमा रहेको नागदह क्षेत्र र गोदावरी नगरपालिकाको गोदावरी–फुलचोकी हाइकिङसमेत नयाँ तथा विकास गरिनुपर्ने पर्यटकीय गन्तव्यको रुपमा पहिचान भएका छन् ।

यसै सन्दर्भमा भ्रमण वर्षलाई लक्षित गरी बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले महानगरपालिकाले आफूले सक्ने जति काम गरिरहेको छ । २०७२ सालको भूकम्पबाट ध्वस्त महानगरपालिकाभित्रका भौतिक संरचना पुनर्निर्माणको काम गरिरहेका छौँ । यस्तै सडक निर्माण र सरसफाइलाई तीव्ररुपमा अगाडि बढाएका छौँ । तर हामीले सडक मर्मत गर्ने अनि अर्को आएर बिगार्ने काम भइरहेकाले कतै-कतै भने सडकको अवस्था बेहाल छ । काम गर्न समस्या भइरहेको छ । सरोकारवालाबीच समन्वय नभएर नै समस्या भैरहेको हो । 

अर्को आएर बिगार्ने भन्नाले ? 

हामीले मर्मत गरेको बाटोमा काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले फेरि खनेको पाइएको छ । जुन हामीलाई जानकारी नै हुँदैन । मेलम्ची खानेपानी आयोजनाको कामबारे पनि पत्तो हुँदैन ।  हामीले काम गर्न लागेको सडकमा कसैले काम गर्दैछ भन्ने पूर्व जानकारी पाएको खण्डमा हामी त्यो काम अरु ठाउँमा लैजान्थ्यौँ । तर त्यस्तो भएको छैन । यसले भ्रमण वर्षलाई असर गर्न सक्छ, किनभने नेपाल आउने विदेशी पर्यटकले सडकको अवस्था र सडकबारे धेरै चासो राख्ने गरेको हामीले अहिले पनि अनुभव गरिरहेका छौँ । यद्यपि पहिलेको तुलनामा अहिले यस क्षेत्रको सडकको अवस्था सुधार उन्मुख नै छ । तर सोचेजति काम चाहिँ गर्न सकिएको छैन । 

महानगरपालिकाका पर्यटकीय क्षेत्रमा पुग्ने सडक पूर्वाधारको अवस्था कस्तो छ ?

धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक मन्दिरको नगरीको रुपमा ललितपुर महानगर परिचित छ । यहाँ पर्यटकको लागि घुम्ने ठाउँहरु धेरै छन् । त्यसैले भ्रमण वर्ष २०२० लाई लक्षित गरी महानगरपालिकाका पर्यटकीय गन्तव्यसम्म पुग्ने मुख्य सडकदेखि भित्री बाटोमा कतै कालोपत्रे गर्ने काम हुँदैछ भने कतै वर्षौंदेखि परेका खाल्डाखुल्डी पुरेर सडकहरु ब्रुमरले सफा गरेर चिटिक्क पारिरहेका छौँ । यहाँका धेरैबाटो कालोपत्रे भैसकेका छन् । अब केही किलोमिटर सडकमात्र कालोपत्रे गर्न बाँकी छ । कतिपय सडक चौडा बनाउने काम पनि भइरहेको छ ।

भ्रमण वर्ष २०२० को लागि नै पाटन दरबार स्क्वायर आउने सबै पर्यटकलाई खोकना–बुङ्मती हुँदै नागदह लैजाने अनि हरिसिद्धि हुँदै फेरि मंगलबजार आउने एउटा रुटको खाका तयार हुँदैछ । यसले पर्यटकलाई  यी क्षेत्रमा भ्रमणमा सहयोग पुर्‍याउँछ र यो क्षेत्र पनि पर्यटकीय नगरको रुपमा थप विकास हुन्छ ।

महानगरपालिकाको व्यस्त सडकमा फुटपाथ पसल र भिडभाडले पैदलयात्री, स्थानीय र त्यस क्षेत्रमा गाडी चलाउने चालकहरु हैरान भएका छन् । अब यस्ता सडकमा पर्यटकलाई सहज यात्राको लागि महानगरपालिकाले कस्तो व्यवस्था गर्छ ? 

पक्कै पनि फुटपाथ पसलको बढ्दो बजारले ललितपुरका सडक र चोकहरु समस्यामा परेका छन् । महानगरपालिकाले केही समयका लागि कडाइ गर्दा सडक खाली भए पनि त्यो लामो समयसम्म टिक्न सकेन । यसअघि फुटपाथ बजारको कारण पयर्टक, पैदलयात्रु र स्थानीय बासिन्दा समस्यामा पर्न थालेपछि टोल सुधार समितिसँग मिलेर महानगरपालिकाले फुटपाथ पसल हटाउने अभियान नै थालेको थियो । तर गएको दशैँ, तिहारपछि फुटपाथमा रहेका पसल हटाउने काम प्रभावकारी हुन सकेन ।

सडकमा व्यापार गरेर जीविकोपार्जन गर्ने धेरै छन्, त्यसैले केही समयका लागि हामी लचक भयौँ । तर यसले पयर्टक, पैदलयात्रुहरु र स्थानीयलाई समस्या पारेकाले फेरि यस्ता पसल हटाउन हामी सक्रिय हुन्छाैँ । यसको लागि महानगरपालिका, वडा, टोल सुधार समिति र प्रहरीसँग छलफल गरिरहेका छौँ । 

विशेषगरी लगनखेलदेखि मंगलबजारसम्म फुटपाथ पसलकै कारण ट्राफिक व्यवस्थापन हुन सकेको छैन । ट्राफिक व्यवस्थापन गर्नको लागि समेत फुटपाथ व्यवस्थापन राम्रोसँग गर्नुपर्ने छ । ट्राफिक व्यवस्थापन सहज गर्न भनेर हामीले नगर यातायात गुरु योजना, म्युनिसिपल ट्रान्सपोर्ट म्यानेजमेन्ट सिस्टम (एमटीएमपी) तयार गरी सकेका छौँ । 

योजनाअनुसार सडक एकतर्फी गर्ने, पार्किङको लागि उपयुक्त ठाउँ छुट्याउने, फुटपाथ व्यवस्थापन गर्ने लगायतका ट्राफिक व्यवस्थापनसम्बन्धी कार्यक्रम र सडक, ढल तथा सहरी पूर्वाधार निर्माणका कुरा पर्छन् । ट्राफिक प्रहरीसँग आवश्यक छलफल गरी भ्रमण वर्ष सुरु हुनु अगाडि नै त्यसलाई हामी अन्तिम रूप दिएर प्रभावकारी कार्यान्वयनका लागि त्यहीअनुसार काम अघि बढाउछौँ ।

यसबाहेक भ्रमण वर्ष २०२० मा नेपाल आउने पर्यटकका लागि महानगरले दिने थप सेवा, सुविधा कस्ता छन् ?

भ्रमण वर्ष २०२० लाई सफल बनाउन महानगरपालिकाले थुप्रै योजना बनाएको छ । भ्रमण वर्ष अवधिभर पर्यटकको सहजताका लागि र सुरक्षाका लागि पर्यटक व्यवस्थापनको जिम्मा लिन महानगरका २९ वटै वडाले सहकार्य गर्दैछन् । महानगरले साझा सहकारीसँग सहकार्य गरी पर्यटकलाई निःशुल्क यात्रा गराउन विद्युतीय बस सञ्चालन गर्ने तयारी गरेको छ । यसैगरी पर्यटकलाई रात्रिकालीन भ्रमण गराउने उद्देश्यले पाटन दरबार परिसरलाई रातभर झलमल्ल पार्ने महानगरले योजना बनाएको छ  र पर्यटकलाई मनोरञ्जन गराउन महानगरले ‘साउण्ड एण्ड लाइट’ माध्यमबाट महानगरभित्रको कला प्रस्तुत गर्नेछौँ ।

अन्तिम अपडेट: चैत ११, २०८०

मल्लिका थापा

थापा उज्यालाेमा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया