सगरमाथा टी स्टेटका म्यानेजरलाई लक्षित गरी गोली प्रहार

 पुस ४, २०७६ शुक्रबार १७:५:३३ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा – संखुवासभाको धर्मदेवी नगरपालिका–३ स्थित मुडे शनिश्चरेमा रहेको सगरमाथा टी स्टेटका म्यानेजर हर्क कुलुङ राईलाई लक्षित गरी गोली प्रहार भएको छ ।

बिहीबार राति १० बजेतिर कोठामा सुतिरहेको अवस्थामा नचिनेका मानिसको समूहले राईलाई लक्षित गरी गोली प्रहार गरेकोे संखुवासभाका प्रहरी नायब उपरीक्षक(डीएसपी) मिमबहादुर लामाले बताउनुभयो । 

म्यानेजर राई सकुशल भने हुनुहुन्छ । बाहिरबाट गोली चलाएपछि कोठामा नै लुकेर ज्यान बचाउन सफल भएको म्यानेजर राईले बताउनु भएको छ । म्यानेजर राई टी स्टेटको क्वार्टरमा बस्दै आउनु भएको थियो । उहाँ सुत्ने कोठाको ढोका तोडफोड गरी हात छिराएर गोली प्रहार भएको प्रहरीको भनाइ छ ।

डीएसपी लामाले घटनास्थलबाट खबर आउन साथै त्यस क्षेत्रमा प्रहरी टोली परिचालन भइसकेकाले अनुसन्धान गर्ने काम भइरहेको बताउनुभयो ।

व्यक्तिगत रिसइवीका कारण तर्साउनका लागि घटना घटाएको जस्तो देखिएको डीएसपी लामाको भनाइ छ ।    
 

अन्तिम अपडेट: चैत १५, २०८०

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया