हेटाैँडामा मोटरसाइकलको ट्रायल दिँदा मनपरी शुल्क : कर्मचारीको मिलेमतो रहेकाे सेवाग्राहीकाे आराेप

 पुस ५, २०७६ शनिबार १८:४६:३४ | हरि हुमागाईं
unn.prixa.net

हेटौँडा - हेटौँडामा शनिबारदेखि सुरु भएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को प्रयोगात्मक (ट्रायल) परीक्षामा मोटरसाइकल चलाउनका लागि मनपरी शुल्क लिइएको छ ।

प्रयोगात्मक परीक्षा दिनुभन्दा पहिले बुझाइने शुल्क वीरगन्ज, काठमाण्डौ, लगायतका ठाउँको तुलनामा बढी लिइएको हो ।

प्रदेश नम्बर–३ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगतको यातायात व्यवस्था सेवा कार्यालय, हेटौँडाले लिखित र प्रयोगात्मक परीक्षाका अनुमति दिएको बागेश्वरी ड्राइभिङ्ग एकेडेमीले प्रयोगात्मक परीक्षा दिनका लागि मोटरसाइकल वा स्कुटर चलाउँदाको शुल्क बढी लिएको गुनासो आएको हाे । 

वीरगन्जमा प्रयोगात्मक परीक्षा दिन मोटरसाइकलको प्रयोग गरेबापत एक सय १५ रुपैयाँ मात्र सेवाग्राहीले तिरे पुग्छ । तर, हेटौँडा-११ बागथलीको बागेश्वरी एकेडेमीले एक जनासँग २ सय ५० रुपैयाँ लिएकाे छ । अरु जिल्लाको तुलनामा बागेश्वरीले बढी शुल्क लिएको चितवनको टाँडी नगरपालिका वडा नम्बर १० का कृष्ण गोपाल श्रेष्ठले बताउनुभयाे । 

सवारीको ट्रायल दिनेले आफ्नै मोटरसाइकल र स्कुटर ल्याउन पनि रोक लगाइएको छ । 

यातायात सेवा कार्यालयको मिलेमतोमा मनपरी शुल्क

लाइसेन्सकाे लिखित र ट्रायल दिलाउने स्थान र साधनका लागि यातायात व्यावस्था सेवा कार्यालय, हेटौँडाले बागेश्वरी ड्राइभिङ्ग एकेडेमीलाई जिम्मा दिएको थियो । जिम्मा दिनुभन्दा अगाडि शुल्क निर्धारण गर्दा नै अरु जिल्लाको तुलनामा बढी शुल्क तोकिएको हो ।

कार्यालय र मन्त्रालयका कर्मचारीको मिलेमतोमा आम सेवाग्रहीलाई ठग्नेगरी शुल्क तोकिएकोमा सेवाग्राहीले गुनासो गरेका छन् । आफूले चलाइराखेको मोटरसाइकल पनि चलाउन नपाउने र त्यहाँ राखेको मोटरसाइकल चलाउनुपर्दा थप समस्यामा परेको हेटौंडा ११ थानाभ¥याङका सुरज थिङ वताउनुहुन्छ । आफ्नै मोटरसाइकल चलाउन पाउनुपर्ने उहाँको माग रहेको छ । कार्यालयका कर्मचारीको मिलेमहतोमा वढी शुल्क अशुल्का लागि दुईवर्ष सम्मका लागि अनुमती दिइसकेको छ । 

वढी शुल्क पनि लिने र आफ्नै बाइक पनि चलाउन नदिदा समस्या परेको ट्रायल दिन हेटौंडा आउनुभएका चितवन खैरेनीका प्रमोद भट्ट वताउनुहुन्छ । अरु जिल्लाको तुलनामा यहाँ वढी सुविधा समेत भएकाले वढी शुल्क लिइएको बागेश्वरी ड्राइभिङ्ग एकेडेमीका कार्यालयले जनाएको छ । 

प्रदेश सरकारको सवारी साधनका लागि लिखित परिक्षा दिने ठाउँ नभएका कारण निजी क्षेत्रसँगको सहकार्यमा काम गरिएकाले अन्तको तुलनामा शुल्क महगो भएको यातायात व्यवस्था सेवा कार्यालय हेटौँडाका निमित्त कार्यालय प्रमुख पोषण थापाले बताउनुभयो ।

मोटरसाइकल सिक्दा १५ मिनेटकै २ सय ५० रुपैयाँ

बागेश्वरी ड्राइभिङ्ग एकेडेमीले मोटरसाइकल सिक्दा पनि १५ मिनेटको २ सय ५० रुपैयाँ लिएर सिक्न आउनेहरुलाई ठगेकाे छ । मोटरसाइकल र यसमा लाग्ने पेट्रोल उपलब्ध गराएर दिए पनि सिक्न आउनेहरुलाई वीरगन्ज, काठमाण्डौको तुलनामा बढी शुल्क लिँदा पनि यातायात व्यवस्था कार्यालय हेटौँडाले यसकाे अनुमति दिएको छ । 

एकेडेमीले एक घण्टा मोटरसाइकल सिक्दा ७ सय रुपैयाँ लिने गरेको छ । सिकाउने काम सहितको शुल्क लिइएको एकेडेमीले जनाएको छ । यसैगरी कार एक घण्टा सिक्दा २ हजार रुपैयाँ लिने गरेको छ । कार ३० मिनेट मात्र सिकेमा १ हजार २ सय रुपैयाँ लिँदै आएको एकेडेमीले जनाएको छ । अटो एक सिक्दाको एक हजार रुपैयाँ लिने गरिएको छ । 

बागेश्वरी ड्राइभिङ एकेडेमीलाई अनुमती दिने समयमै बदमासी

यातायात व्यवस्था कार्यालय हेटौँडाले बागेश्वरी ड्राइभिङ्ग एकेडेमीलाई लिखित तथा प्रयोगात्मक परीक्षा सहितका सबै काम जिम्मा दिने समयमै कार्यालयका कर्मचारीको बदमासी देखिएको छ ।

एकेडेमीको स्थान तयार भएपछि मात्र कार्यालयले पत्रिकामा केही दिनको म्याद राखेर सूचना निकालेको थियो । तर, सवारी चालक अनुमति पत्र दिने तयारी दुई वर्ष देखि गरिँदै आएको थियो । प्रदेश सरकार स्थापना भएर प्रदेश मातहत यातायात कार्यालय आउनेबित्तिकैदेखि सवारी चालक अनुमति पत्र हेटौँडाबाट वितरण गर्नेगरी तयारी थालिएको थियो । 

कार्यालयको प्रकृया सुरु भएदेखि नै बागेश्वरी ड्राइभिङ एकेडेमीले हेटौँडा ११ बागथलीमा प्रदेश सरकारका जिम्मेवार व्यक्ति संगको मिलेमहतोमा सवारी चालक अनुमती पत्रको प्रयोगात्मक परिक्षा दिने स्थान तयारी गरिदै थियो । स्थान तयार हुने वित्तीकै कार्यालयले सूचना जारी गरेर तत्काल सूरु गर्नेगरी एकेडेमीसंग संझौता गरेको हो ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया