बाग्मती, गण्डकी, लुम्बिनी र कर्णालीका केही ठाउँमा दिउँसोपछि ह...
बैशाख ८, २०८१ शनिबार
अबको एक हप्तापछि नेपाल भ्रमण वर्ष २०२० सुरु हुँदैछ । भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने ठूलो लक्ष्य सरकारको छ । तर सरकारले लिएको लक्ष्य पूरा गर्ने सवालमा गर्नुपर्ने पूर्व तयारीका काम भने निकै फितलो छ । लक्ष्यअनुसारको तयारी नहुँदा चुनौती धेरै छन् ।
हाम्रा पूर्वाधारहरु ज्यादै दयनीय अवस्थामा छन् । सहज सडक मार्गको व्यवस्था छैन । अन्तर्राष्ट्रिय विमानस्थल पनि एउटा मात्रै छ । हुन त भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल बन्दै छ । तर त्यसलाई पनि छिटो सञ्चालनमा ल्याउन हामीले तीव्र गतिमा काम गर्न सकेका छैनौँ ।
उत्तरी छिमेकी चीनसँग जोडिएको सडक मार्गलाई हामीले सहज बनाउन सकिरहेका छैनौं । भारतसँग वर्षौँदेखि जोडिएको सडक मार्गको अवस्था पनि सुधार हुन सकेको छैन ।
यस्तै अहिले आपसी समन्वयको अभाव पनि देखिएको छ । हुन त नेपालले यस्ता कार्यक्रम अहिले पहिलो पटक गर्न लागेको होइन । यसअघि सन् १९९८ मा पनि नेपालले भ्रमण वर्ष मनाएको थियो । बन्द हड्तालका कार्यक्रम भइरहने त्यो बेला पनि सबै राजनीतिक दलसँगको समन्वयमा भ्रमण वर्ष सफल बनाइएको थियो ।
सबै राजनीतिक दलका नेतृत्वलाई टुँडिखेलमा राखेर बन्द हड्ताल नगर्ने प्रतिबद्धता नै जनाउन लगाइएको थियो । एक खालको समन्वयमा कार्यक्रमलाई सफल पारिएको थियो । तर अहिले त्यस्तो समन्वयात्मक काम हुन सकेको छैन ।
भ्रमण वर्ष मनाउँदै गर्दा सबै क्षेत्रसँग समन्वय हुन सकेको भए अहिलेको कार्यक्रम पनि सफल हुन सक्ने अवस्था रहन्छ । तर यसका नेतृत्वकर्ताहरु आफ्नै ढङ्गले हिँडिरहेका छन् । समन्वय ज्यादै कमजोर भएको पाउँछु ।
अहिले त बाटो जताततै खनिएको छ । सडकमा सहज आवतजावत छैन । काठमाण्डौका हरेक चोकमा दिनहुँ ट्राफिक जाम छ । धुलो, धुवाँ छ । यस्तो अवस्थामा पर्यटकलाई हामीले के दिन सक्छौँ ? पर्यटन व्यवसाय भनेकै अनुभवहरुको वितरण हो ।
हामीले के अनुभव दिन सक्छौँ त यहाँ आएका पर्यटकहरुलाई ? त्यो विषयमा हामीले आवश्यक गृहकार्य गरेका छैनौँ । त्यस्तै व्यावसायिक मान्छेलाई पर्यटन प्रववर्द्धनमा अगाडि ल्याउनुपर्नेमा अलिक बढी राजनीतिक भएको देखिन्छ ।
राजनीतिक अस्थिरता र स्थिरताले प्रभाव पर्दैन
हुन त पर्यटन व्यवसाय राजनीतिक खिचातानीले चल्ने व्यवसाय त होइन तर पनि केही प्रभाव भने पारेकै हुन्छ । राजनीतिक अस्थिरता वा राजनीतिक स्थिरताले मात्रै यो व्यवसाय चल्ने होइन ।
हामीले विगतकै कुरा हेर्ने हो भने पनि सन् २००३ मा माओवादी द्वन्द्व उत्कर्षमा पुगेका बेला पनि पर्यटक आइरहेका थिए । सन् २००३ मा झण्डै ५ लाख पर्यटक भित्र्याइएको थियो । अस्थिरताले पर्यटक घट्ने अनि स्थिरताले पर्यटक बढी हाल्ने भन्ने होइन ।
यहाँ आउने पर्यटकलाई नेपालीले कसरी सत्कार गर्छन् ? कस्तो खालको अनुभव बाँड्छन् ? यो हाँसिरहेको अनुहार नेपालीले विगत ७० वर्षदेखि संसारभर चिनाइरहेका छन्, यही हँसिलो अनुहार देखाइरहन कति सम्भव रहन्छ ? भन्ने कुराले महत्व राख्छ ।
भएका हाम्रा सम्पदाहरु, मन्दिरहरु, जातजाति, भेषभुषा, खानाहरु छन्, यसलाई कसरी हामी पस्कन सक्छौँ भन्ने कुराले अर्थ राख्छ । यस्तै दोहोर्याएर आउने पर्यटकलाई लोभ्याउन कस्ता खालका नयाँ अनुभवहरु दिन सक्छौँ भन्ने कुराहरु निर्क्याैल गर्न सक्यौँ भने जतिसुकै राजनीतिक उतारचढाव आए पनि यो व्यवसाय चलिरहन्छ ।
यो क्षेत्र निजी क्षेत्रबाट चलेको व्यवसाय हो । तर भ्रमण वर्ष २०२० सुरु हुनुअघि सन् २०१८/०१९ मा नै गर्नुपर्ने आवश्यक सबै गृहकार्य गरिसक्नुपर्ने थियो । तर त्यो काम भने हुन सकेको पाइएन ।
विमानस्थल त बन्दैछन् तर तिनको काम निकै सुस्त छ । हामीले स्थलमार्ग हुँदै आउनेलाई पनि भित्र्याउन पहल गर्नुपर्ने थियो । उत्तरी छिमेकी चीनसँग जोड्न विभिन्न नाकाहरु त छन् । तर ती नाकाबाट आवतजावत गर्न निकै कठिनाइ छ । हामीले रसुवागढी, तातोपानी लगायतका उत्तरी नाका हुँदै आउने पर्यटकलाई प्रोत्साहन गर्नुपर्ने थियो ।
अहिले जम्मा २८ हजार चिनियाँ पर्यटक मात्रै हामीले यी नाका हुँदै भित्र्याउन सकेका छौँ । यो भनेको ज्यादै न्यून हो । उत्तरी छिमेकीसँग मात्रै होइन हामीले भारत, बंगलादेश लगायतबाट पनि सडक मार्ग हुँदै पर्यटक ल्याउने प्रयास गर्नु जरुरी छ ।
अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रि सेवा सुरु गर्ने काम थाल्नुपर्छ । आन्तरिक विमानस्थलहरुमा पनि रात्रि सेवा सुरु गराउनु पर्छ । यस्तै हामीले न्यून बजेटका एअरलाइन्स कम्पनीमात्रै भित्र्याउने काम गरेका छौँ । उच्च बजेटका एअरलाइन्स भित्र्याउन किन सकिरहेका छैनौँ ? सरकारले यसतर्फ ध्यान दिनुपर्ने थियो ।
न्यून बजेटका एअरलाइन्समात्रै भित्र्याउँदा उनीहरुले न्यून बजेटकै पर्यटक बोक्छन् । यो भनेको त संख्यामा पर्यटक पुर्याउने काममात्रै हुन जान्छ । नम्बर त बढ्ला, तर राष्ट्रले पाउनुपर्ने 'भ्यालु' घट्न जान्छ । त्यसैले बढी केमा ध्यान दिने हो भन्नेबारे सरकारले ध्यान दिनुपर्ने थियो । त्यो हुन सकेको छैन ।
आतिथ्य सत्कारमा लोभिन्छन् नेपाल आउने पर्यटक
नेपालमा पर्यटकहरु आउने भनेको यहाँको प्राकृतिक सौन्दर्यता र यहाँका मानिसको आतिथ्यता हेर्न नै हो । संसारमा हाम्रा जस्ता देश अरु पनि छन् । तर यहाँका मानिसले गर्ने सत्कार, अनि यहाँको प्राकृतिक कुराहरुमा पर्यटकहरु लोभिन्छन् ।
हामीले हाम्रा गाउँघरमा जुन सेवा सुविधाहरु दिन्छौँऽ आत्मीयताका साथ पर्यटकहरु त्यही हेर्न आउँछन् । यसैको फलस्वरुप पनि आज 'कल्चरल टुरिजम' भन्दा 'एडभेन्चर' र 'नेचर टुरिजम' बढी भइरहेको छ ।
अब यसलाई पनि दिगो बनाउनेतर्फ काम हुनुपर्छ । होइन भने नेपालको दोहोर्याएर आउने पर्यटकको संख्या घट्न जान्छ । अहिले पनि विगतको तुलनामा त्यो दर घटिरहेको छ । त्यसैले यसतर्फ हामीले ध्यान दिन जरुरी छ ।
सडक चिल्लो हुँदैमा पर्यटक आउँदैनन्
सडक चिल्लो भयो भने पर्यटक ओइरिहाल्छन् भनेर कतिपयले भन्ने गरेको सुन्छु । यो भनेको भ्रम हो । हामीमा पनि यो भ्रम छ । सडक चिल्लो हुँदैमा पर्यटक आइहाल्ने भन्ने होइन । पर्यटक सडक मात्रै हेर्न आउने होइन । सडकको धुलो धुवाँ पनि केही मात्रामा अनुभव नै हो । कतिलाई हिलो भन्ने नै थाहा हुन्न । हिलो धुलो हेर्न पाउनु पनि अनुभव हुन्छ उनीहरुलाई ।
तर सडक नै नभएर पनि हुँदैन । आवतजावतमा सहज खालका सडक हुनु चाहिँ पर्छ । काठमाण्डौबाट पोखरा जाँदा ४/५ घण्टा लाग्ने दुरी निर्धारित समयमा नै पुग्नुपर्याे । अहिले त ९/१० घण्टा लाग्छ ।
२० लाख पर्यटक पुर्याउने भन्ने कुरालाई यस्ता कारणले असर पार्छ । यो सुधार नभए कठिन छ । जाम हटाउने र सहज आवतजावत गर्ने व्यवस्था मिलाउन सकिए पर्यटन व्यवसायमा यसले ठूलो उपलब्धि दिन्छ ।
२० लाख पर्यटक एकै वर्षमा ल्याउने भन्ने कुरो 'सामान किनेर गोलभेँडा ल्याए जस्तो कन्टेनरमा आउन सक्ने चिज होइन' । त्यसैले यसका लागि सबै तयारी हुनु अनिवार्य छ ।
टाउको गन्ने मात्रै काम
अहिले विभिन्न ३३ वटा एअरलाइन्सहरुले नेपालमा उडान भरिरहेका छन् । ती एअरलाइन्सहरु सबैले सिट क्षमताअनुसार पर्यटक ल्याए पनि २० लाख पुग्दैन । हवाइ मार्ग र सडक मार्ग गरेर २० लाख पुर्याउने सरकारको तयारी हो । तर न सडक मार्ग राम्रो छ, न त हवाई मार्गबाट आउने पर्यटक बढाउने हामीले पहल गरेका छौँ ।
अहिले विगतका वर्षभन्दा न्यून खर्च गर्ने पर्यटक मात्रै भित्रिरहेको देखिएको छ । त्यो के हो भने ‘वेगर कान्ट वी चुजर’ भन्ने अवस्थामा हामी पुगेका हौँ । किनभने हामीलाई टाउकै चाहिएको छ । हामीलाई २० लाख पुर्याउने भन्ने मात्रै 'टार्गेट' छ । कि त हामीले भुटानको जस्तो 'पोलिसी' अगाडि बढाउनुपर्याे । कि त न्यून बजेटका एअरलाइन्सहरुलाई आउन दिनु भएन । न्यून बजेटका एअरलाइन्सबाट न्यून बजेटकै पर्यटक आउने हुन् ।
हामीले हाम्रो नीति नै परिवर्तन गरेर गुणस्तरीय पर्यटक भित्र्याउन पहल गर्नु जरुरी छ । विगतको १० वर्षदेखि हामी सङ्ख्यामा लागेको हुनाले ११ लाख ७३ हजार हवाई र सडक मार्गबाट पर्यटकहरु आइरहेका भए पनि धेरैजसो कम खर्च गर्ने पर्यटक नै आइरहेका छन् ।
त्यसका लागि नेपाल एअरलाइन्स, पर्यटन बोर्ड र सरकारको गृहकार्य नीति परिवर्तन गर्नुपर्छ । गुणस्तरीय पर्यटक ल्याउन गुणस्तरीय ठाउँमा पुग्नुपर्याे । तर सरकारले पनि यसतर्फ चासो दिएको छैन । व्यवसायीहरु पनि सङ्ख्याकै पछि दौडिरहेका छन् ।
(नेपाल पर्यटन बोर्डका पूर्व वरिष्ठ निर्देशक आदित्य बरालसँग नवराज फुयाँलले गरेको कुराकानीमा आधारित ।)
बराल अनलाइन ट्राभल प्लेटफर्म एक्सेल ट्रिप ग्लोवलको कन्ट्री डाइरेक्टर तथा नेपाल पर्यटन बोर्डका पूर्व वरिष्ठ निर्देशक हुनुहुन्छ ।