बेसहारालाई उद्धार गरेर आश्रममा

देउखुरीमा आश्रम स्थापना

 पुस ७, २०७६ सोमबार १९:४६:४१ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङमा मानसिक सन्तुलन गुमाएका, अलपत्र बनेका र बेसहाराभई सडकमा आएका मानिसहरुको उद्धार गर्न थालिएको छ । निलसागर मानव सेवा आश्रमले दाङका सडक तथा बजार क्षेत्रमा रहेका त्यस्ता व्यक्तिहरुको उद्धार गरेर आश्रममा राख्न थालेको हो ।

केन्द्रीय कार्यालय नेपालगञ्जमा रहेको याे संस्थाले देउखुरीको सिसहनियामा रहेको पिपरी चोकमा आश्रम स्थापना गरेको छ । देउखुरी क्षेत्रबाट ९ जना व्यक्तिको उद्धार गरेको संस्थाले साेमबार घोराही बजार क्षेत्रमा रहेका त्यस्ता व्यक्तिहरुको पनि उद्धार गरेको हो  ।

मानसिक सन्तुलन गुमाएका, घरबाट तिरस्कृत भएका, बेसहारा भएर सडकमा आएका व्यक्तिहरुको उद्धार गरेर आश्रय दिनुकासाथै उपचारकोसमेत व्यवस्था मिलाइएकाे संस्थाका अध्यक्ष सरीता खनालले जानकारी दिनुभयो । त्यस्ता व्यक्तिहरुलाई उद्धार र आश्रमसम्म पुर्‍याउन संस्थासँग घोराही उपमहानगरपालिकाले समन्वय गरेको छ ।

आश्रममा उपचार, मनोविमर्श, खाना, आवास, सरसफाई, योगा जस्ता कार्यहरु हुदै आएको र अहिलेसम्म संस्थाले ३ सय जनालाई स्वस्थ बनाएर घरमा पुर्नमिलन गराएको अध्यक्ष खनालले जानकारी दिनुभयो । संस्थाले दाङसहित कोहलपुर, नेपालगञ्ज, बार्दिया, सुर्खेत, पाल्पामा शाखा स्थापना गरेको जनाएको छ । सुरुमा सामाजिक सहयोगबाट अभियान थालेको संस्थालाई अहिले सरकारले सहयाेग पनि उपलब्ध गराएको छ ।

बाँकेमा भवन बनाउनका लागि प्रदेश सरकारले ५ करोड बजेट विनियोजन गरेको छ भने थप व्यवस्थापनका लागिसमेत बजेटको व्यवस्था गरेको सामाजिक विकासमन्त्री सुदर्शन बरालले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत १५, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया