च्याम्पियन्स लिग फुटबल : सिटी र रियल म्याड्रिड तथा आर्सनल र बाय...
बैशाख ५, २०८१ बुधबार
अर्घाखाँची – गएकाे मंसिर ११ गते अर्घाखाँचीको नरपानीमा १९ जनाको ज्यान जानेगरी भएको बस दुर्घटनाको अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख विष्णुराज बेल्बासेको संयोजकत्वमा गठित ९ सदस्यीय समितिले तीव्र गतिका कारण बस दुर्घटना भएको निष्कर्ष निकालेको हो ।
समितिलाई प्रतिवेदन सार्वजनिक गर्न १५ दिनको समयावधि दिइएको थियो । सन्धिखर्कबाट रुपन्देही जाँदै गरेको लु २ ख २१४८ नम्बरको यात्रुवाहक बस सल्लेरीमा दुर्घटना हुँदा १९ जनाको ज्यान गएको थियो । समितिले जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा आयोजित सर्वदलीय बैठकमा सो प्रतिवेदन सार्वजनिक गरेको हो ।
प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जिल्ला ट्राफिक प्रहरी कार्यालयले तयार पारेको घटनास्थलको स्केच, घटनाको प्रकृति, मुचुल्का, गाडीको परीक्षण प्रतिवेदन, रेखाचित्रण लगायतका आधारमा दुर्घटनाको अध्ययन गरिएको जानकारी दिनुभएको छ । तीव्र गतिको कारण बायाँ साइडको नालीतिर गएर फेरि दायाँ साइड काट्दा रोक्न नसकी बस सिधै भिरबाट खसेको उहाँले बताउनु भयो ।
जिल्लाका लागि विनियोजित बजेटको ठूलो हिस्सा सडक निर्माणमा खर्च हुने गरेको भएता पनि अझै दुर्घटना न्यूनीकरण भने हुन सकेको छैन । प्रदेश तथा संघबाट बन्ने ग्राभेल र पिच सडकका लागि वार्षिक ५० करोडभन्दा बढी बजेट खर्च हुनेगरेको छ ।
आठ वर्षमा १ सय ५०को मृत्यु
आठ वर्षको आँकडा केलाउँदा जिल्लामा भएका सडक दुर्घटनामा परेर हालसम्म १ सय ५० जनाले ज्यान गुमाइसकेका छन् भने ५ सय ७८ जना घाइते भएका छन् । आर्थिक वर्ष २०६९-७० देखि हालसम्म भएका १ सय ४० सडक दुर्घटनामा डेढ सय जनाको मृत्यु भइसकेको छ ।
दुर्घटनामा परेर २ सय ७३ जना गम्भीर घाइते भएका छन् भने ३ सय ५ जना सामान्य घाइते भएका छन् । घाइतेमध्ये थुप्रैको अवस्था अझै चिन्ताजनक रहेको छ ।
जिल्ला समन्वय समितिका अनुसार हाल २८ मुख्य, १६ सहायक स्तरका, ५० गाउँस्तरीय र ९६ टोल स्तरीय गरी झण्डै ११ सयको हाराहारीमा सडक खनिएका छन् । सडकको संख्या हिसाब गर्दा जिल्लाभर २ हजारभन्दा बढी सडक रहेको समितिले जनाएको छ ।