हातमा सीप छैन ? निःशुल्क सिक्नुहोस्

 पुस १०, २०७६ बिहिबार १२:१८:२८ | बेदानन्द जाेशी

काठमाण्डौ – वैदेशिक रोजगारीमा जाने तयारीमा हुनुहुन्छ ? या सीप सिकेर स्वदेशमै केही गर्ने योजना बनाउनुभएको छ ? त्यसो भए सीप सिक्नुहोस् ।

अहिले सरकार र विभिन्न गैरसरकारी संघसंस्थाले निःशुल्क सीप सिकाइरहेका छन् । सरकारले वैदेशिक रोजगार बोर्ड तथा अन्य संस्थाहरुसँग सहकार्य गरेर विभिन्न सीपमूलक तालिमहरु सञ्चालन गरिरहेको छ ।

तपाईं पनि त्यसमा सहभागी भएर तालिम लिन सक्नुहुन्छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार बोर्डले यो आर्थिक वर्षमा १५ हजार कामदारलाई सीप सिकाउने लक्ष्य लिएको छ ।

अहिलेसम्म ३ हजार ३ सय ४० जनालाई सीप सिकाउने सम्झौता भएको बोर्डका सूचना अधिकारी दिनबन्धु सुवेदीले जानकारी दिनुभयो । बोर्डले अहिले प्रदेश नम्बर २, गण्डकी प्रदेश, प्रदेश नम्बर ३ र प्रदेश नम्बर ५ मा सीपमुलक तालिम सञ्चालन गरिरहेको छ ।

बोर्डमार्फत अहिले रुपन्देहीको बुटवल, काठमाण्डौको बालाजु, काभ्रेको बनेपा, महोत्तरीको बर्दिबास र बाँकेको नेपालगञ्जबाट सीपमुलक तालिम सञ्चालन भइरहेको छ ।

यस्तै प्रदेश १, कर्णाली र सुदूरपश्चिममा पनि चाँडै सीपमुलक तालिम सिकाउने गरी कार्यक्रम ल्याइने बोर्डले जनाएको छ । बोर्डले पलम्बिङ, हाउस किपिङ, कुक, बाटिस्टा, मोबाइल रिपियरिङ लगायतका विभिन्न प्रकारका व्यवसायजन्य तालिम प्रदान गरिरहेको सूचना अधिकारी सुवेदीले बताउनुभयो ।

वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने सीपमूलक तालिममा सहभागी हुन चाहनेले थप जानकारीका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सञ्चालित कल सेन्टरमा सम्पर्क गर्न सक्नेछन् ।

नेपाल टेलिकमका ग्राहकले ११४१ तथा १६६००१५०००५ नम्बरमा सम्पर्क गर्न बोर्डले अनुरोध गरेको छ ।

सामीमार्फत निःशुल्क सीप

नेपाल सरकार र स्वीस सरकारको द्वीपक्षीय सम्झौता अन्तर्गत हेल्भेटासको सहयोगमा सुरक्षित आप्रवासन परियोजना (सामी)ले पनि विभिन्न प्रकारका सीपमूलक तालिमहरु दिँदै आएको छ ।

सामीले वैदेशिक रोजगारीलाई लक्षित गरेर पुरुषको लागि प्लम्बिङ, सटरिङ, स्काफोल्डिङ, इण्डष्ट्री इलेक्ट्रिसियन, कार्पेन्टिङ र महिलालाई गार्मेन्टको सीप सिकाइरहेको सामी परियोजनाकी सीप विकास संयोजक सुनिला बानियाँले बताउनुभयो ।

निःशुल्क खान बस्नसहित तालिमको अवधी एक महिनाको हुन्छ । वैदेशिक रोजगारीमा जानेलाई लक्षित गरेर सीप सिकाइने भएकाले सीप सिक्नको लागि पासपोर्टको फोटोकपी (यदि पासपोर्ट बनाएको छैन भने पासपोर्ट बनाउन दिएको निवेदन) अनिवार्य बुझाउनुपर्ने संयोजक बानियाँले बताउनुभयो ।

वैदेशिक रोजगारीमा जानेहरुले गन्तव्य देशमा पुगेपछि एक्कासी काम गर्न अप्ठ्यारो नहोस भनेर दैनिक आठ घण्टा तालिम दिने गरेको पनि उहाँले बताउनुभयो ।

‘कोही कोही त यहीँ ८ घण्टा तालिम गर्न नसकेर विदेश जान्न भनेर घर फर्किनेहरु पनि धेरै छन्’, परियोजनाकी सीपविकास संयोजक सुनिला बानियाँले भन्नुभयो, ‘विदेश पुगेपछि गर्ने मेहनत तालिमको क्रममा सिकिसकेको हुन्छ, त्यही भएर यहाँ सीप सिकेकाहरुले उता जस्तोसुकै परिवेशलाई पनि सहन सक्ने हुन्छन् ।’ काठमाण्डौ उपत्यकामा १०, धनुषामा २ र झापामा १ गरी १३ वटा तालिम केन्द्रमार्फत सीप सिकाउने काम भैरहेको छ ।

तालिम लिन चाहनेले १३ वटा तालिमकेन्द्रमा गएर अर्को महिनाको लागि आफ्नो सीट सुरक्षित गर्न सक्छन् । तालिममा विपन्न, दलित, जनजाति, मधेशी समुदायका व्यक्तिहरुलाई विशेष प्राथमिकता दिइन्छ ।

मेडिकल फिट भएका १९–३५ वर्ष उमेर समूहका पुरुष र १९–३० वर्ष उमेर समूहका महिला तालिममा सहभागी हुन सक्छन् ।

इभेन्ट

नेपाल सरकार र विश्व बैंकको सहयोगमा शिक्षा विज्ञान र प्रविधि मन्त्रालयको व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना (इभेन्ट)ले पनि सीप सिकाइरहेको छ ।

यस परियोजनाले चालु आर्थिक वर्षमा २० हजार जनालाई सीप सिकाउने लक्ष्य लिएको छ । यसमा सहभागी हुन १६ देखि ४० वर्ष उमेरहद तोकेको छ । इभेन्टले सबै जिल्लालाई समेटेर भौचर र नतिजामुखी गरी दुई प्रणालीमा रहेर सीप सिकाउँदैछ ।

काठमाण्डौ उपत्यकाका तीन जिल्ला काठमाण्डौ, भक्तपुर र ललितपुरमा भौचर प्रणालीमा र बाँकी जिल्लामा नतिजा प्रणालीमा सीप सिकाइने इभेन्ट्सका निर्देशक चन्द्रनाथ भुसालले बताउनुभयो ।

काठमाण्डौ उपत्यकामा सीप सिकाउनको लागि आवेदन माग भएर पनि सीप सिकाउन थालिसकेको निर्देशक भुसालले बताउनुभयो । ‘उपत्यकामा सीप सिक्न चाहनेको लागि भनेर अनलाइन आवेदन माग गरेकोमा आवेदन दिएका २६ हजार ३ सय ५९ आवेदकबाट १० हजार एक सय ४१ जना छनौट भइसकेका छन्’, भुसालले भन्नुभयो, ‘सबै क्षेत्रबाट कोही पनि नछुटुन् भनेर तोकेको भन्दा पनि बढी संख्या छनौट गरेका हौँ ।’

छानिएकाहरुलाई प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी)ले तोकेका उपत्यकाका विभिन्न ५८ वटा सीप तालिम प्रदायक संस्थाले भौचर (तालिमका लागि योग्य भएको प्रमाणपत्र) प्रदान गरेर पनि सीप सिकाउन थालिसकेको उहाँले बताउनुभयो ।

नतिजामुखी र भौचर प्रणालीमा धेरै फरक नभए पनि भौचर प्रणालीमा परियोजना आफैले आवेदकहरु छनौट गर्ने र नतिजामुखीमा सीप सिकाउने केन्द्रले छनौट गर्नुपर्ने भुसालको भनाइ छ ।

परियोजना आफैले आवेदक छनौट गर्ने भएकाले भौचर प्रणाली अन्तर्गतको छनौट प्रक्रिया सकिएर पनि सीप सिकाइ सुरु भइसकेकोले यो वर्ष सीप सिक्न छुटेकाहरले अर्को वर्ष सिक्न सक्ने भुसालले बताउनुभयो ।

यस्तै नतिजाप्रणालीमा सीप प्रदायक संस्था आफैले सहभागी छनौट गर्ने भएकोले आफ्नो जिल्लामा रहेका इभेन्टले तोकेका सीप प्रदायक संस्थामा गएर बुझ्न सकिने निर्देशक भुसालले बताउनुभयो ।

इभेन्टले तोकेका सीटीईभीटीबाट मान्यताप्राप्त तालिमकेन्द्रले मात्रै सीप सिकाउन पाउँछन् । तीन महिनासम्मको तालिम हुन्छ । तालिमपछि सीप सिकेको प्रमाणपत्र पनि दिइने र तालिम प्रदायक संस्थाले तीन महिनाको जागिरको सुनिश्चितता पनि गरिदिनुपर्ने निर्देशक भुसालको भनाइ छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया