छाउगोठ हटाउन प्रशासनको उर्दी !

 पुस ११, २०७६ शुक्रबार ८:५४:१८ | विमल बिष्ट
unn.prixa.net

डोटी – डोटीमा रहेका छाउगोठ हटाउन जिल्ला प्रशासन कार्यालयले उर्दी जारी गरेको छ । 

डोटी जिल्लामा रहेका छाउगोठ हटाउन जिल्लाव्यापी अभियान चलाइने र महिनावारी भएका महिलालाई छाउगोठमा राख्नेलाई कारबाही गर्ने भन्दै प्रशासन कार्यालयले उर्दी जारी गरेको हो । 

जिल्ला सदरमुकाम सिलगढीमा छाउगोठ नभए पनि अधिकांश ग्रामीण क्षेत्रमा अहिले पनि छाउ बार्ने परम्परा र छाउगोठ रहेका छन् । प्रशासनले छाउगोठ भत्काउन सबै पालिकालाई पत्राचारसमेत गरेको छ । प्रहरी प्रशासनले डोटीका ग्रामीण क्षेत्रमा भएका छाउगोठको तथ्याङ्क संकलन गर्न सुरु गरेको छ । 

छाउपडी प्रथाका कारण सुदूरपश्चिममा अहिलेसम्म १२ जना महिलाले अकालमै ज्यान गुमाएका विभिन्न सङ्घ संस्थाको तत्थ्याङ्कमा उल्लेख गरिएको छ । 

महिनावारी भएकी महिला घरैमा बसे घरमा अनिष्ट हुने तथा देउता रिसाउने भन्ने अन्धविश्वासका कारण डोटीका ग्रामीण क्षेत्रमा अझै पनि छाउपडी प्रथा कायम रहेको केआईसिंह गाउँपालिकाका स्थानीय चेतराज भट्टले बताउनुभयो ।

गृह मन्त्रालयले डोटीलगायत समग्र सुदूरपश्चिमका विभिन्न ठाउँमा रहेका छाउगोठलाई समुदाय, स्थानीय तह र प्रहरीको सहकार्यमा भत्काउन जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएपछि छाउगोठ राख्ने तथा छाउगोठमा बस्न बाध्य बनाउनेलाई कारबाही गर्न थालिएको हो । 

जिल्ला प्रशासन कार्यालय डोटीले गएको बुधबार सार्वजनिक सूचना प्रकाशित गर्दै जिल्लाका कुनै पनि ठाउँमा छाउगोठ नराख्न आग्रह गरेको छ । ‘छाउगोठ नराख्न सूचना जारी गरेका छौँ, राख्नेलाई कारबाही हुने छ’, प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले भन्नुभयो, ‘छाउगोठ राख्ने तथा बस्न बाध्य बनाउनेविरुद्ध सशक्तरुपमा कारबाही गर्छौँ ।’

अन्तिम अपडेट: फागुन २८, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया