हिउँले खोसेको खुशी खोज्दै सगरमाथाको शीर

 पुस १२, २०७६ शनिबार ८:८:४७ | दीपा तिमल्सिना
unn.prixa.net

आँसु र दुःखको समुद्रपारि के होला ? दुःख र बेदनाको दलदलमा फसेकालाई त्यो समुद्र पार गर्न व्यग्र प्रतीक्षा हुने नै भयो । तर कमैलाई थाहा हुन्छ, हिलो (दुःख)मा पनि कमल फूल्छ अनि सुगन्ध फैलाउँछ । 

६ वर्षअघि जिन्दगी सामान्य थियो । छोरा छोरी, श्रीमान्, सासुससुरा आफ्नै घर । सिंगो संसार अडिएको थियो । जीवन रंगीन थियो । तर एक्कासी यस्तो आँधी आईदियो, जसले एकै पलमा रंगीन जीवनलाई रंगहीन बनाइदियो । 

जब नसोचेको घटना हुन्छ, तब अँध्यारोले घेरेको अभास हुन्छ । निस्सासिएर एकतमासको हुन्छ । न बाहिर निस्कन सकिन्छ न भित्र नै रहिरहन । निमा डोमा शेर्पा पत्कर सोर्न जान डोको मिलाउँदै हुनुहुन्थ्यो । तर, उहाँको मनमा शान्ति भने थिएन । ‘के सपना देखेको होला यस्तो’ भन्दै आफैँसित उहाँ बात मार्दै डोको नाम्लो मिलाउन थाल्नु भयो । संगी आईपुगिन्, उहाँ वन जानुभयो । 

मनभरी कुरा खेलाउँदै पत्तकर लिएर घर आउनुभयो । दिउँसोको १२ बज्दै थियो । घरमा फोन आयो – ‘तपाईंका श्रीमान हिउँ पहिरोमा परे ।’ 

हिमालमा आएको हिउँ पहिरोले निमा शेर्पाको सुख र शान्ति छिन्भरमै हिउँजस्तै जम्यो । त्यो दिनभरि श्रीमान्ले आफूलाई ‘दुःख धेरै नगर्नु’ भनेको निमाले सम्झिरहनु भयो । 

उस्तै छ, कथा फुर्दिकी शेर्पाको पनि । अन्तिम पटकका लागि भनेर हिमाल गएका श्रीमान् कहिल्यै फर्किएनन् । सँधै सजिलै हिमाल चढेर आउने श्रीमान्लाई उहाँले ‘अब भयो, हिमाल नचढ्नु’ भन्नु भएको थियो । एक पटकका लागि मात्रै भन्दै ‘उँभो’ लागेका श्रीमान् उतै अस्ताए ।

३ वर्षकी छोरी ९ वर्षकी भईन्, बाबा बितेको अझै थाहा छैन

श्रीमान् बित्दा निर्मा शेर्पाको छोरा ६ र छोरी ३ वर्षका थिए । छोरा केही बुझ्ने उमेरको भएकाले उनले बाबा बितेको चाल पाए । तर  छोरी सानै थिइन् ।  बाबाकी प्यारी छोरी अहिले ९ वर्षको भईन् । उनीलाई कुनै दुःख नहोस् भनेर निमा र छोरा सचेत छन् । 

जब जब निमालाई छोरीले ‘बाबा खै ? कहिले आउनु हुन्छ ?’ भनेर सोध्छिन्, निमाको सधैं जवाफ एउटै हुन्छ, ‘हिमालबाट आउँदा च्याँख्ला धेरै लिएर आउनुहुन्छ, धेरै च्याँख्ला ल्याउनु परेकाले ढिला भएको हो ।’ निमाको जवाफलाई अझ आडभरोसा दिन छोराले पनि समर्थन जनाउँछन् । 

बहिनी कतै लाखापाखा लागेपछि छोरा निमाको मुखमा पुलुक्क हर्छन् अनि आँखैको भाकामा निमालाई सोध्छन्, ‘आमा कतिन्जेल लुकाउँछौ ?’ जवाफमा निमा मात्र मुसुस्क मुस्कुराउनुहुन्छ मात्र ।

फुर्दिकी शेर्पा पनि सानी छोरीलाई बाबा बितेको भन्न सक्नुहुन्न । जेठी र माइली छोरीलाई थाहा भए पनि कान्छी छोरी अन्जान थिईन् । श्रीमान् बितेपछि छोरीहरुलाई उच्च शिक्षाका लागि उहाँले प्रायोजक खोज्नुभयो । विदेश पठाउने तयारी भयो । तर, त्यतिबेला मिलाउन खेपेको हण्डर भने अहिले पनि ताजै छ । 

दुई छोरीहरु अमेरिका गए । कान्छी छोरी साथमा नै थिईन् । उनको भविष्य बारे सोच्दै फुर्दिकीले कान्छी छोरीलाई पनि अमेरिका नै पठाउने निर्णय गर्नुभयो । छोरीलाई बाबा बितेको नभनेरै अमेरिका पठाउने दाउ फुर्दिकीको थियो । छोरीको अन्तर्वार्ता सुरु भयो । कान्छी छोरीलाई अमेरिकी एक नागरिकले धर्म छोरी बनाउने प्रक्रिया मिल्यो । तर, अन्तर्वार्ताका सिलसिलामा छोरीले बाबु बितेको चाल पाईन् । बिडम्वना फुर्दिकी त्यो अन्तर्वार्तामा जान मिलेन । 

बाबु आउने आशामा बसेकी छोरीलाई यो सह्य भएन । फुर्दिकी त्यो दिन सम्झिँदै आफ्नै लवजमा भन्नुहुन्छ, ‘मलाई कान्छी छोरीले घरमा आएर ‘बङबङ’ कुट्यो । आमा तिमी त झुठा रहेछौ । मेरो बाबा मरिसकेछ । तिमी त सारै झुटो रहेछौ, छोरीले रुँदै भनिन् ।’

छोरीहरुले आफूलाई भन्दा बाबालाई धेरै खोज्ने, माया गर्ने । छोरीको कुटाईले भन्दा आँसुले फुर्दिकीको मन रोयो, आँखा भरियो । 

वियोगले जुरेको सम्बन्ध, तिरस्कार नै बन्यो आशीर्वाद

भनिन्छ नि, भगवानले मन बुझाउन भए पनि जस्तालाई त्यस्तै मिलाउँछ । तर यो मिलन होला भन्ने उनीहरुलाई थाहै थिएन । सोलुखुम्बु नै भए पनि एक अर्कासँग दुवै जना अपरिचित । 

निमा खुम्जुङमा र फुर्दिकी दिङबोचेमा बस्ने । सोलुखुम्बुका यी दुईलाई काठमाण्डौले मिलायो । हिउँमा बिलाएका श्रीमान्को सम्झनामा बत्ति बाल्न निमा डोल्मा शेर्पा र फुर्दिकी शेर्पा काठमाण्डौको बौद्ध आए । बौद्ध अर्थात् शेर्पा समुदायको मुख्य आस्थाको केन्द्र ।

श्रीमानको नामको बत्ति बालेर माने घुमाउँदै गर्दा निमा र फुर्दिकीको भेट भयो । किन आएकोबाट सुरु भएको संवाद आँसुमा परिणत भयो । बातैबातमा दुवै रोए । मनभित्रको पीडालाई दुवैले अँगालो हालेर आँसुबाट बगाए ।

श्रीमान्लाई सम्झे । उनीसँग बिताएको पल सम्झे । आफूले पाएको हण्डर सम्झे । योसँगै दुवैको मित्रता झांगियो । वियोगका कुरा गर्दा गर्दै शोक शक्तिमा बद्लिंदै गयो । श्रीमान् बितेपछि धेरैले श्रीमान्लाई गुमाएकोमा व्यंग्य वाण प्रहार गर्थे । जुन तीरले सिधा मुटुमा छेड्थ्यो । 

त्यसपछि उनीहरुले दिनहुँको तिरस्कार र घृणाविरुद्ध लड्ने अठोट गरे । तर सोचेजस्तो त्यो अठोट पूरा गर्न भने सजिलो थिएन । यद्यपि लामो संघर्षपछि श्रीमानको मायालाई पछ्याउँदै दुवैले हिमाल चढ्ने तयारी गरे । 

श्रीमान बितेपछि रित्तै घरबाट हिँडेकी निमा डोल्मालाई हिमालसम्मको बाटो भगवानले नै जुराइदिएको जस्तो लाग्छ । ‘एक सेट कपडामा बालबच्चा र आफू घरबाट निस्किएर हिँडेको । हिमाल चढ्ने त परको कुरा, के खाने के लाउने ठेगान थिएन । तर दैवले सबै पु¥याइदिएको छ’ निमा भन्नुहुन्छ ।

अन्ततः अभावका बाबजुत उनीहरुले सगरमाथाको सफल आरोहण गरे । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका फुरदिकी शेर्पा र निमा डोमा शेर्पाले ‘टू विडोज एभरेष्ट एक्सपिडिसन २०१९’ नाम दिएर सगरमाथा चढे । 

‘श्रीमानको सम्झनामा अब रोएर होइन, उनले देखेको सपना साकार बनाउने दृढ संकल्पका साथ सगरमाथाको चुचुरोमा पुग्यौं ।’ निमा र फुर्दिकीको एकै स्वर छ, ‘हिमालले खोसेको खुशी खोज्दै हामी सगरमाथा चढ्यौँ ।’

शोकलाई शक्तिमा बदल्ने एउटै हतियार, आत्मविश्वास

आत्मविश्वास नहुँदो हो त, हिमाल आरोहण गर्ने तागत कहाँ पाउनु ? सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका–४ खुम्जुङका छोराछोरीका आमा निमा र फुर्दिकीले आफ्नै शोकलाई शक्तिमा बदल्दै गएको जेठ ९ गते सगरमाथाको सफल आरोहण गर्नुभयो ।

यसको ४ महिनापछि कात्तिकमा ६८१२ मिटर अग्लो आमादब्लम हिमालको आरोहण गर्नुभयो । एकल महिलाले शोकलाई शक्तिमा बदलेमा अघि बढ्न सकिन्छ भन्ने सन्देश दिन हिमाल आरोहण गरेको निमा र फुर्दिकी बताउनुहुन्छ । 

यो आरोहण उहाँहरुले  आफ्नो वियोगलाई शक्तिमा त बद्ल्नु भयो नै । सँगै समाजमा एउटा गतिलो उदाहरण पनि दिनु भएको छ । एकल महिलाले केही गर्न सक्दैनन् भन्ने मान्यता तोड्न उहाँहरु सफल हुनुभयो ।

बिहे गरेको घरमा नराम्रो भएपछि सबैकुरा छोडेर छोराछोरीलाई साथमा लिएर रित्तै काठमाण्डौ आएको  बताउने निमा भन्नुहुन्छ, ‘अहिलेको यो मान, सम्मानले हामीलाई दुःख मात्रै होइन, हिमालले हाम्रो  पहिचान पनि स्थापित गरिदिएको छ ।’ 

प्राकृतिक विपदले मात्रै हिमालले मानिसलाई दुःख दिने गरेको बुझाई फुर्दिकीको छ । ‘हामी खाली हिमाललाई  गाली गर्छौं त्यो गलत छ । मानवीय क्रियाकलापकै कारण हिमाल जोखिममा छ ।’

मौसम र समयलाई ख्याल गरेर आरोहणमा निस्किए सम्भावित जोखिम कम हुने उहाँ बताउनुहुन्छ । 

‘हामी पनि गर्न सक्छौं’

हिमालले पत्याएपछि निमा र फुर्दिकीलाई समाजले पनि पत्याएको छ । सगरमाथा र आमादब्लम हिमालको सफल आरोहणपछि घृणा गर्नेहरु पनि उहाँहरुको प्रशंसा गर्न थालेका छन् । उहाँहरुको कुरा सुन्न खोज्छन् । 

एक वर्षको अन्तरालमा फुर्दिकीले श्रीमान् र बुवालाई गुमाउनुभयो । अन्तिम पटकका लागि भनेर हिमाल गएका श्रीमान् हिमालमा बाटो बनाउने क्रममा सन् २०१३ मा खुम्बु आईसफलमा परेर बिते । निमा शेर्पाका श्रीमान सन् २०१४ मा हिमपहिरोमा परे । 

हिमालले खोसेको खुशी खोज्न हिमाल चढेका उहाँहरुले अब अरु महिला पनि सक्षम हुनु पर्छ भन्दै ‘हामी पनि गर्न सक्छौं’ अभियान चलाउनु भएको छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

दीपा तिमल्सिना

दीपा तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया