प्रियंका गान्धीकाे आराेप : यूपी पुलिसले मेराे घाँटी समायाे, हातपात गर्‍याे

 पुस १३, २०७६ आइतबार ७:१५:१५ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धीले लखनऊ महिला प्रहरीकर्मीले आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाएकी छिन् । प्रियंकाले भनिन्, ‘लखनऊका महिला प्रहरीकर्मीले मेरो घाँटी समाए र हातपात गरे ।’ 

नागरिकता संशोधन कानुनको विरोध गर्ने क्रममा आफूलाई गिरफ्तार गरेर अवकाशप्राप्त प्रहरी अधिकारीको घरमा लैजाँदै गर्दा बीचैमा रोक्ने कोसिस गरिएको र यो सबै घटना भएको प्रियंकाको दाबी छ । 

तर प्रियंकाको आरोपको खण्डन गर्दै उत्तर प्रदेश प्रहरीले बयान जारी गरेर उनको आरोप गलत भएको बताएको छ । 

प्रियंका गान्धी निर्धारित बाटो छोडेर अर्कै बाटो जान लाग्दा सुरक्षाकर्मीले उनको बाटो छेकेको उत्तर प्रदेश प्रहरीले स्पष्टीकरण दिएको छ । 

७६ वर्षका पूर्व प्रहरी अधिकारी एस. आर. दारापुरीको घर जानको लागि प्रियंका पहिला एउटा स्कुटरको पछाडि बसेकी थिइन् र पछि उनी पैदल पनि हिँडिन् । दारापुरीलाई यही हप्ता नागरिकता संशोधन कानुनको विरोध गर्ने क्रममा गिरफ्तार गरिएको थियो । 

प्रियंकाले सामाजिक सञ्जाल फेसबुकमा आफू कांग्रेस कार्यकर्ताको साथमा पैदल हिँडिरहेको एउटा भिडियो पनि पोस्ट गरेकी छिन् । 

भिडियोसँगै उनले लेखेकी छिन्, ‘उत्तर प्रदेश प्रहरीको यो के तरिका हो ? अब हामीलाई कहीँ कतै जान पनि रोकतोक गरिएको छ । म अवकाश प्राप्त प्रहरी अधिकारी तथा अम्बेडकरवादी सामाजिक कार्यकर्ता एस. आर. दारापुरीको घर गइरहेकी थिएँ । उत्तर प्रदेश प्रहरीले उनलाई एनआरसी र नागरिकता कानुनको शान्तिपूर्वक विरोध गर्दा घरबाटै पक्राउ गरिएको छ ।’

‘मलाई बलपूर्वक रोकियो र एक जना महिला अधिकारीले मेरो घाँटी समातेर तानिन् । तर म यो सबै सहेर बस्न सक्दिन । भारतीय जनता पार्टी (बीजेपी) सरकार कायरपूर्ण व्यवहार गरिरहेको छ । म उत्तर प्रदेश कतै जाउँ यो मेरो इच्छा हो भाजपा सरकारले रोक्न मिल्दैन ।’

प्रियंका गान्धीको आरोपछि लखनऊ प्रहरीले आफ्नो बयान जारी गरेको छ । लखनऊका एसएसपी कलानिधि नैथानीले बताए, ‘क्षेत्राधिकारी एमसीआर डा. अर्चना सिंहले मलाई कांग्रेस महासचिव प्रियंका गान्धीको लखनऊ यात्राको बारेमा पत्रमार्फत भनेकी थिइन् ।’

‘प्रियंका निर्धारित बाटो छोडेर अर्कै बाटो भएर जान लाग्दा उनलाई रोकिएको हो । उनकै सुरक्षाको लागि बाटो छेकिएको हो । यही क्रममा उनीमाथि दुर्व्यवहार गरिएको भन्ने कुरा गलत हो’, पत्रमा भनिएको छ ।

 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया