लागुऔषध ओसार-पसारमा संलग्न चार जना पक्राउ

 पुस १३, २०७६ आइतबार १४:८:३० | शुभनारायण यादव
unn.prixa.net

सप्तरी - प्रहरीले सप्तरी र सिराहा जिल्लाका विभिन्न स्थानबाट लागुऔषध ओसार-पसारमा संलग्न चार जनालाई पक्राउ गरेको छ ।

प्रहरी टोलीले उनीहरुलाई सप्तरीको बोदेबर्साइन, लहान नगरपालिका, सिराहको बरियापट्टि लगायतका स्थानबाट लागुऔषधसहित नियन्त्रणमा लिएको हो ।  

भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३२ वाई ८४५० नम्बरको मोटरसाइकलमा सवार बोदेबर्साइन वडा नं. १० खडकपुर बस्ने २५ वर्षिय प्रेम कुमार मण्डल सिम्राहाबाट पक्राउ परेका थिए । जिल्ला प्रहरी कार्यालय सप्तरीले मण्डलको हेलमेटबाट निरटाभेट ट्याबलेट ७ पिस फेला पारेको हाे। 
    
यस्तै, बरियारपट्टीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको स १० प ७१५३ नम्बरको मोटरसाइकलमा सवार २६ वर्षिय उदय नारायण चौधरीलाई ठूलो परिमाणकाे लागुऔषधसहित पक्राउ गरेको थियो ।  
 
चौधरीको साथबाट लागुऔषध फेनारगन २ सय ५४ पिस, डाइजील्याप २ सय ५५ पिस र नोफिन २ सय ५२ पिस बरामद गरिएको सशस्त्र प्रहरी निरीक्षक कुमार तिमल्सिनाले जानकारी दिनुभयाे ।

 यस्तै शुक्रबार साँझ पनि सिरहाकाे प्रहरी टोलीले सिरहा नगरपालिका–१७ पटेर्वाबाट २६ वर्षीय मुहम्मद एमामुदिन र १९ वर्षीय मोहमद रहिमलाई पक्राउ गरेको थियो ।  

भारतबाट नेपालतर्फ आउँदै गरेको स ५ प ५०७५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा एमामुदिनको साथबाट नाईट्रोभेट ट्याबलेट ७ सय २० पिस फेला परेको थियो ।यस्तै, रहिमको साथबाट नाईट्रोभेट ट्याबलेट ४५ पिस गरी जम्मा ७ सय ६५ पिस ट्याबलेट बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

पछिल्लो केही समय यतादेखी सप्तरी र सिरहा जिल्ला लागुऔषध ओसार-पसारको केन्द्रबिन्दु बन्दै गएको छ ।

अन्तिम अपडेट: चैत २५, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया