सन् २०१९ का चर्चित १९ घटना : पूर्व राष्ट्रपतिलाई मृत्युदण्डदेखि विश्वकै कान्छी प्रधानमन्त्रीसम्म

 पुस १४, २०७६ सोमबार १३:३३:२९ | रासस
unn.prixa.net

काठमाण्डाै – सन् २०१९ मा पनि राजनीतिक घटनाक्रमहरु नै बढी चर्चामा रहे भने केही ठूला दुःखद्\ घटनाले विश्वलाई स्तब्ध बनायो । विशेष गरेर अमेरिका र बेलायतको राजनीतिले विश्वका सञ्चारमाध्यमहरु ओगटे भने अन्य देशका पनि केही घटनाहरुले स्थान पाए । सन् २०१९ का चर्चित १९ घटनालाई यहाँ छोटकरीमा स्मरण गरिएको छ । 

१. भेनेजुएलाको पक्ष विपक्षमा विश्व विभाजित     

सन् २०१९ को सुरुवात भेनेजुएलाको राजनीतिक संकटबाट सुरु भएको थियो । जनवरीमा २३ मा भेनेजुएलाको राष्ट्रिय सभाका प्रमुख ३५ वर्षीय हुँवा गुएइदोले आफैँलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि विश्व समुदाय विभाजित भयो । राष्ट्रपति निकोलस मदुरोलाई निर्वाचित गरेको निर्वाचन निष्पक्ष नभएको भन्दै उनले मदुरो अवैध राष्ट्रपति भएको तर्क गर्दै आफैलाई राष्ट्रपति घोषणा गराउएका थिए । गुएइदोको घोषणापछि चीन, रुससहितका केही ठूला देश र टर्की, क्युबा, बोलिभिया, उरुग्वे, मेक्सिकोसँगै इरान र उत्तर कोरियालगायतका देशले ५६ वर्षीय मदुरोको समर्थन गरेका थिए भने अमेरिका, युरोपेली राष्ट्रहरु, ब्राजिल, कोलम्बिया, अर्जेन्टिना र अस्ट्रेलिया, इजरायललगायत झण्डै ५० देशले गुएइदोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिएका थिए । तर मदुरो अहिलेसम्म पनि राष्ट्रपति भवनमै रहन सफल छन् ।  

२. बेलायतमा ब्रेक्जिट सम्झौताको पक्षमा जनमत 

बेलायतमा प्रधानमन्त्री बोरिस जोनसनको पार्टी कन्जर्भेटिभ्सले संसदको चुनावमा बेलायतलाई युरोपेली संघ (ईयू) बाट बाहिर निकाल्ने जनादेश सहितको बहुमत पाएको छ । हाउस अफ् कमन्सका ६ सय ५० स्थानमध्ये घोषणा गरिएका ६ सय स्थानमा जोनसनको कन्जर्भटिभ्स पार्टीले ३ सय २६ स्थानमा विजय प्राप्त गरेको छ । उनले आउँदाे जनवरी ३१ मा बेलायतलाई इयूबाट अलग्याउने गृहकार्य गरिरहेका छन् । तत्कालीन प्रधानमन्त्री थेरेसा मेले बहुमत गुमाएपछि अन्तरिम प्रधानमन्त्री हुँदै उनी नयाँ चुनावबाट फेरि प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । 
 
३. सम्बन्ध सुधार्ने प्रयासमा अमेरिका र उत्तर कोरिया

एक अर्कालाई प्रमुख शत्रु ठान्ने उत्तर कोरिया र अमेरिकाको सम्बन्धमा सन् २०१९ मा उल्लेख्य प्रगति नभए पनि शीर्ष नेताको दुई बैठक भयो । अघिल्लो वर्षको जुन १२ का दिन सिङ्गापुरमा पहिलो पटक अङ्गालो हालेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उनले यस बर्ष दुई पटक शिखर बैठक गरे । दोस्रो बैठक फेब्रुअरी २७ र २८ मा भियतनाममा भयो भने तेस्रो बैठक दुई कोरियाबीचको सिमानामा जुलाई १ मा भयो । दुवै बैठक ठोस उपलब्धिमूलक नभए पनि द्वीपक्षीय सम्बन्धमा दरार नहुनुलाई नै सन्तोषको रुपमा हेरिएको छ । 
 
४. बाढी र रोगबाट सयौँले ज्यान गुमाए  

बाढीका कारण भारतको केरला, कर्नाटक, गुजरात र महाराष्ट्रमा गरी ३ सयभन्दा बढीको ज्यान गयाे । भारतकै विहारमा फैलिएको इन्सेफ्लाइटिस् रोगका कारण १ सय ६१ भन्दा बढीले ज्यान गुमाए । अस्ट्रेलियामा यस वर्ष फ्लुका कारण २ सय २० जनाभन्दा बढीले ज्यान गुमाए ।  

५. आन्दोलनमा सयौँले ज्यान गुमाए

सुडानमा भएको आन्दोलनका क्रममा १०८ जनाले ज्यान गुमाए भने इराकमा झण्डै एक सय जना आन्दोलनकै क्रममा मारिए । अफ्रिकी अन्य देशहरुमा पनि बेरोजगारी बढेको, आधारभूत सेवाबाट आम जनता विमुख रहेको तथा सरकारमा भ्रष्टाचार बढेको भन्दै भइरहेका आन्दोलनमा सयौँको ज्यान गयाे ।  

६. बेलायतमा कन्टेनरभित्र ३९ जनाको शव

बेलायतको एसेक्समा रहेकाे वाटरग्लेड औद्योगिक क्षेत्रको पूर्वी सडकमा राखिएको एउटा लरीको कन्टेनरभित्र ३९ वटा शव फेला परेका थिए । शवमध्ये ३८ जना वयस्क र एक जना किशोरको रहेको परीक्षणबाट पुष्टि भयाे । उनीहरु सुरुमा चिनियाँ नागरिक भनिए पनि पछि भने भियतनामी भएको अधिकारीहरुले बताएका थिए ।  

७. राहुल गान्धीको राजीनामा

भारतीय कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले पदबाट राजीनामा दिए । लोक सभा चुनावमा नराम्रोसँग हार ब्यहोरेपछि राहुलले पदबाट राजीनामा दिएका हुन् । उनलाई राजीनामा नदिन शुभेच्छुकहरुले दबाब दिए पनि उनले मानेनन् । उनकाे अडानका कारण पार्टीका पूर्व अध्यक्ष तथा राजिवकी आमा सोनिया गान्धी नै अहिले भारतीय राष्ट्रिय कांग्रेसको अन्तरिम अध्यक्ष रहेकी छिन् ।   

८. जापानी सम्राटको दुर्लभ निर्णय 

जापानको इतिहासमा २ सय वर्षभन्दा बढी समयसम्म नभएको घटना यस वर्ष भयो । त्यहाँका सम्राटले स्वेच्छाले राजगद्दी त्याग्ने दुर्लभ निर्णय तत्कालीन सम्राट अकिहितोले गरे । अकिहितोले गद्दी त्याग गरेपछि उनका छोरा ५९ वर्षका नारुहितो जापानको राजा भए । नयाँ राजाले राजगद्दी सम्हालेसँगै जापानमा नयाँ युगको सुरुवात भएको भनिएको छ । 

९. भारतमा बाबरी मस्जिद र जम्मू-कश्मीर   

भारत सरकारले जुलाई ५ मा मुस्लिम बाहुल्यता रहेको जम्मू-कश्मीरलाई विशेष स्वायत्तता दिने संविधानको धारा ३७० खारेज गर्ने आदेश जारी गर्‍यो । त्यसपछि जम्मू–कश्मीर छुट्टै राज्य नभइ केन्द्रशासित प्रदेश भएकाले भारतको इतिहासमा यसलाई महत्वपूर्ण दिनको रुपमा लिइएको छ । भारतकै अयोध्यामा वर्षाैँ पुरानो तथा विवादित मुद्दामा यस वर्ष फैसला भयो । त्याे ठाउँमा रहेको रामको मन्दिर हिन्दूहरुले आफ्नो क्षेत्रका रुपमा दाबी गरेका थिए भने इस्लामहरुले पनि त्याे क्षेत्रमा बाबरी मस्जिद बनाउनुपर्ने दाबी गर्दै आएका थिए । सर्वाेच्च अदालतले त्याे ठाउँ हिन्दूहरुलाई दिने र इस्लामहरुका लागि मस्जिद बनाउन अर्को ठाउँमा जमिनको व्यवस्था गर्न फैसला गर्‍यो ।   

१०. श्रीलङ्कामा दाजुभाइको सत्तारोहण 

श्रीलङ्कामा भएको राष्ट्रपतीय चुनावबाट पूर्व राष्ट्रपति महिन्दा राजपाक्षेका भाई गोटावया राजापाक्षे राष्ट्रपतिमा निर्वाचित भए । उनी निर्वाचित भएको केही दिनमै तत्कालीन प्रधानमन्त्री रणिल विक्रमासिंघेले राजीनामा दिए र  आफ्नै दाइ तथा पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेलाई नै प्रधानमन्त्रीमा नियुक्त गरे । सन् २००५ देखि २०१५ सम्म श्रीलङ्काका राष्ट्रपति बनेर बाहिरिएका राजापक्षे फेरि सत्तामा फर्किएको र दाइ प्रधानमन्त्री तथा भाइ राष्ट्रपति भएको विषय दक्षिण एसियाको एक चर्चाको विषय बन्याे ।    

११. इजिप्टका पूर्व राष्ट्रपति मोर्सीको अदालतमै निधन 

इजिप्टका पूर्व राष्ट्रपति मोहम्मद मोर्सीको अदालतमा बयान दिने क्रममा ढलेर निधन भयो । अरब क्रान्तिपछि सन् २०१३ मा इजिप्टका राष्ट्रपति भएका मोर्सीलाई सेनाले एक वर्षमै अपदस्थ गरेको थियो । अदालतमा बयान दिन लागेको केहीबेरमा मोर्सी ढलेका थिए । प्रतिबन्धित मुस्लिम ब्रदरहुडका शीर्ष नेता ६७ वर्षीय मोर्सीका समर्थकहरुले भने उनको हत्या भएको आरोप लगाएका थिए ।   

१२. पेरुका पूर्व राष्ट्रपति अमेरिकामा पक्राउ

भ्रष्टाचारको आरोपमा फरार रहेका पेरुका पूर्व राष्ट्रपति अलेक्जान्ड्रो टोलेडो संयुक्त राज्य अमेरिकामा पक्राउ परे । सन् २०१७ देखि संयुक्त राज्य अमेरिकामा बस्दै आएका टोलेडोमाथि ब्राजिली विशाल निर्माण कम्पनी ओडेब्रेक्टसँग पेरु र ब्राजिल जोड्ने राजमार्ग निर्माणको ठेक्का दिँदा घुस लिएको तथा अरु विभिन्न अपराधमा संलग्न रहेको आरोप छ । 

१३.  दुई सय २७ बालबालिकाको सामूहिक चिहान

दक्षिण अमेरिकी राष्ट्र पेरुका पुरातत्वविद्हरुले २ सय २७ जना बालबालिकाको सामूहिक चिहान फेला पारे । आजसम्म फेला पारिएको यस्ता चिहानहरुमा यो सबैभन्दा ठूलो भएको अधिकारीहरुले बताएका थिए । 

१४. ‘मीटू’ मुद्दामा ३४ लाख क्षतिपूर्ति

जापानमा ‘मीटू’ अभियानबाट चर्चित ३० वर्षीया पत्रकार शिओरी इटोले बलात्कारसम्बन्धी मुद्दा जितिन् । जापानमा यौनको विषयमा कम बहस हुने भएकाले यसलाई अत्यन्त महत्वका साथ लिइएको थियो । टोकियोकाे ‘सिभिल कोर्ट’ ले इटोको पक्षमा फैसला सुनाउँदै पीडितलाई ३४ लाखभन्दा बढी रुपैयाँ जरिबाना तिर्न आदेश दिएको थियो । उनले आफूलाई करिअरबारे छलफल गर्न होटलमा बोलाएर बलात्कार भएको भन्दै दोषीलाई कारबाही गर्न र आफूलाई क्षतिपूर्ति दिलाउन माग गरेकी थिइन् ।  

१५. सरिफ सिकिस्त, अब्बासी पक्राउ 

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ सिकिस्त बिरामी भए । भ्रष्टाचार अभियोगमा जेल सजाय भोगिरहेका सरिफ जेलमै सिकिस्त बिरामी भएपछि पाकिस्तानको एक अस्पतालमा उपचार गरी निको नभएपछि बेलायत लगिएको थियो । उनको अवस्था अहिले पनि चिन्ताजनक नै रहेको छ । सन् २०१९ मै पाकिस्तानका पूर्व प्रधानमन्त्री शाहिद खकान अब्बासी पनि भ्रष्टाचार आरोपमा पक्राउ परे । सन् १९१७ को अगस्टदेखि २०१८ मेसम्म प्रधानमन्त्री भएका अब्बासीलाई पक्राउ गरिएको विषयलाई पनि चासोका साथ हेरियो । 

१६. मुशरर्फलाई मृत्युदण्ड

पाकिस्तानका अर्का पूर्व राष्ट्रपति परवेज मुशरर्फविरुद्ध देशद्रोहको मुद्दामा विशेष अदालतले मृत्युदण्डको सजाय सुनाएपछि विश्वभरि नै फैसलाले विवाद निम्त्याएको छ । बिरामी अवस्थामा विदेशमा उपचार गराइरहेका मुशरर्फको मृत्युदण्ड हुनुअघि नै निधन भएमा उनको शव तीन दिनसम्म सार्वजनिक ठाउँमा झुण्ड्याउनसमेत आदेश दिएपछि यो विषय थप चर्चामा रहेको छ । 

१७. नागरिकताको नयाँ व्यवस्थाले तात्याे भारत 

नागरिकतासम्बन्धी संशोधित विधेयक पारित गरिएपछि पनि भारतका पश्चिम बङ्गाल, काेलकाता, तामिल नाडू राज्यलगायतका शहरी क्षेत्रमा आन्दोलन चर्किएको छ । आन्दोलनका क्रममा दर्जनौँको ज्यान गएकाे छ भने हजारौँ घाइते भएका छन् । पाकिस्तान, बङ्गलादेश र अफगानिस्तानबाट आएको प्रमाण पेस गर्ने हिन्दू, शिख, बौद्ध, जैन, पारसी र इसाइ धर्मावलम्बीले भारतको नागरिकता पाउने नयाँ व्यवस्थाको विरोध भएको हो । 

१८. ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव 

सदनबाट महाअभियोग लगाइएका अमेरिकी राष्ट्रपतिहरुमध्ये डोनाल्ड ट्रम्प तेस्रो राष्ट्रपति बने । हाउस अफ् रेप्रिजेन्टेटिभ्सले राष्ट्रपति ट्रम्पले शक्तिको दुरुपयोग गरेको भन्दै यही डिसेम्बर १८ मा महाभियोगको पक्षमा निर्णय गरेको हो । तल्लो सदनमा ट्रम्पलाई महाअभियोग लगाउने पक्षमा २३० र विपक्षमा १९७ मत खसेको थियो । 

१९. सान्ना विश्वकै कान्छी प्रधानमन्त्री

फिनल्यान्डकी ३४ वर्षीया सान्ना मरिन विश्वकै सबैभन्दा कम उमेरकी प्रधानमन्त्री चयन भएको विषयले यो वर्षको अन्त्यतिर निकै चर्चा भयो । प्रधानमन्त्री आन्ती रिन्नेले पदत्याग गरेपछि सोसल डेमोक्र्याटिक पार्टीले मरिनलाई सरकारको नेतृत्व गर्न चयन गरेको थियो । उनले मन्त्रीमण्डलमा महिलाको बहुमत र धेरै मन्त्री ४० वर्षभन्दा कम उमेरकालाई बनाएकी छिन् । गठबन्धन सरकारमा ५ वटा दल सहभागी भएका छन् । ती सबै दलको नेतृत्व महिलाले गरेका छन् । 

यी बाहेक अमेरिका र चीनको व्यापार युद्ध, सिरिया, यमन, अफगानिस्तान आदिमा जारी द्वन्द्वलगायतका विषय पनि वर्षभरी चर्चामा रहिरहे । यस्तै उतारचढावका बीच वर्ष २०१९ बिदा भयाे । 

(राससका लागि जीवन भण्डारी)

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया