बढी लिएको शुल्क फिर्ता नभएपछि चितवन मेडिकल कलेजका विद्यार्थी फेरि आन्दोलन गर्ने तयारीमा

 पुस १४, २०७६ सोमबार १२:४६:३० | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन –  चितवन मेडिकल कलेज (सीएमसी) ले विद्यार्थीसँग लिएको बढी शुल्क समायोजन नगरेको भन्दै विद्यार्थीहरु फेरि आन्दोलन गर्ने तयारीमा रहेका छन् । 
एमबीबीएस पहिलो र दोस्रो वर्षमा लिइएको अतिरिक्त शुल्क फिर्ता गर्न मेडिकल कलेज तयार भएको भनिए पनि चितवन मेडिकल कलेजले अहिलेसम्म फिर्ताको प्रक्रिया सुरु नगरेको विद्यार्थीले बताएका छन् । 

कलेजले शुल्क समायोजनामा चासो नदेखाएपछि चितवनमा अभिभावक र राजनैतिक दलसँग समन्वय गरी बैठक आह्वान गरिएकाे थियाे । तर बैठकमा चितवन मेडिकल कलेजका सञ्चालक डा. हरिशचन्द्र न्यौपाने उपस्थित नभएपछि विद्यार्थीहरु थप आन्दोलन गर्ने अवस्थामा पुगेका हुन । 

सर्वदलीय बैठकले मेडिकल सञ्चालकसँग वार्ताको पहल गर्ने भनिए पनि सञ्चालक उपस्थित नभएका कारण समस्या भएको विद्यार्थी संघर्ष समितिका संयोजक प्रकाश चन्दले बताउनुभयो । कलेजले विद्यार्थीसँग लिएको बढी शुल्क फिर्ता गर्न आलटाल गरेका कारण थप आन्दालेनमा जान बाध्य भएको उहाँले बताउनुभयो । 

कलेजका ७ जना विद्यार्थी र ७ जना अभिभावकसहित साेमबार काठमाण्डौमा नेकपाका नेता सुवासचन्द नेम्वाङलाई भेट्ने र काठमाण्डौमा पत्रकार सम्मेलन गर्ने तयारी भएको चन्दले बताउनुभयो । माग सुनुवाइ नगर्ने, छलफलमा सहभागी नहुने र विद्यार्थीलाई मात्र नभइ सरकारसँग भएको सहमतिसमेत पालना नगर्ने संकेत देखिएपछि थप आन्दोलनमा जान बाध्य भएको चन्दले बताउनुभएको छ । 

कलेजले परीक्षा र रजिस्ट्रेसन शुल्क मात्र फिर्ता दिने भन्दै आएकोमा आपत्ति रहेको चन्दले बताउनुभयो । सरकारले तोकेको शुल्कभन्दा बढी ६ लाख २५ हजार रुपैयाँ रकम विद्यार्थीसँग कलेजले उठाएको विद्यार्थीले बताउँदै आएका छन् । 

चितवन मेडिकल कलेजले सय सिटमा एमबीबीएस कार्यक्रम चलाइरहेको छ। उसले एमबीबीएस पहिलो र दोस्रो वर्षमा सरकारले तोकेभन्दा बढी शुल्क उठाएपछि विद्यार्थीले आन्दोलन गरिरहेका छन् ।

गएकाे मंसिर १० गते मेडिकल कलेज सञ्चालक र शिक्षा मन्त्री गिरिराजमणि पोखरेलबीच भएको वार्तामा अतिरिक्त शुल्क फिर्ता गर्न मेडिकल कलेज तयार भएका थिए। 

बढी लिइएको शुल्क फिर्ता नभएको भन्दै राजधानीबाहिरका मेडिकल कलेजका विद्यार्थीले एमबीबीएस पहिलो वर्षको परीक्षा नै बहिस्कार समेत गरेका थिए ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया