अब जुम्लामै एमबीबीएस र एमडीजीपीकाे पढाइ हुने

 पुस १४, २०७६ सोमबार १७:२९:४७ | नेत्र शाही
unn.prixa.net

जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको सातौँ सिनेट बैठकले जुम्लामा एमबीबीएस र एमडीजीपीको कक्षा सञ्चालन गर्ने भएको छ । 

प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीको सहमतिमा स्वास्थ्य जनसङ्ख्या मन्त्री तथा प्रतिष्ठानका सहकुलपति भानुभक्त ढकालको अध्यक्षतामा काठमाण्डौमा बसेको बैठकले कर्णाली प्रतिष्ठानमा एमबीबीएस र एमडीजीपी सञ्चालन गर्ने निर्णय गरको प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापाले जानकारी दिनुभयो ।  

उहाँका अनुसार प्रतिष्ठानले उठाएको प्रस्ताव नम्बर ५ को निर्णयअनुसार कर्णाली प्रतिष्ठानका शैक्षिक कार्यक्रमहरु एमबीबीएस, एमडीजीपी जनरल, एम एस अर्थोपेडिक्स, एमडी इन एनेस्थियोलोजी, एमडी एण्ड पेड्यिाडिक्स, एमडी गाइनोकोलोजी, एमएसी इपिडिमियोलोजी, ब्याचलर न्युट्रेसन र फारमेसीका कार्यक्रमहरु सञ्चालनगर्ने निर्णय गरिएको हो । 

यसैगरी उच्चस्तरका शैक्षिक कार्यक्रमहरुसहित १२ वटा प्रस्तावहरु सहमति पारित गरिएको प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतिष्ठानको संशोधित नियमावली बजेटसहित पारित भएका छन् । यसैगरी प्रतिष्ठानको बहुवर्षीय योजनासमेत पारित भएको प्रतिष्ठानका रजिस्ट्रार काफ्ले थप्नुभयो ।

प्रतिष्ठानले एमबीबीएस र एमडीजीपीको अध्ययन सुरु गर्ने निणर्यपछि कर्णालीवासी खुशी भएका छन् । प्रतिष्ठानको यो सिनेट बैठकले अब कर्णालीको विकासमा अर्को आयम थपिएको प्रतिष्ठान स्थापना पहल समितिका संयोजक तथा कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले प्रतिक्रिया दिनुभयो । यद्यपि शैक्षिक उच्च तहका कार्यक्रमलाई भने चिकित्सा शिक्षा आयोगले स्वीकृति दिनुपर्दछ । 

यसअघि एचए, स्टाफनर्सिङ, बीपीएच लगायतका कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । यसैगरी प्रतिष्ठानको सिनेट बैठकले छनोट समितिको अध्यक्षमा प्रा. डा. गणेश गुरुङ र सदस्यमा डा. तरुण पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया