घाेराही उपमहानगरपालिकाले फाेहर किन्ने !

 पुस १५, २०७६ मंगलबार १०:४०:५६ | हेमराज शर्मा
unn.prixa.net

दाङ – घोराही उपमहानगरपालिकाले नगल्ने फाेहर खरिद गर्ने भएको छ । नगरको वातावरण तथा विपद् व्यवस्थापन समितिअन्तर्गतकाे सरसफाइ स्वच्छता शाखाले नगल्ने फोहरहरुको वर्गीकरण गरेर खरिद गर्ने निर्णय गरेको हो ।

कपडा र फेरि प्रयोगमा आउने प्लास्टिकजन्य फोहरलाई प्रतिकिलो ५ रुपैयाँ र फेरि प्रयोगमा नआउने वस्तुलाई प्रतिकिलो ३ रुपैयाँमा खरिद गर्ने निर्णय भएको हो । प्रत्येक वडाका टोल विकास संस्थाले नगल्ने फोहर निश्चित ठाउँमा संकलन गर्ने र उपमहानगरले खरिद गरेर बाहिर बिक्री गर्ने योजना बनाएको छ ।

फोहरबाट संकलित रकमलाई टोल विकास संस्थाले पूर्ण सरसफाइको कार्यक्रमअन्तर्गत साबुन, ब्रस, हारपिक खरिद गर्ने नीति लिइएको समितिका संयोजक शक्तिराम डाँगीले जानकारी दिनुभयो ।

नगल्ने फोहर खरिद गर्न नगरले चालु आर्थिक वर्षमा ७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । साथै उपमहानगरले प्लास्टिकका झोलालाई निरुत्साहित गर्दै कागज र फाइबरका झोलालाई प्रोत्साहन गर्ने नीति अघि सारेको उहाँको भनाइ छ ।

नगर प्रमुख नरुलाल चौधरीले गल्ने फोहरलाई खेतबारीमै मलको रुपमा व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभएको छ । उपप्रमुख सीता सिग्देल न्यौपानेले लगानी घटाउँदै फोहरलाई पैसासँग जोडेर व्यवस्थापनमा लाग्नुपर्ने बताउनुभयो ।

त्यसैगरी सरसफाइ स्वच्छता शाखा प्रमुख प्रेम केसीले गल्ने र नगल्ने फोहरलाई अर्थसँग जोडेर व्यवस्थापन गर्ने र नगर क्षेत्रबाट निस्किएका गल्ने फोहरबाट घोराहीमा ग्यास र मल उत्पादनको तयारी भैरहेको जानकारी दिनुभयाे । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया