कालापानी क्षेत्रमा नापनक्सा गर्न गएको टोलीलाई भारतले रोक्याे : मन्त्री अर्याल

 पुस १५, २०७६ मंगलबार १९:४:११ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले कालापानी क्षेत्रमा नापनक्सा गर्न गएको नापी विभागको टोलीलाई भारतले रोकेको बताउनुभएको छ ।

दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति बैठकमा मन्त्री अर्यालले यस्तो बताउनुभएको हो । भारतले रोक लगाएसँगै नाप नक्साको काम स्थगित भएको छ । अब कुटनीटिक तहबाट कुरा गरेर समाधान निस्केपछि काम अगाडि बढाउने उहाँले बताउनुभयो ।

मन्त्री अर्यालले अहिलेसम्मको कुनै पनि नेपाली नक्सामा लिम्पियाधुरा नसमेटिएको बताउनुभएको छ । कालापानी र लिपुलेक नेपाली नक्सामा अहिले पनि रहेको र लिम्पियाधुरासहित नक्सा अहिलेसम्म प्रकाशनमा नआएको उहाँले बताउनुभयो ।

समिति बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले नक्साको सन्दर्भमा भूमि व्यवस्था मन्त्री अर्यालले सोझो जवाफ नदिएको बताउनुभएको छ । अन्य समिति बैठकमा समेत धेरैपटक प्रश्न गर्दा स्पष्ट जवाफ नआएको उहाँले बताउनुभयो ।

रावलले भन्नुभयो, ‘उहाँले बारम्बार नक्सामा आफ्नो भूमि देखाउने कुरा ठूलो होइन विवाद समाधान गर्ने कुरा ठूलो हो, भन्नुहुन्छ । नक्सामा आफ्नो भूमि देखाउने कुरा ठूलो होइन भने हामीले अन्त पनि नदेखाए भयो नि त । नक्सामा आफ्नो भूभाग देखाउने कुरा ठूलो होइन भने हटाइदिने ।’

वन तथा वातावरणमन्त्री शक्ति‍बहादुर बस्नेतले वनको जग्गा प्रयोग गर्न निश्चित विधि भएपनि सुरक्षा पोष्ट स्थापनाको क्षेत्रलाई राष्ट्रिय प्राथमिकताको क्षेत्रमा राखेको बताउनुभयो । उहाँले कालापनी, कञ्चनपुर र कञ्चजङ्घा गरी तीन क्षेत्रमा सुरक्षा पोष्ट स्थापनाका लागि जग्गा उपलब्ध भएको बताउनुभयो ।

बैठकमा समिति सदस्यहरुले सन्धी सम्झौताहरुले समेत नेपाली भूमि हो भनेर देखाएपछि नक्सा जारी गर्न किन गाह्रो भन्दै प्रश्न गरेका थिए ।

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया