पश्चिमी नाकाबाट नेपाल भित्रिने पर्यटकहरुलाई भीमदत्त रथमा परिक्रमा

 पुस १६, २०७६ बुधबार १४:२३:१० | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर - भीमदत्त नगरपालिकाले पर्यटन वर्षको अवसरमा पश्चिमी सीमानाका गड्डाचौकी हुँदै नेपाल भित्रिने पर्यटकलाई भीमरथमा परिक्रमा गराएको छ ।

पर्यटन वर्षका अवसरमा गड्डाचौकीमा आयोजना गरिएको कार्यक्रममा नगरपालिकाने त्यस नाकाबाट नेपाल भित्रिने पहिलो पर्यटक दक्षिण अमेरिकी नागरिक मिलिसा रस्तेगीसहित पाँच जना विदेशी पर्यटकलाई सम्मान गर्दै भीमरथमा परिश्रमा गराएको हो ।

सम्मानित हुनेमा एक जना दक्षिण अमेरिकी नागरिक मिलिसा रस्तेगी, तीन जना जर्मनी नागरिक र एकजना इटलियन नागरिक रहेका छन् । उनीहरुलाई प्रमुख अतिथि कञ्चनपुर क्षेत्र नम्बर-३ का प्रतिनिधि सभा सदस्य माननीय डा. दिपकप्रकाश भट्टले ढाका टोपी तथा खादा ओढाएर सम्मान गर्नुभएको हो ।

सम्मानपछि बोल्दै विदेशी नागरिकहरुले नेपालका तर्फबाट आफूहरुले पाएको सम्मानप्रति खुशी व्यक्त गरेका छन् । उनीहरुले नेपाल र नेपालीका बारेमा धेरै कुरा सुनेको बताउँदै आगमनसँगैको खुशीले फेरि फेरि आउनका लागि थप प्रोत्साहन मिलेको बताए ।

कार्यक्रममा सुदूरपश्चिमका वेषभूषा, पहिचान झल्किने छलिया नाच, भुवा नाच तथा राना थारुको नृत्य प्रस्तुत गरिएको थियो ।

पश्चिमी नाकाबाट नेपाल आउने पर्यटकलाई यहाँका पर्यटकीयस्थलका बारेमा जानकारी दिन गड्डाचौकीसँगै विभिन्न स्थानमा क्षेत्रमा होर्डिङबोर्डहरू राखिएका छन् ।

यता, अध्यागमन कार्यालय गड्डाचौकीका अनुसार सन् २०१९ डिसेम्बर २९ सम्म गड्डाचौकी नाका भएर दुई हजार नौ सय ३४ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् भने सन् २०१८ मा दुई हजार नौ सय ३० जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए । 

कार्यालयका अनुसार यहाँबाट अमेरिका, फ्रान्स, जर्मन, बेलायतलगायत देशका नागरिक नेपाल भित्रिने गरेका छन् । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया