पैँचो पसल खुलेपछि बदलियाे गुल्मीका किसानको आर्थिक अवस्था

 पुस १६, २०७६ बुधबार १८:२६:४० | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी - बारीमा कुहिएर नष्ट हुने तरकारी तथा फलफूलले बजार पाउन थालेपछि गुल्मीका किसानहरु पैँचो पसलतर्फ आकर्षित हुन थालेका छन् । उत्पादित फलफूल तथा तरकारी बारीबाटै बिक्न थालेपछि  यहाँका किसानहरुको आर्थिक अवस्थामा सुधार आएको छ । 

कृषि व्यवसायबाट लाखौँ आम्दानी गर्नुभएका छत्रकोट रुक्सेका रामकृष्ण कँडेल भन्नुहुन्छ‘ ‘सुरुमा पैँचो पसलको पटक्कै पत्यार लागेकाे थिएन । के गर्ला र भन्ने लागेकाे थियाे । पछि योसँग जोडिए । यो वर्ष मात्रै मैँले पैँचोसंग १० लाख ९५ हजारको कारोबार गरेको छु ।’ 

कृषि पेशाबाटै मोटरसाइकल चढ्न, छोराछोरी पढाउन जस्ता घर व्यवहारको सबै काम टारिरहनुभएका कँडेल उत्कृष्ट किसान बनेकोमा खुसी साट्नुहुन्छ । उहाँमात्रै हैन, यहाँका अधिकांश किसानको जीवनस्तर पैँचोले पसलले परिवर्तन गरिदिएको छ ।  

‘किसानलाई हेर्ने दृष्टिकोण बिस्तारै बदलिँदै गएको छ । पैँचोले किसानहरुको अवस्था उकास्न सक्दो सहयोग गरिरहेको छ । अझै गर्नेछ । किसानको अवस्था नसुध्रिएसम्म थाक्ने छैनाैँ’, पैँचो पसल प्रा.लीका प्रबन्ध निर्देशक धु्रब न्यौपानेले भन्नुभयो ।

पैँचोले प्रत्येक वर्ष आफ्नो वार्षिकोत्सवको अवसर पारेर गाउँपालिकाका उत्कृष्ट किसान, उत्कृष्ट शाखा कर्मचारी, उत्कृष्ट संकलन केन्द्र, कृषि उपज संकलक लगायतलाई सम्मान गर्ने गर्छ । 

प्रदेश ५ की कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री आरती पौडेलले पैँचो पसलले गाउँको उत्पादनलाई बजारसम्म पुर्‍याएर गाउँ र शहरलाई जोड्ने सेतुको काम गरेको बताउनुभयो ।

‘राज्यले गर्ने काममा प्रालिले सहयोग गरिरहेको छ । प्रदेश सरकारले कृषि क्षेत्रको विकास र समृद्धिको लागि नीजि संस्थाहरुसँग हातेमालो गर्दै अघि बढ्ने छ,’ उहाँले भन्नुभयो । 

गाउँमा उत्पादन भएको कृषिजन्य सामग्रीलाई संकलन गरेर एकमुष्ट जिल्लाभित्र र जिल्ला बाहिरको बजारमा बिक्री गर्ने उद्देश्यले पाँच वर्षअघि गुल्मीको रुरुक्षेत्र गाउँपालिका अर्न्तगत बलेटक्सारमा पसल संचालन गरिएको थियाे । 

यसले गाउँको उत्पादन पैँचो स्वरुप खरिद गरिदिनुका साथै घरखर्चमा आवश्यक पर्ने सामाग्री किसानलाई बिक्री गर्ने गर्दछ । पैँचोबाट सामान नलगेमा पसलले सोझै किसानलाई पैसा उपलब्ध गराउने गर्छ। 

भिन्न भिन्न पेशामा आबद्ध ४५ जना युवाले सुरु गरेको  पैँचोले जिल्लाभित्र र बाहिर गरेर ९ वटा शाखा सञ्चालन गरेको छ भने ती शाखा अन्तर्गगत ३ सय कर्मचारी र १२ हजार किसानहरु आबद्ध छन् ।

२ करोड लगानीबाट सुरु भएको यो पसलमा अहिले ३० करोड लगानी भैसकेको छ । यसले सिन्की, मस्यौरा, कोदाको पिठो, जाम, सस, अचार लगायतका २७ वटा ब्राण्डहरु उत्पादन गरी स्वदेश तथा विदेशसम्म निर्यात गर्दै आइरहेको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया