भ्रमण वर्षको अवसरमा दाेलखामा किवी महोत्सव

 पुस १७, २०७६ बिहिबार १३:४२:१० | उषा तामाङ
unn.prixa.net

दोलखा – 'नेपाल भ्रमण वर्ष २०२०' को अवसर पार्दै दोलखाको सदरमुकाम चरिकोटमा बिहीबारबाट दोलखा किवी महोत्सव सुरु भएको छ ।

जिल्ला समन्वय समितिसँगको समन्वयमा दोलखाको नाै वटा पालिकाले आयोजना गरेको महोत्सव ७ दिनसम्म चल्नेछ । प्रदेश नम्बर ३ का कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री धावा दोर्जे लामाले महोत्सवको उद्घाटन गर्नुभएको हो ।

दोलखाको समृद्धिका लागि प्रदेश सरकार चिन्तित रहेको उहाँले बताउनुभयो । लामाले मुख्यमन्त्री डोरमणि पौडेलसँग जनताको माग तथा आवश्यकताको विषयमा छलफल गर्ने विश्वास व्यक्त गर्नुभयो।

यसैबीच समितिसँगको समन्वयमा भीमेश्वर नगरपालिकाले किवी खेतीमा संलग्न किसानसँगै चार जनालाई सम्मान गरेको छ । पालिकाले नेपालमा नै पहिलो पटक किवी खेती गर्ने व्यवसायी श्याम खड्का, बागबानी फार्म बोचेका पूर्व कार्यालय प्रमुख तथा किवी विज्ञ चन्द्रमान श्रेष्ठलाई सम्मान गरेको हो ।

यस्तै विश्व साइकल यात्री पुष्कर शाह र १३ औँ एसियाली खेलकुद (साग) मा तेक्वान्दो खेलमा कांस्य पदक विजेता भीमेश्वर ७ का ज्ञानेन्द्र हमाल सम्मानित हुनुभएको  छ । उहाँहरुलाई सम्मानस्वरुप जनही २० हजार रुपैयाँ प्रदान गरिएको छ ।  

जिल्ला प्रहरी कार्यालय दोलखाले जिल्लाको नाै वटै पालिकालाई सम्मान गरेको छ । समुदाय प्रहरी साझेदारी अवधारणा कार्यान्वयनमा सहयोग गरेको भन्दै जिल्लाका नाै ९ वटै पालिकालाई सम्मान गरिएकाे हाे । 

कार्यालयले 'आवाज नेपाल' दोलखाकी अध्यक्ष सिर्जना कार्की र 'माइती मञ्च' दोलखाकी अध्यक्ष पार्वती खड्कालाई पनि सम्मान गरेको छ । जिल्लामा पहिलो पटक आयोजना गरिएको किवी महोत्सवमा जिल्लाका व्यवसायीले किवी फल र यसबाट बन्ने विभिन्न परिकारलाई प्रर्दशनीमा राखेका छन् । 

अन्तिम अपडेट: चैत ६, २०८०

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया