भ्रमण वर्ष : भूकम्पपछि अन्तर्राष्ट्रिय क्षेत्रमा पुगेको भ्रम चिर्ने अवसर

 पुस १७, २०७६ बिहिबार १६:३७:२० | मदन पौड्याल
unn.prixa.net

‘सम्पदा क्षेत्रमा भैरहेको काम हेर्न र यसैमा मनोरञ्जन लिन पाहुना आउलान् ? उनीहरुलाई यो होहल्ला मन पर्ला ?’ ललितपुर पाटनका न्हुँछेलाल महर्जनको प्रश्न हो यो । उहाँ विदेशी पर्यटकका लागि होमस्टे खोल्ने तयारीमा हुनुहुन्छ । तर भूकम्पपछिको पुनर्निर्माण नसकिंदा पर्यटक आउलान् या नआउलान् भन्ने चिन्ता छ । 

ललितपुरको पाटन दरबार क्षेत्रमा काठ काट्ने र बुट्टा निकाल्ने, ढुङ्गा खोप्ने, पुराना सामग्री हटाउने लगायतका काम धमाधम भैरहेका छन् । पुनर्निर्माणको काम भैरहेको पाटन दरबार क्षेत्र पर्यटन प्रवर्द्धन गर्नुपर्ने गन्तव्यका रुपमा सरकारले छनोट गरेको क्षेत्रमध्ये एउटा हो । पुनर्निर्माणको काम सँगसँगै पर्यटक ल्याउने गरी नै काम भैरहेको पुरातत्व विभाग, स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय पाटन दरबार सङ्ग्रहालयका प्रमुख सन्दीप खनाल बताउनुहुन्छ । 

भूकम्पले क्षति पुगेका पर्यटकीय क्षेत्र

सरकारले २०७५/०७६ को बजेटमा नेपालको पर्यटन प्रवर्द्धनका लागि नयाँ तथा पुराना गन्तव्यको पहिचान तथा विकास गर्ने घोषणा गरेको थियो । घोषणा अनुसार सयवटा गन्तव्य पहिचान गरी पर्यटन प्रवर्द्धनको काम सुरु भएको हो । जसमा भूकम्पले क्षति गरेका मुख्य सम्पदा समेटिएका छन् । 

काठमाण्डौ उपत्यकाभित्र पशुपति, स्वयम्भूनाथ, हनुमानढोका दरबार, पाटन दरबार, भक्तपुर दरबार, चाँगुनारायण र बौद्धनाथ क्षेत्र विश्व सम्पदा सूचीमा सूचीकृत छन् । यी सहित काठमाण्डौ बाहिरका गोरखा दरबार, नुवाकोट दरबार, मनकामना मन्दिर, गोसाइकुण्ड पर्यटन प्रवद्र्धन गर्नुपर्ने गन्तव्यको सूचीमा छन् ।

काठमाण्डौ उपत्यकाभित्रको अवस्था

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले विश्व सम्पदा सूचीभित्रका ९६ वटा सम्पदाको पुनर्निर्माण भएको बताउनुभयो । उहाँका अनुसार पुनर्निर्माण सम्पन्न सम्पदाहरुमा हनुमानढोका दरबार क्षेत्रका गद्दी बैठक, कृष्ण मन्दिर, तलेजु मन्दिर मुख्य छन् । 

यसैगरी भक्तपुर दरबार क्षेत्रका खौमा गेट, सिद्धिलक्ष्मी मन्दिर, नारायण मन्दिर, शंकरनारायण लगायतका मन्दिरहरुको पुनर्निर्माणको काम सकिएको छ । धरहरा, रानीपोखरी, काष्ठमण्डप, रातो मछिन्द्रनाथको मन्दिर पुनर्निर्माण भइरहेका छन् । सम्पदा पुनर्निर्माणको काम अरु क्षेत्रको तुलनामा ढिला भएको र अबको दुई वर्षमा काम सकिने ज्ञवालीको भनाइ छ । 

काठमाण्डौ बाहिरका गन्तव्य

गोरखा दरबार : ३५ प्रतिशत मात्रै

गोरखा दरबार पुनर्निर्माणको काम ३५ प्रतिशत मात्रै भएको छ । भूकम्पले क्षति पुर्‍याएको गोरखा दरबार पुनर्निर्माणका लागि २०७४ सालको कात्तिकमा पचली सिभाको जेभीसँग सम्झौता भएको थियो । 

दरबारको पहिलो तल्लाको काम पनि पूरा भएको छैन । अहिलेसम्म ३५ प्रतिशत मात्रै काम भएको पुरातत्व विभाग अन्तर्गतको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुषालले बताउनुभयो । 

मनकामना : बाटोको समस्या

गोरखाको मनकामना मन्दिर पुनर्निर्माण भैसकेको छ । मनकामना क्षेत्र विकास समितिका कार्यकारी निर्देशक गिरीधारी सापकोटाले पुनर्निर्माणपछि मनकामनामा स्वदेशी तथा विदेशी पर्यटकको संख्या बढ्दै गएको बताउनुभयो । उहाँका अनुसार मन्दिर दर्शन गर्न एक दिनमा १० हजारसम्म भक्तजन आउने गरेका छन् । मनकामना मन्दिरमा पुग्न आठ ठाउँबाट बाटो खोलिएको छ । तर कुनै पनि कालोपत्रे भएको छैन । एउटा भए पनि सडक कालोपत्रे गर्न सहयोग गर्न सापकोटाको आग्रह छ ।

नुवाकोट दरबार :

नुवाकोटको साततले दरबारको पुनर्निर्माण सुरु भएको ६ महिना मात्रै भएको छ । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा गएको साउनदेखि पुनर्निर्माण सुरु भएको हो । चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेजले सात तले दरबारको पुनर्निर्माण गर्नेछ । नौ तले दरबारको दुई वटा तला १९९० सालको भूकम्पले भत्केको थियो ।

गोसाइकुण्ड :

भूकम्पले बाटो अस्तव्यस्त बनेको गोसाइकुण्डमा अहिले भने केही सहज भएको छ । अहिले आन्तरिक तथा बाह्य पर्यटक गोसाइकुण्ड पुग्न थालेका पर्यटन व्यवसायीको भनाई छ । भूकम्पले भत्काएका पर्यटकीय संरचना पुनर्निर्माणपछि चहलपहल बढेको पर्यटन व्यवसायी तेम्बा लामाले बताउनुभयो । पर्यटन वर्ष २०२० मा पर्यटकलाई रसुवा भित्र्याउन आवश्यक प्रयास भैरहेको गोसाइकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङले बताउनुभयो । 

सिन्धुपाल्चोकको हेलम्बु

हेलम्बु सिन्धुपाल्चोकको हिमाली गाउँपालिका हो । भूकम्पपछिका दुई वर्ष ठप्पै भएको पर्यटन विस्तारै उकासिदै गएको स्थानीयको भनाई छ । तर भौगोलिक कठिनाई र होमस्टे मुख्य समस्याका रुपमा रहेका छन् । होमस्टेको व्यवस्थापन गर्न सके मात्रै आन्तरिक तथा बाह्य पर्यटकलाई सहज हुने पर्यटन व्यवसायमा सक्रिय साङ्गे लामाको विश्वास छ । उहाँ भन्नुहुन्छ, ‘पर्यटकले खाने, बस्ने र खर्च गर्ने ठाउँ भए मात्रै पर्यटनको रौनक फर्कनेछ ।’

भूकम्पपछिको भ्रम चिर्ने अवसर

नेपाल भ्रमण वर्षले उत्साह थपे पनि पुनर्निर्माणका काम भैरहेको क्षेत्रका बासिन्दा निराश छन् । तर २०७२ सालको भूकम्पपछि पर्यटन क्षेत्रमा परेको असरलाई यो भ्रमण वर्षले बिर्साउने आश गरिएको छ । 

भूकम्पलगत्तै विश्वसामु नेपाल उठ्नै नसक्ने गरी थिलो थिलो भएको संदेश गएको थियो । अन्तर्राष्ट्रिय सञ्चार माध्यममा भूकम्पको असर, क्षति तथा भग्नावशेष मात्रै प्रचार प्रसार भयो । तर अहिले पर्यटकीय गन्तव्यमा परेका तथा नपरेका गरी ३ सय ८७ सम्पदाको पुनर्निर्माण भैसकेको प्राधिकरणको तथ्यांक छ । 

धरहरा, रानीपोखरी, रातोमछिन्द्रनाथ, काष्ठमण्डप, नुवाकोट दरबार जस्ता बन्दै गरेका यी मुख्य सम्पदा पनि पर्यटकका लागि चासो र अवलोकन गर्ने क्षेत्र भित्रै पर्छन् । पर्यटन वर्ष २०२० ले भूकम्पपछि विश्वस्तरमा पुगेको नकारात्मक सन्देश चिर्ने सरकारको विश्वास छ ।

अन्तिम अपडेट: चैत ३, २०८०

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया