प्रदेशको नाम र राजधानीका विषयमा एकमत भएर जान्छौँ : मुख्यमन्त्री पौडेल

 पुस १८, २०७६ शुक्रबार १७:२३:२७ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको नाम र राजधानीका विषएमा एकमत भएर जाने बताउनुभएको छ ।

शुक्रबार नेकपा संसदीय दलको बैठकमा उहाँले भन्नुभयो, ‘प्रदेशको नाम र राजधानीका विषयमा सांसदहरु सबैले आफ्ना धारणा राखौँ । समयको कुनै पाबन्दी छैन । बैठक भोलिसम्म पनि चल्न सक्छ । तर, बैठकबाट निस्किएपछि एकमत भएर निस्कनुपर्छ ।’ 

प्रदेशको नाम र राजधानीका बारेमा पुस २२ गतेसम्म जसरी भए पनि टुंगाे लगाएर मात्र निस्कने मुख्यमन्त्री पौडेलले बताउनुभयो । नेकपाका प्रदेशका संसदीय दलका नेतासमेत रहनुभएका पौडेलले लामो समयदेखि टुंगाे लगाउन नसकेको नाम र राजधानीको विषय अब बाँकी राख्न नहुने बताउनुभयो । 

बैठकमा नेकपाका प्रदेश नम्बर ३ का इन्चार्ज तथा प्रदेश सभाका सदस्य अष्टलक्ष्मी शाक्य, पार्टीका केन्द्रीय नेता काँशीनाथ अधिकारी, नेता राजेन्द्र पाण्डे, नेकपाका प्रदेशका नेताहरु, प्रदेशका आन्तरिक मामिला तथा कानुुनमन्त्री शालिकराम जमकट्टेल, आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण प्रसाद नेपाल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामा, सामाजिक विकास मन्त्री युवराज दुलाल लगायतको सहभागिता रहेको छ ।

नेकपाका प्रदेशसभाका धेरैजसो सांसदहरु संसदीय दलको बैठकमा सहभागी छन् ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया