आफूखुसी औषधि खानुहुन्छ ? ख्याल गर्नुहोस् ज्यानै जान सक्छ !

 पुस २०, २०७६ आइतबार १६:५८:५४ | मदन पौड्याल
unn.prixa.net

काठमाण्डाै - अहिले मौसम चिसो छ । यसैपनि रुघाखोकी लाग्ने, घाँटी खसखस हुने जस्ता समस्या देखिन्छन् । त्यसमाथि काठमाण्डौमा त धुलो धुँवाको वातावरण समेत दुषित छ । दुषित वातावरणमा एलर्जीले उत्तिकै सताउने गर्छ । 

सामान्य रुघाखोकी लाग्दा, ज्वरो आउँदा, टाउको तथा घाँटी दुख्दा आफूखुसी औषधि किन्ने र खाने चलन छ । तर, बिनाजाँच औषधि बेच्ने र खाने गर्दा त्यसको असर कस्तो हुन्छ भन्ने धेरैलाई हेक्का नै छैन् । 

अस्पताल पुग्ने र डाक्टर खोज्ने झण्झट टार्नकै लागि पनि सोझै पसलबाट औषधि किन्ने र खाने बानी भने राम्रो हैन । यसबाट स्वास्थ्यमा थप जटिल समस्या निम्त्याउने भएकाले जथाभावी औषधि नखान डाक्टरहरुको सल्लाह छ ।

आफूखुसी औषधिको प्रयोगले थप जटिल समस्याका साथै रोग सार्ने किटाणुको प्रतिरोधात्मक क्षमता पनि बढ्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर विवेककुमार लाल बताउनुहुन्छ ।

जथाभावी एन्टिबायोटिक औषधि खाँदा पछि रोग सजिलै निको नहुने समस्या निम्तने भएकाले सामान्य अवस्थाका बिरामीले बेलैमा ध्यान दिनुपर्ने उहाँको सुझाव छ ।

दुर्गममा अस्पताल र विशेषज्ञ सेवाको अभाव छ । सुगममा डाक्टर र सेवा हुँदाहुँदै पनि जाँच गरी औषधि लिने सम्मको फुर्सद छैन । छिटो र सजिलो खोजेर सामान्य रोगका बिरामीले आफ्नो स्वास्थ्यमा खेलबाड गर्ने गरेका छन् । 

धुलोधुवाँ छेक्ने मास्क प्रयोग गर्दा पनि सामान्य समस्याबाट जोगिन सकिन्छ । तर जोगिने भन्दा पनि संक्रमण भैसकेपछि औषधि लिन अस्पताल पुग्ने चलन नै बढी देखिने गरेको वीर अस्पतालका डाक्टर अनिता जिसीको भनाई छ ।

उहाँ भन्नुहुन्छ, ‘रुघाखोकी, घाँटी दुख्ने जस्ता सामान्य समस्यामा डाक्टरको सल्लाह नलिइ आफूखुसी औषधि खाने हो भने रोग निको हुनेभन्दा पनि थप बल्झन्छ ।’

आफूखुसी औषधि खानेहरुले जानुपर्ने कुरा :

– जथाभावी औषधिको प्रयोग गर्दा किटाणु बलियो बन्दै जान्छ । शरीरमा औषधिको प्रभाव कमजोर बन्छ ।

– जटिल रोगमा एन्टिबायोटिकले काम गर्दैन ।

– कान, मृगौला जस्ता महत्वपूर्ण अंगमा बढी असर गर्छ ।

– भावी पुस्तामा समेत असर देखिने खतरा हुन्छ ।

अनुमानका भरमा खाएको औषधिले सामान्य अवस्था पनि जटिल बन्न सक्छ । अनि ज्यानै पनि जान सक्ने भएकाले डाक्टरको सल्लाहअनुसार मात्र औषधि खान महाशाखाका निर्देशक डाक्टर विवेककुमार लालको सुझाव छ । 
 

अन्तिम अपडेट: चैत १६, २०८०

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया