सभापति देउवाले काङ्ग्रेसी–काङ्ग्रेसीलाई नै एकआपसमा जुधाउनु भयाे : केन्द्रीय सदस्य शेखर काेइराला

'सभापति देउवाले बहुमतकाे आडमा पार्टीमा जमिनदारी प्रथा लागू गर्न खाेज्नु भयाे'

 पुस २१, २०७६ सोमबार १२:४३:८ | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा – नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कम्युनिष्टहरुको अराजकताविरुद्ध भिड्नुपर्नेमा सभापति देउवाले काङ्ग्रेसी–काङ्ग्रेसीलाई नै एकआपसमा जुधाएकाे आरोप लगाउनु भयाे ।

जीपी फाउण्डेसनले धनकुटाको चौबिसे गाउँपालिकाको मौनाबुधुकमा अयोजना गरेको कार्यक्रममा उहाँले काङ्ग्रेस घरभित्रको झगडामा फसेको भन्दै यो झगडालाई चाँडो अन्त्य गर्नुपर्नेमा जोड दिनुभयाे । सभापति देउवाले सबैलाई दिशा निर्देश गर्नुपर्नेमा उहाँ नै विधान मिच्दै अगाडि बढेकाे काेइरालाकाे आरोप थियो ।   

नेपाली काङ्ग्रेसको इतिहासमा सहमतिकै आधारमा महाधिवेशन घोषणा गर्ने स्थिति रहेको स्मरण गराउँदै कोइरालाले वर्तमान समयमा पनि सहमतिबाटै समस्याको समाधान गर्नुपर्नेमा जाेड दिनुभयाे । बहुमतका आधारमा सभापतिले स्वेच्छाचारी प्रवृत्ति देखाइ रहेको उहाँकाे दाबी थियो ।  

त्यस्तै नेपाली काङ्ग्रेसका नेता तथा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले बहुुमतको दम्भमा पार्टी अगाडि बढे त्यसको परिणाम भयावह हुने बताउनु भएकाे छ ।सिटाैलाले सभापति शेरबहादुर देउवामाथि बहुमतको आडमा पार्टीमा जमिनदारी प्रथा लागू गर्न खोजेको आरोप लगाउनु भयाे । 

उहाँले भन्नुभयाे, ‘विधान लत्याएर सहमति र सहकार्यको काङ्ग्रेसी संस्कृतिमा सभापतिले आगो लगाएका छन् । विगतको नजिरसमेत सभापति देउवाले कुल्चिनु भयाे ।' उहाँले रामचन्द्र पौडेल कार्यवाहक सभापति हुँदासमेत देउवालाई सोधेर महाधिवेशन घोषणा गरिएको सुनाउनु भयाे । 

अधिकांश समय सभापति देउवाविरुद्ध खनिनु भएका सिटौलाले सहमति, सहकार्य र एकताले मात्र पार्टी र देशकाे हित हुने हुदाँ त्यसतर्फ नेतृत्वको ध्यान जानु पर्नेमा जोड दिनुभयाे ।

कार्यक्रममा नेपाली काङ्ग्रेस धनकुटाका सभापति अग्निप्रसाद पौडेल, तेह्रथुमका सभापति केदार ढुङ्गाना, महासमिति सदस्य आनन्द सन्तोषी राई, उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो लगायतले काङ्ग्रेसको नेतृत्वमा विकास समृद्धिको अभियान सफल हुने बताए । 

अन्तिम अपडेट: चैत १६, २०८०

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया