तुलसीपुर व्यापारी अपहरण : मुख्य अभियुक्तलाई जन्मकैदसहित थप १२ वर्ष, अन्य ७ जनालाई ९ देखि १६ वर्ष कैद

 पुस २३, २०७६ बुधबार १६:५३:५७ | पुरुषोत्तम गिरी
unn.prixa.net

सल्यान - सल्यान जिल्ला अदालतले दाङ तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठको अपहरणपछि हत्यामा संलग्न मुख्य अभियुक्त टिकाराम घर्तीलाई जन्मकैद सहित १२ वर्ष कैदकाे फैसला सुनाएको छ ।

जिल्ला अदालतले ५९ वर्षीय श्रेष्ठको अपहरण पछि हत्यामा संलग्न तुलसीपुर ६, स्याउलीबजारका ४१ वर्षीय घर्तीलाई जन्मकैदसहित १२ वर्ष थप र अरु ७ जनालाई ९ देखि १६ वर्षसम्मको सजाय ताेकेकाे हाे । 

फैसला सम्बन्धमा जिल्ला अदालतका श्रेष्तेदार दीपक पोखरेलले भन्नुभयो,‘ घर्तीलाई जन्मकैदसहित अपहरणको मुद्दामा १० वर्ष सजाय सुनाइएको  छ, यस्तै उनलाई अपहरणकै मुद्दामा थप २ वर्ष सजाय सुनाइएको छ ।’ 

न्यायाधीश कुलप्रसाद केसीले गरेको फैसला बमोजिम टिकारामबाहेक अन्य आरोपित ७ जनालाई १५ देखि १६ वर्ष सम्मको सजाय सुनाइएको छ । अभियुक्त ८ जनालाई नै जनही ५० हजार रुपैयाँका दरले जरिबाना समेत तोकिएको छ ।

अदालतले टिकारामकी छोरी २० वर्षीया पूजा घर्तीलाई अपहरण मुद्दामा आठ वर्ष र थप दुई वर्ष कैद सुनाएको छ ।  रोल्पा र्कोचावाङ्ग–१ का विरे घर्तीलाई अपहरण मुद्दामा सात वर्ष र थप दुई वर्ष कैद सजाय तोकेको छ । उनीहरु दुवैलाई ज्यान मार्ने उद्योगमा सफाइ दिइएको छ । 

यस्तै तुलसीपुर– १२ का २७ वर्षीय अविरल महतरालाई ज्यान मार्ने उद्योगमा पाँच वर्ष, अपहरणमा नौ वर्ष र थप दुई वर्ष गरी १६ वर्ष कैद सजाय तोकिएको छ ।

यस्तै सल्यान घर भई दाङ हेकुली– ६ बालापुर बस्ने २९ वर्षीय मान बहादुर भण्डारी, रोल्पा जंकोट १ का मन बहादुर  पुन, तुलसीपुर उपमहानगरपालिका वार्ड नम्बर ९ वेलुवा शिवज्योती टोल बस्ने ४३ वर्षीय नारायण वली र  तुलसिपुर र– ६ का रुगद थापा चारै जनालाई ज्यान मार्ने उद्योगमा ५ वर्ष, अपहरणमा ८ वर्ष र थप २ वर्ष गरी १५ वर्षको सजाय सुनाइएको छ ।  

घटनामा आरोपित तीन जनालाई भने सफाइ दिइएको छ । तुलसीपुर - ८ का ३० वर्षीय भुपेन्द्र भण्डारी, घोराही १४ की जमा पुन र तुलसीपुर ११, कटाहाका खुमबहादुर केसीलाई भने अदालतले सफाई दिएको हो । 

घटनापछि प्रहरीले घटनामा संलग्न रहेको भन्दै १४ जना आरोपितमध्ये ११ जनालाई पक्राउ गरेको थियो । तीन जना भने अझै फरार  रहेका छन् । श्रेष्ठको २०७४ जेठ २६ गते अपहरण पछि हत्या भएको थियो । अपहरण भएको तीन दिन पछि श्रेष्ठको शव सल्यानको छत्रेश्वरी ४, झिम्पेमा फेला परेको थियो ।

यसरी भएको थियो व्यापारी श्रेष्ठको अपहरण र हत्या  

२०७४ जेठ २६ गते शुक्रबार अपराह्न रोटरी क्लब अफ तुलसीपुरको बैठक बोलाइएको थियो । श्रेष्ठ त्यही बैठकमा सहभागी हुनुहुन्थ्याे । बैठकमै रहँदा उहाँको फोनको घण्टी बज्यो, फोन थियो १७ वर्षीया पूजा घर्ती मगरको ।

पुजाले घुम्न जाउँ भनेर प्रस्ताव राखेपछि व्यापारी श्रेष्ठ बैठक सकेर घरमा पुग्नुभयाे । त्यस लगत्तै श्रेष्ठ केहीबेरमा आउँछु भनेर बा ११ च १०७१ नम्बरको कार लिएर घरबाट निस्किनुभयाे ।

युवतीलाई तुलसीपुरको वीरेन्द्र चोकदेखि उत्तरतिर सल्यान रोडबाट गाडीमा राखेर सल्यानतिर लाग्नुभयाे । व्यापारी श्रेष्ठ अपहरणमा परेको भने भोलिपल्ट मात्रै थाहा भएको थियो ।

व्यापारी श्रेष्ठकी पत्नीले आफ्ना श्रीमान शुक्रबारदेखि नै घर नआएको र सम्पर्कविहीन भएको प्रहरीलाई जानकारी गराएपछि उहाँको अपहरण भएको खुलेको थियो । जेठ २६ गते साँझ घरमा केही बेरपछि आउँछु भनेर निस्किएका पति भोलिपल्ट दिउँसोसम्म पनि घर नआएपछि पत्नीले इलाका प्रहरी कार्यालय तुलसीपुरमा खबर गर्नुभएकाे थियाे ।

त्यसपछि व्यापारी श्रेष्ठको खोजीमा खटिएको प्रहरीको टोलीले जेठ २७ गते श्रेष्ठले चढ्ने गरेकाे बा १२ च १०७१ नम्बरको कार सल्यानको कपुरकोट गाउँपालिकामा रहेकाे सिनबाङ र रिमको बीचमा पर्ने जङ्गलमा हावा फुस्काइएको अवस्थामा फेला पारेको थियो ।

उ‍हाँको कारसँगै भारतीय नम्बर प्लेटको कार पनि नजिकै फेला परेपछि भने प्रहरी व्यापारी श्रेष्ठ अपहरणमा परेको निष्कर्षमा पुगेको थियो । अपहरणकारीले व्यापारी श्रेष्ठको आवाजमा भ्वाइस रेकर्ड गरेर फोनमा श्रेष्ठका परिवारलाई पठाएका थिए ।

परिवारलाई पठाइएको भ्वाइस क्लिपमा ‘आफू सकुशल रहेको र मुक्तिका लागि तीन करोड रुपैयाँ दिनू’ भन्ने उल्लेख थियो । प्रहरीका अनुसार तीन करोड रुपैयाँ फिरौती दिन श्रेष्ठको परिवार सहमत भइसकेको थियो ।

तर, छत्रेश्वरी गाउँपालिकाको घना जंगलमा व्यापारी श्रेष्ठ एक्कासी मधुमेह बढेर अचेत भएर लडेपछि सबै फस्ने त्रासका कारण ढुङ्गाले थिचेर हत्या गरेको अभियुक्तहरुले बयान दिएका थिए ।

अन्तिम अपडेट: चैत १३, २०८०

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया