झ्याप्प झ्याप्प बिजुली किन जान्छ ? प्राधिकरण भन्छ- नसोचेको माग बढ्यो

 पुस २३, २०७६ बुधबार १९:१०:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मंसिरयता झ्याप्प झ्याप्प बत्ति जाने क्रम निकै बढेको छ । काठमाण्डौ उपत्यकामा विशेषगरी बिहान र बेलुकाको समयमा बत्ति आउने जाने भैरहँदा उपभोक्ता हैरान भएका छन् ।

नेपाल विद्युत प्राधिकरणले विद्युतीय सामग्रीको प्रयोग बढाउनुहोस् भन्ने, तर खाना पकाउने बेलामा नै किन बत्ति गैरहन्छ भनेर उपभोक्ताले गुनासो गर्न थालेका छन् । 

‘हामीले त अब लोडसेडिङ हुँदैन भनेर पहिले इन्भर्टर थन्कायौँ, कवाडीलाई बेच्यौँ, तर अहिले बत्ति गएको  गयै गर्छ, अब पुरानो इन्भर्टर छैन, नयाँ किन्न पैसा छैन ’, ललितपुर सुनाकोठीकी हिरादेवी महर्जनले उज्यालो अनलाइनसँग भन्नुभयो । 

नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ छैन भने पनि उपभोक्ताले भने लोडसेडिङकै महसुस गरिरहेका छन् । प्राधिकरणले खाना पकाउन पनि इन्डक्सन चुल्हो प्रयोग गर्नुहोस भनेको छ, तर उपभोक्ताले पहिला बत्ति दिनुहोस अनि बल्ल इन्डक्सन बालौँला भन्न थालेका छन् । 

‘प्राधिकरणले अनुमान गरेभन्दा धेरै माग, तर बिजुली नपुगेर लोडसेडिङ गर्नुपरेको हैन’

अहिले विद्युत अनियमित हुने समस्या काठमाण्डौमा धेरै रहेको नेपाल विद्युत प्राधिकरणको दावी छ । प्राधिकरणले काठमाण्डौमा योबेला बढीमा ३ सय ५० मेगावाट बिजुलीको माग हुने अनुमान गरेको थियो । तर काठमाण्डौ उपत्यकामा बिजुलीको माग अहिले पिक आवरमा ४ सय ५० मेगावाट नाघेको छ । 

‘काठमाण्डौमा हामीले अनुमान गरेको भन्दा धेरै बिजुलीको माग भएको छ, साढे ४ सय मेगावाट बिजुलीको माग भैरहेको छ, यति ठूलो माग धान्न हाम्रा उपकरणलाई मुश्किल भैरहेको छ ।’ नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले उज्यालो अनलाइनसँग भन्नुभयो । 

अहिले देशभरको बिजुलीको माग १३ सय मेगावाट पुगेको छ । प्राधिकरणले माग जति धेरै बढे पनि लोडसेडिङको तालिका निकाल्न नपर्नेगरी माग र आपूर्तिको व्यवस्था मिलाइएको जनाएको छ । 

१३ सय मेगावाट बिजुलीको माग भएकोमा नेपाल विद्युत प्राधिकरणले बनाएका आयोजनाबाट ५ सय मेगावाट विद्युत उत्पादन भैरहेको छ । यस्तै निजी क्षेत्रले बनाएका आयोजनाबाट ३ सय मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । अपुग ५ सय मेगावाट बिजुली भारतबाट आयात भैरहेको प्राधिकरणले जनाएको छ । 

संरचना सुधार गर्दा पनि बिजुली अनियमित भैरहेको दावी

नागरिकले बिजुली गैरहेको गुनासो गरिरहँदा विद्युत प्राधिकरणको पनि आफ्नै समस्या छ । काठमाण्डौमा सडक विस्तार भैरहेकाले बिजुलीको पोल सार्दा र रुख काट्दा बत्ती काट्नुपरेको, प्रसारणलाइन, सबस्टेशन र फिडरमा नयाँ उपकरण राख्दा र सुधार गर्दा पनि बत्ति नै काट्नुपरेको र पुराना उपकरण परिवर्तन गर्दा पनि बत्ति काट्नुपरेकाले केही क्षेत्रका उपभोक्ताले नियमित बिजुली नपाइरहेको विद्युत प्राधिकरणको दावी छ ।

‘हामीले अहिले उपकरण बनाउने र फेर्ने कामलाई तीव्रता दिइरहेका छौँ, समग्र प्रणाली सुधार भैरहेको छ, सुधारको लागि पनि त बिजुली काट्नैपर्छ, त्यसले पनि बेलाबेला बिजुली गएको छ, यो विस्तारै समाधान भैरहेको छ’, प्राधिकरणका प्रवक्ता अधिकारीले भन्नुभयो ।  

गएको वर्ष झण्डै १० हजार ट्रान्सफर्मर थपेको प्राधिकरणले यो आर्थिक वर्षको ५ महिनामा २ हजार ट्रान्सफर्मर परिवर्तन गरिसकेको छ । नयाँ फिडर थप्ने काम गरिरहँदा र बढी लोड भएको फिडरमा आउने लोडलाई नजिकै रहेको अर्को फिडरमा पठाउने काम पनि भैरहेको  प्राधिकरणले जनाएको छ । 

यस्तै काठमाण्डौको विद्युत नियमित बनाउन भक्तपुरमा साढे २२ एमभीएको ट्रान्सफर्मर राखिएको र स्युचाटारमा ३० एमभीएको १३२/११ केभीको ट्रान्सफर्मर राखेको पनि प्रवक्ता अधिकारीले बताउनुभयो ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया