खाडीमा रहेका नेपालीको सुरक्षाबारे सरकारी निकायबीच छलफल, समन्वय समिति बन्ने

 पुस २४, २०७६ बिहिबार १६:४२:३६ | उज्यालो सहकर्मी

काठमाण्डाै - इरान र अमेरिकाबीचको तनावका कारण खाडीमा रहेका नेपालीमाथि पर्न सक्ने समस्या समाधानको लागि सरकारले समन्वय समिति गठन गर्ने भएको छ । बिहीबार परराष्ट्र मन्त्रालयमा बसेको बैठकले अन्तर्निकाय समन्वय समिति गठन गर्ने निर्णय गरेको हो ।

समितिमा परराष्ट्र मन्त्रालयको मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुखको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, अर्थ मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाली सेनाका प्रतिनिधिको सहभागिता रहनेछ ।

समन्वय समितिले पश्चिम एसियामा विकसित घटनाक्रमलाई नजिकबाट नियाल्ने र परिस्थिति अनुरूप आवश्यकतानुसार समन्वय गरेर त्यस क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षाका लागि आवश्यक तयारी गर्नेछ ।

पश्चिम एसियामा विकसित पछिल्लो घटनाक्रम, विद्यमान सुरक्षा स्थिति तथा त्यस क्षेत्रमा कार्यरत नेपाली नागरिकको अवस्था लगायतका विषयमा सरकारका सम्बन्धित निकायहरूबीच नियमित छलफल भैरहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बिहीबार परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा बसेको बैठकमा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, रक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय, नेपाली सेना, वैदेशिक रोजगार विभाग र अध्यागमन विभागका उच्च प्रतिनिधिहरूको उपस्थिति थियो ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया