प्रदेश ३ काे प्रदेश सभामा बिहीबार पनि नाम राजधानी तोक्ने विषयमा छलफल : निष्कर्ष निस्किएन

 पुस २४, २०७६ बिहिबार १९:१४:३४ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - प्रदेश-३ को प्रदेश सभामा बिहीबार पनि प्रदेशको राजधानी तोक्ने विषयमा बिहीबार पनि छलफल जारी रहेर बिनानिष्कर्ष टु‌ंगिएकाे छ ।

छलफलमा सांसदहरुले काभ्रे र हेटौँडालाई राजधानी बनाउने विषयमा आ आफ्नो धारणा राखेका छन् । सांसद रवीन प्रसाद पाण्डेले संविधानले दिएको विशेष अधिकार अनुसार प्रदेशले राजधानी र नाम तोकोस् भन्ने आग्रह गर्नुभयो । 

सांसद प्रेमबहादुर पुलामीले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक सहमतिमा हेटौँडा राजधानी तोकेकाले त्यसलाई नबिगार्न माग गर्नुभयो । 

सांसद केशवराज पाण्डेले भने नुवाकोट प्रदेशको राजधानी बनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले नुवाकोटामा आफ्नो घर भएर मात्र नभइ काठमाडौँको जनघनत्व कम गर्न उपयुक्त ठाउँ नुवाकोट भएकाले प्रदेश राजधानी नुवाकोट हुनुपर्ने बताउनुभयो । 

सांसद ओमबहादुर घलानले राजधानीका लागि बीचभाग खोज्ने कि महत्वपूर्ण भाग खोज्ने ? भन्दै प्रश्न गर्नुभयो । मकवानपुर भनेको सबै भन्दा बढी जातिको बसोबास भएको जिल्ला रहेको र सबैले हेटौँडालाई नै मन पराएकाले हेटौँडा नै राजधानी हुनुपर्ने बताउनुभयो । 

सांसद राजेन्द्र गुरुङले प्रदेश सरकार हुँदै गर्दा नागरिकलाई प्रत्यक्ष अनुभूति हुनेगरी केही दिन नसकेको बताउँदै अब काभ्रेलाई प्रदेश राजधानी तोकेर जानुपर्ने बताउनुभयो । 

सांसद मुनु सिग्देलले संविधान अनुसार नै दुई तिहाइ मतले मकवानपुरमा राजधानी तोक्न आग्रह गर्नुभयो । 

सांसद रमेश पौडेलले काभ्रेको धुलिखेल राजधानी राख्न २ वटा आधारहरु प्रस्तुत गर्नुभयो । उहाँले संघीयताले सामाजिक न्यानको सुनिश्चिता र हातैले भेट्ने ठाउँमा सरकार भनेकाले काभ्रे उपयुक्त हुने बताउनुभयो । उहाँले ६० लाख जनसंख्या मध्ये ४८ लाखले एक दिन यात्रा गर्दा मुस्किलले हेटौँडा पुग्ने र १३ मध्ये १० जिल्लाले राजधानी नभेटाउने भएकाले काभ्रे उपयुक्त हुने बताउनुभयो । उहाँले प्रदेशको नाम वाग्मती राख्नुपर्ने समेत बताउनुभयो । 

सांसद विजुला बर्मा रानाले काभ्रेमा धेरै जनसंख्याको पायक पर्ने बताउनुयभो । 

सांसद केशव प्रसाद पोखरेलले कार्यदलले विवरण मात्रै तोकेकाले सेवाग्राहीको प्रभावकारिता हेरेर निर्णय गर्नुपर्ने बताउनुभयो । उहाँले काभ्रे उपयुक्त हुने बताउँदै अझ गहन भएर सोच्न आग्रह गर्नुभयो । 

बैठक शुक्रबार दिउँसो ३ बजेकाे बस्नेगरी स्थगित भएको छ ।

अन्तिम अपडेट: चैत ४, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया