'स्वदेशमा घाँस काट्दा दुःख देख्छन्, परदेशको दुःख किन देख्दैनन् ?'

 पुस २५, २०७६ शुक्रबार १७:४२:४५ | सन्जिता देवकोटा

झापा – माइखोलाको बगर । सुनसान छ । जताततै काँसघारी मात्र । गाउँसम्म पुग्न पनि झण्डै १५ मिनेट हिँड्नु पर्छ । 

यो उराठलाग्दो बगरमा जिन्दगी हराभरा बनाउन लाग्नुभएको छ माइधारका युवराज संग्रौला । उहाँको गोठ यही बगरको छेवैमा छ । युवराज र उहाँकी श्रीमती मुना गोठ छेवैमा सानो घर बनाएर बस्नुभएको छ । साथमा छन्, बाख्रा, कुखुरा, हाँस, र पाडा । वरिपरी अरुका अरुका घर छैनन् । सुनसान बगर छेवैमा उहाँहरु मात्रै बस्नुहुन्छ, पाडा बाख्रा पालेर ।

न कसैको कर छ न त डर । यही बगरबाट थालेको कामबाट बाँकी जीवन खुसीसाथ बाँच्ने रहर छ संग्रौला दम्पतीको मनमा । किनकी उनीहरुलाई थाहा छ, ‘खुसी आफूभित्रै छ, मात्र खोज्न र महसुस गर्न जान्नुपर्छ ।’

युवराजलाई आजभन्दा २० वर्षअघि लाग्थ्यो, ‘अरुजस्तै बन्नुपर्छ, अरुले पैसा कमाइसके, मैले पनि कमाउनु पर्छ ।’

त्यही सोचले १९ वर्षकै उमेरमा साउदी पुर्यायो । न काम थाहा थियो, न चालचलन र रहनसहन । उहाँकै शब्दमा भन्दा ‘उरन्ठेउलो केटो ।’ अनेक दुःख भोग्नु पर्यो । जिन्दगीका अमूल्य १२ वर्ष उतै बिताउनुभयो । 

तर उपलब्धि ? युवराज सम्झनुहुन्छ, ‘परदेश भनेको खहरे खोलाजस्तै हो, काम गर्दा पैसा आउँछ, काम छाडेर फर्कियो भने मानिस मात्रै ।’ 

तर आजको सोच र सपना बदलिएका छन् । सदाबहार हुन त आफ्नो मालिक आफैं बन्नु पर्छ । युवराज अहिले त्यही प्रयासमा हुनुहुन्छ, आफ्नो मालिक आफैं बन्ने । आजका ३९ वर्षीय युवराजलाई बुझ्न आजभन्दा २० वर्षअघि फर्कनुपर्छ ।

जुनबेला पढ्ने उमेर थियो । युवराजले राम्रोसँग पढे हुन्थ्यो भन्ने परिवारको जोड थियो । तर युवराजको मनमा पैसा कमाउने हुटहुटी चलिसकेको थियो । परिवार र आफन्तको कुरा सुन्नै मन पर्दैन थियो । 

युवराजलाई साथीहरुले जस्तै लगाउँ, खाउँ र साथीहरु गएकै बाटो जाउँजाउँ मात्रै लाग्थ्यो । एक पटक सेनामा भर्ना हुन पनि खोज्नुभयो । तर सफल हुनुभएन । त्यसपछि आईए पढ्दापढ्दै बीचैमा पढाइ छाडेर उहाँ सन् २००१ मा साउदी जानुभयो । 

म्यानपावरले करार गर्दा सेल्स ब्वाइको काम र तलब पनि राम्रो नै हुन्छ भनेको थियो । तर आज सम्झँदा युवराजलाई लाग्छ, त्योबेला देश छाडेर भर्ने परदेशको उडान बिना जानकारीको थियो । 

विदेश जाँदा कम्तिमा पनि आफू जाने देश, गर्ने काम र थोरै नै सही भाषा जान्नु पर्छ । तर युवाराजसँग त्यो बेला मनमा कमाउने र अरुजस्तै बन्ने सपना मात्र थियो ।

साउदी मार्केटिङ कम्पनीमा सेल्स ब्वाइको काम मिल्यो । जुन जाने बेलामा नै म्यानपावरले भनेको थियो । भाषा नजान्नेले काम कसरी जान्नु । अप्ठ्यारा त कति कति। 

‘भाषा, धर्म सबै फरक, अझ त्यो बेला त नेपालीहरु पनि कम जान्थे नि, मैले त ६ महिनापछि मात्रै अरु नेपाली भेटेँ,’ युवराज आफूले खेपेको अप्ठ्यारो सम्झँदै भन्नुहुन्छ, ‘भात पकाउन पनि जान्दैन थिएँ, बंगालीहरुसँगले पकाएको भात खाएर बसेँ ६ महिनासम्म ।’

त्यसपछि भने भाषा र कामको ज्ञान भयो । काम थप सहज हुन थाल्यो । ८ सय ६० साउदी रियाल थियो मासिक कमाइ । चार वर्षसम्म युवराज सेल्स ब्वाइकै रुपमा काम गर्नुभयो । त्यसपछि स्टोरकिपर हुनुभयो । तलब ४२ सय रियालसम्म हुन थाल्यो महिनाको ।

‘मेरो काम र कमाई अरुको तुलनामा राम्रो थियो, तर मानिसको मन कमाइ हुँदैमा रम्छ भन्ने नहुने रहेछ,’ युवराज भन्नुहुन्छ, ‘मनभरी परिवारको सम्झना हुन्थ्यो, आँखा फरफराए पनि, सपना नराम्रो देखे पनि घरकै याद, ज्यान मात्र परदेशमा हुन्थ्यो मन त घरमै हुन्थ्यो ।’

युवराज सोच्नुहुन्थ्यो, ‘मन घरमा ज्यान परदेशमा कतिञ्जेल राख्नु, जसरी हुन्छ घर फर्कने बाटो बनाउनुपर्छ ।’

तर परदेश बसाई लम्बिइरह्यो । कुनैबेला यो वर्षभरी कमाएर बचाउँछु भन्दाभन्दै वर्ष बित्यो । कुनै बेला कमाई बचाउन नसक्दा अर्को वर्ष कमाउँछु भन्ने आशमा समय कट्यो । 

यसैगरी युवराजका १२ वर्ष साउदीमै बित्यो । १२ वर्ष साउदीमा बिताउँदा पढाइ छुट्यो । घरको आर्थिक अवस्था केही सुध्रियो । पैसा त जति कमायो खर्च पनि उत्तिकै भयो । सबैभन्दा ठूलो कुरा त समय बित्यो ।

तर विगतले सुन्दर वर्तमानलाई बिगार्ने होइन, त्यसबाट सिक्ने हो । युवराजले पनि साउदीको आफ्नो १२ वर्षे सीप र अनुभवलाई स्वदेशमै लागाउने निधो गर्नुभयो । 

सन् २०१२ मा घर फर्किंदा युवराजको साथमा झण्डै पाँच लाख रुपैयाँ पूँजी र घर फर्कन पाउँदाको खुशी थियो । मनमा आफ्नै गाउँठाउँमा केही गर्नुपर्छ भन्ने जोश पनि । 

भिनाजुको हौसलामा फर्निचर व्यवसाय

स्वदेशमा कामको बाटो खोजिरहेका युवराजलाई दमकमा फर्निचर व्यवसाय गर्ने भिनाजुले आफू हिँडेकै बाटो देखाइदिए । भिनाजुको कुरा सुन्दा युवराजलाई पनि सुरुङ्गामा फर्निचर व्यवसाय थाल्दा चल्छ भन्ने आत्मविश्वास पलायो । 

सामान ल्याउनदेखि व्यवसायको आइडिया पनि भिनाजुबाटै मिल्यो । विदेशबाट फर्केको केही समयमा सन् २०१२ मा नै युवराजले सुरुङ्गामा फर्निचर व्यवसाय थाल्नुभयो ।

साउदीमा रहेका साथीले बधाई दिए । विदेशबाट फर्किनासाथ आम्दानीको बाटो समातेको देख्दा परिवारमा पनि खुशी छायो । आफ्नै ठाउँमा काम थाल्दा युवराज पनि दंग हुनुहुन्थ्यो ।

झण्डै १० लाखको लगानीमा सुरु गरेको व्यवसायले बिस्तारै रफ्तार लियो । यो व्यवसायको व्यवस्थापन गर्न साउदीमा स्टोरकिपर भएर काम गर्दा सिकेको अनुभव काम लाग्यो ।

‘त्यो बेला सुरुङ्गामा फर्निचर पसल थिएनन्, अझ मैले त विदेशमा जस्तै होम डेलिभरीको सुविधा पनि राखेको थिएँ, मञ्जाले नै चल्यो त्यो बेला,’ युवराज सुनाउनुहुन्छ । 
मासिक १२ लाख रुपैयाँसम्मको कारोबार हुन्थ्यो । त्यसबाट झण्डै डेढ, दुई लाख रुपैयाँ मासिक फाइदा हुन्थ्यो । 

उहाँले यो काम सँगसँगै बोइलर कुखुरा पनि पाल्नुभएको थियो । कुखराको काम भने श्रीमती मुनाले हेर्नुहुन्थ्यो । श्रीमान श्रीमती दुवै मिलेर काम गर्दा कमाई सँगै परिवार व्यवथापनमा सहज भयो । 

झण्डै पाँचवर्षसम्म राम्रोसँग चल्यो यो व्यवसाय । तर बिस्तारै यो व्यवसाय खस्कदै गयो । गाउँमा देखासिखी बढ्यो । युवराजको जस्तै पसल अरुले पनि खोले । त्यसपछि उहाँले विकल्प खोज्न थाल्नुभयो । 

अनि, बाख्रा, कुखुरा र पाडा साथी र आम्दानी बने

खेतबारीमा खनीखोस्री गर्दै, गाईभैंसी र घाँसदाउरा गर्दै हुर्केकाले युवराजको रुची कृषिमा थियो । त्यसैले पनि उहाँले बाख्रा पालनको सम्भावना खोज्नुभयो । विभिन्न फार्ममा पुग्नुभयो । किसानसँग सम्भावना, तरिका र बजारका बारेमा बुझ्नुभयो । र बाटो मोड्ने निष्कर्षमा पुग्नुभयो युवराज । 

‘बाख्राको सम्भावना बुझ्न म, चितवन, काभ्रे र इटहरीमा गएँ, पहिला पनि कखुरा पालेको हुँ, तर मलाई बोइलरभन्दा पनि लोकल पाल्ने चाहना थियो, जे सोचेको त्यस्तै पनि भयो,’ युवराज मुस्कुराउनुहुन्छ ।

युवराजले व्यवसायको योजना बनाइरहेकै बेला राष्ट्रिय युवा परिषदले समुहमा व्यवसाय गर्न चाहनेलाई निब्र्याजी पाँच लाख रुपैयाँ ऋण दिने भयो । यो खबरले युवराजलाई झन् आँट थपिदियो । 

‘युवा परिषदको मापदण्डअनुसार नै हामीले समूह बनायौं र काम थाल्यौं,’ युवाराज सुनाउनुहुन्छ । १० जनाको समूह बनाएर थालेको कामले अहिले गति लिन थालेको छ । 

ऋण पनि पाएपछि खोर र गोठ बनाउन आर्थिक अभाव भएन । खोर र दाना व्यवस्थापनको तालिम पनि परिषदबाटै पाउनुभयो युवराजले । २०७३ सालको अन्तिमदेखि फर्निचर व्यवसाय छाडेर उहाँ मासु उत्पादनतर्फ लाग्नुभयो । 

समूहमा १० जना भए पनि सबैका आआफ्नै अरु व्यवसाय पनि छ । यो व्यवसाय चाहिँ युवराज र उहाँका श्रीमतीले हेर्नुहुन्छ । सबै काम आफैं गर्नुहुन्छ । पाडा हेर्नका लागि भने एक जना मानिस राख्नुभएको छ । 

खोरमा डेढसय लोकल कुखुरा, ४० बाख्रा र १६ वटा पाडा छन् । केही हाँस पनि छन् । 

यो कामबाट वर्षको चारदेखि पाँचलाख रुपैयाँसम् आम्दानी हुन्छ । तर अहिले भएको आम्दानी जति लगानीमै परेको छ । नाफा बाँडफाँड भएको छैन । पाडाबाट झण्डै दोब्बर फाइदा हुन्छ । बाख्राबाट पनि राम्रै फाइदा  भैरहेको छ । 

यो पेशामा नाफा मात्र छैन, माया र अपनत्व पनि छ भन्नुहुन्छ, युवराज । आफूसँग रहेका हरेक कुखुरा, बाख्रा र पाडासँग उहाँको उत्तिकै माया छ । युवराजलाई यो पेशा कामले पनि दुःख बुझ्ने पेशा हो जस्तो लाग्छ । रीस उठे पोख्न पाइन्छ । गाली गर्न पाइन्छ । सुख साट्न र दुःख बाड्न पाइन्छ ।

 ‘मसँग भएका पाडा, बाख्रा र कुखुरा हेर्दा यस्तो लाग्छ कि म खुशी भएँ भने खुशी छन्, म दुःखी भएँ भने दुःखी हुन्छन्,’ युवराज भावुक मुद्रामा भन्नुहुन्छ, ‘उनीहरुसँगै दिन बिताउँदा पीडा पनि कम हुन्छ ।’

स्वदेशमा घाँस काटेको देख्दा हाँस्छन्, विदेशको दुःख कसले बुझ्ने ?

यो व्यवसायमा युवराजलाई परिवारको पूर्ण साथ छ । युवाराजलाई लाग्छ, हरेक काममा कमाइभन्दा पनि सन्तुष्टी ठूलो कुरा हो । जुन युवराजले पाउनुभएको छ । र उहाँको परिवार पनि उहाँले समातेको बाटोमा खुसी छ ।

‘अरुको देशमा गुलामी गर्नुभन्दा छ गोबर सोहोर्नु निकै बेश नि,’ युवराजकी श्रीमती मुना भन्नुहुन्छ, ‘मैले त विदेशमा छँदा पनि छिटो आउनु भनेको हो, मेरै करले पनि हो उहाँ छिटो आउनुभएको ।’

परिवारसँग टाढा हुनुभन्दा घामपानी सहेर सँगै काम गर्नु नै ठीक ठान्नुहुन्छ मुना । ‘हरेक काममा असन्तुष्टी हुन्छ, दिक्क लाग्छ, मलाई पनि कति गर्नु यो घासपानी जस्तो लाग्छ । तर सोच्छु के विदेशमा घाम लाग्दैन र,’ मुना चित्त बुझाउनुहुन्छ । 

श्रीमतीको कुरामा सही थाप्दै युवराज भन्नुहुन्छ, ‘यहाँ मैले घाँस काटेको देख्दा मानिस हाँसे, दुःख पायो पनि भने, तर विदेशमा म १८ घण्टा खट्दाको दुःख चाहिँ कसले देख्यो त ?’

काम गर्दाका सुखदुःख आफ्नो ठाउँमा छ । त्योभन्दा दुःख त अरुको गाली र अर्डरमा आफ्नो जीवन चलाउन पर्दा हुन्छ भन्नुहुन्छ युवराज । अहिले जिन्दगी आफ्नै मर्जीमा चलेको छ । 

यो व्यवसायलाई अझै व्यवस्थित रुपमा अघि बढाउने युवराजको योजना छ । पाँच लाखबाट सुरु गरेको व्यवसायमा अहिले लगानी २० लाख रुपैयाँ जति पुगेको छ । तर अझै गर्नुपर्ने काम धेरै छन् । गोठ व्यवस्थापनसँगै तालिमको आवश्यक छ जस्तो लाग्छ उहाँलाई । 

अब बंगुर र माछा थप्ने, अनि पाडाको संख्या बढाउने उहाँको योजना छ । तर त्यसका लागि पूँजीको अभाव छ । उत्पादन गर्न सके बजारको समस्या छैन उहाँलाई । व्यापारीले गोठसम्मै आएर कुखुरा, पाडा र बाख्रा किन्ने गर्छन् । 

मेहनत गर्न सक्यो भने पैसा कमाउन परदेश जानुपर्छ जस्तो लाग्दैन युवराजलाई । 

भन्नुहुन्छ, ‘नेपालमा त पैसा हावाहावामा छ, तर टिप्न चाहिँ आफूले जान्नु पर्छ, त्यो पैसा टिप्न सक्ने बनौं ।’
 

अन्तिम अपडेट: माघ २९, २०७६

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया