ए डिभिजन लिग : आजदेखि छैटौं चरणकाे खेल हुने

 पुस २६, २०७६ शनिबार ७:१८:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत छैटौं चरणका खेलहरु शनिबारदेखि सुरु हुँदै छ । पाँचौ चरणका जस्तै छैटौं चरणका खेलहरु सबै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने छन् ।

छैटौं चरणको पहिलो दिन शनिबार २ वटा खेल हुने छन् । पहिलो खेलमा जावलाखेल युथ क्लब र मछिन्द्र आमने सामने हुने छन् । यो खेल मध्याह्न १२ बजेदेखि सुरु हुने छ । यी दुवै टिम अपराजित छन् ।

शनिबारको खेलमा मछिन्द्र विजयी भए केहीबेरका लागि शीर्ष स्थानमा उक्लने छ भने जावलाखेल विजयी भए दोस्रो स्थानमा पुग्ने छ । साथै तीन जना खेलाडी कारबाहीमा परेकाले मछिन्द्रलाई केही असहज भने हुने छ ।

मनाङविरुद्धको खेलमा भएको झडपका कारण मछिन्द्रका दीपक राई, देवेन्द्र तामाङ र विजय धिमालले कारबाही स्वरुप सातौं चरणको खेल पनि गुमाउने छन् ।

दोस्रो खेलमा दिउँसो ३ बजे दोस्रो स्थानको मनाङ मर्स्याङ्दी र हिमालयन शेर्पा आमने सामने हुने छन् । मनाङ विजयी हुँदै शीर्ष स्थानमा पुग्ने लक्ष्यमा रहँदा शेर्पा भने पहिलो जित निकाल्दै तीन अंकको खोजिमा हुने छ ।

शेर्पाले अहिलेसम्म जित निकाल्न पाएको छैन् । तर मनाङका तीन मुख्य खेलाडी भने अनुशासनको कारबाहीमा परेका छन् । जगजीत श्रेष्ठ र अशोक बराल दुवैले शनिबारकोसहित पाँच खेल गुमाउँदा रञ्जन विष्टले पनि २ खेल गुमाउने छन् ।

पाँचौं चरणको समाप्तिसँगै विभागीय क्लब त्रिभुवन आर्मी शीर्ष स्थानमा छ । चार खेलमा जित र एक खेलमा पराजित भएको आर्मी १२ अंकसहित शीर्ष स्थानमा रहँदा अपराजित रहेका मनाङ मर्स्याङ्दी र मछिन्द्र क्रमश ११ र १० अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् ।

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया