बढ्दो शीतलहरका कारण तराईको जनजीवन प्रभावित : विद्यालयहरु बिदा

 पुस २६, २०७६ शनिबार १६:४०:४६ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु - बढ्दो शीतलहरका कारण प्रदेश ५ का तराईका जिल्लाहरुको जनजीवन प्रभावित बनेको छ ।

पछिल्लो सातादेखि तराई क्षेत्रमा घट्दै गएको तापक्रमले आम सर्वसाधारणहरुको दैनिकी कष्टकर बन्दै गएको छ । अधिक चिसोका कारण सर्वसाधारणहरुको सरकारी कार्यालय, सार्वजनिक स्थल र बजारहरुमा उपस्थिति निकै न्यून छ । 

जल तथा मौसम विज्ञान विभाग अन्तर्गत कपिलवस्तु नगरपालिका-३, रामनगरमा रहेकाे तापक्रम मापन केन्द्रका अनुसार शनिबारको तापक्रम न्यूनतम ८ र अधिकतम तापक्रम १२ डिग्री सेन्टिग्रेड रहेको छ । चिसोबाट बच्न सर्वसाधारणहरु घरबाट बाहिर अति आवश्यक काम भए मात्र निस्कने गरेका छन् । विभिन्न चाेक र गल्लीहरुमा समूहगत रुपमा सर्वसाधारणहरु चिसो छल्न दिनभर आगो ताप्दै बसेका भेटिन्छन् । 

कपिलवस्तु नगरपालिका-१, २ र ३ लगायतका वडाहरुले विपन्न सर्वसाधारणलाई न्यानो कपडा, कम्मल लगायतका सामाग्रीहरु पनि वितरण गरेका छन् । यसै गरी जिल्लाका १० वटै स्थानीय तहले आआफ्ना क्षेत्रका विपन्न सर्वसाधारणलाई न्यानो कपडा र कम्मल वितरण गरेका छन् ।

चिसो बढेसँगै जिल्ला अस्पताल तथा अन्य स्वास्थ्य संस्थाहमा बिरामीहरुको संख्या पनि बढेको छ । चिसोले बच्चाहरुमा निमोनियाको संक्रमण बढेको तथा बुढाबुढीहरुलाई दम रोगले सताएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. किशोर बन्जाडेले बताउनुभयाे ।

यसैगरी पछिल्लो समय चिसो बढेसँगै अस्पतालमा पेट झरेको, पेट दुखेको, सुगर बढेको, ब्लड प्रेशर बढेको, हाड जोर्नी दुखेको समस्या भएका बिरामीहरुको संख्या बढेको बताउँदै डा. बन्जाडेले भन्नुभयाे, ‘चिसोमा अझ हृदयाघात हुने खतरा पनि रहन्छ । हामीकहाँ ३/४ जना हृदयाघात भएका बिरामीहरु पनि आएका छन् ।’

सर्वसाधारणहरुलाई चिसोबाट बच्न आगो ताप्नका लागि जिल्लाका तिलौराकोट साझेदारी वन, मायादेवी साझेदारी वन, कपिलवस्तु साझेदारी वन र सामुदायिक वनहरुले नि:शुल्क रुपमा ताप्ने दाउरा वितरण गरेका छन् ।

चिसो बढेपछि जिल्लाका सरकारी तथा निजी विद्यालयहरु माघ ३ गते सम्मका लागि बिदा गरिएको कपिलवस्तु नगरपालिका शिक्षा शाखाका प्रमुख हरि प्रसाद ज्ञवालीले जानकारी दिनुभयाे ।  

अन्तिम अपडेट: चैत ११, २०८०

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया