ए डिभिजन लिग : मनाङ मर्स्याङदी र हिमालयन शेर्पाबीच गाेलरहित बराबरी

 पुस २६, २०७६ शनिबार १७:४२:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - शहीद स्मारक ए डिभिजन लिगमा साविक विजेता मनाङ मर्स्याङदी क्लब हिमालयन शेर्पासँग गाेलरहित बराबरीमा रोकिएको छ । यसका कारण मनाङले लिगको शीर्ष स्थानमा फर्कने अवसर गुमाएको छ । 

दशरथ रंगशालामा शनिबार भएको खेलमा मनाङका तीन खेलाडी प्रतिबन्धमा पर्नुको प्रभाव राम्रोसँग देखियो । टिमका मुख्य तीन खेलाडी एन्फाको प्रतिबन्धमा परेका कारण बेन्चमा बस्ने खेलाडीलाई मौका दिएको मनाङले पुरै खेलमा डरलाग्दो आक्रमण गर्न सकेन ।

मनाङका सुरज विक ७२ औँ मिनेटमा रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि बाँकी समय १० खेलाडीमा सीमित भएको थियो । १० खेलाडी माथि शेर्पा पनि हावी हुन नसक्दा खेल गाेलरहित बराबरीमा टु‌गिएकाे हाे ।

यो बराबरीपछि मनाङ ६ खेलमा १२ अंकका साथ लिगको दोस्रो स्थानमा छ । आर्मीको पनि समान १२ अंक भए पनि गोल अन्तरका आधारमा तेस्रो स्थानमा झरेको छ । शेर्पा लिगमा अझै जितविहीन रहेको छ । उसको ६ खेलमा दुई हार र चार बराबरी भएको छ । मनाङको लिगमा तेस्रो बराबरी हो ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया