महिला भलिबलको उपाधिका लागि आयाेजक न्यु डायमण्ड र एपीएफबीच प्रतिस्पर्धा हुने

 पुस २६, २०७६ शनिबार २०:४०:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - साविक विजेता नेपाल एपीएफ क्लब र साविक उपविजेता तथा आयोजक न्यु डायमण्ड स्पोर्ट्स क्लब तेस्रो संस्करणको होङ्ग्वान्जी न्यु डायमण्ड खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

नयाँ बसपार्कमा रहेकाे ढोरपाटन क्लबको मैदानमा शनिबार भएको सेमिफाइनलमा एपीएफले नेपाल पुलिसलाई तीन शून्यको सेटमा पराजित गर्दा न्यु डायमण्डले त्रिभुवन आर्मीलाई पनि तीन शून्यकै सेटमा पराजित गर्दै उपाधिका लागि निर्णायक प्रतिस्पर्धा पक्का गरेका हुन् ।

सेमिफाइनलमा पराजित भएका आर्मी र पुलिस तेस्रो स्थानका लागि आइतबार नै प्रतिस्पर्धा गर्नेछन् ।

शनिबार भएको दोस्रो सेमिफाइनलमा न्यु डायमण्डले आर्मीमाथि तीन सून्यको सहज जित हात पार्न सफल भयो । पहिलो सेट २५–१७ ले आफ्नो पक्षमा पारेको न्यु डायमण्डले दोस्रो सेट २५–१६ले जित्यो । तेस्रो तथा निर्णायक सेट पनि न्यु डायमण्डले २५–११ ले जितेकाे हाे ।

एपीएफले शनिबार नै भएको पहिलो सेमिफाइनलमा नेपाल पुलिसलाई तीन शून्यको सेटमा जित हात पारेको थियो । पहिलो सेट २५– १४ ले जितेको एपीएफले दोस्रो सेट २५–१८ ले पक्षमा पारेको थियो । तेस्रो तथा निर्णायक सेट पनि एपीएफले २५– १७ ले जित्दै फाइनलमा स्थान बनाएको थियाे ।

होङ्ग्वान्जी बौद्ध समाज नेपालको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले ४ लाख १ हजार १ रुपैयाँ तथा दोस्रो हुने टोलीले ३ लाख १ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछ । तेस्रो हुनेले टोलीले १ लाख ५१ हजार १ सय १ रुपैया तथा चौथो हुनेले ५१ हजार १ सय १ रुपैयाँ प्राप्न गर्नेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २१ हजार १ सय १ रुपैया प्राप्त गर्नेछन् । त्यस्तै व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही ७ हजार १ सय १ रुपैयाँ पाउने आयाेजकले जनाएका छन् । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया