अस्ट्रेलियाकाे आगाे झन् भयावह बन्दै, प्रधानमन्त्रीले मागे माफी

 पुस २७, २०७६ आइतबार १४:५७:३० | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – दक्षिण–पूर्वी अस्ट्रेलियाको आकाशको रङ्ग पूर्णरुपमा रातो देखिएको छ  । आगलागीका कारण अस्ट्रेलियामा नयाँ वर्षको सुरुवात चिन्ताबाट सुरु भएको छ । 

यद्यपि यहाँको झाडीनुमा जङ्गलमा गएको वर्षको सेप्टेम्बरमा आगो लागेको थियो तर अहिलेसम्म पनि आगोले रोकिने सङ्केत देखाएको छैन । 

आगलागीबाट अहिलेसम्म २८ जनाले ज्यान गुमाइसकेका छन् । जति ठूलो डेनमार्कको भाग छ, त्योभन्दा ठूलो अस्ट्रेलियाको भाग आगोको चपेटामा परेको छ ।

कम्तीमा दुई हजार घर जलेर नष्ट भएका छन्, झण्डै ५० करोड जनावर र पशुपंक्षी जलिसके । अवस्था अझै नाजुक हुनसक्ने आशङ्का व्यक्त गरिएको छ ।तापक्रमले सबै रेकर्ड तोडेको छ, सुख्खा जङ्गल र तीव्र गतिको हावाको कारण आगो झन् भयावह भएको छ । यो महिना सिड्नीको तापक्रम ४९ डिग्रीसम्म पुगेको थियो । 

सन् २०१७ देखि न्यु साउथ वेल्स र क्वीन्सल्याण्डमा लगातार वर्षा कम हुँदै गइरहेको छ । वर्षा नहुँदा कृषि उत्पादन मात्रै घटेको छैन, आगो फैलन पनि मद्दत पुगेको छ । 

न्यु साउथ वेल्समा झण्डै एक करोड एकडको इलाका जलेर नष्ट भएको छ । गर्मीको मौसममा अस्ट्रेलिया समान्यरुपमा तातो र सुख्खा रहन्छ तर जलवायु परिवर्तनका कारण सुख्खा र गर्मीको दायरा बढेको छ । 

अस्ट्रेलियाको धेरैजसो राज्य आगोबाट प्रभावित भएको छ तर न्यु साउथ वेल्स सबैभन्दा धेरै आगोको चपेटामा परेको छ । अस्ट्रेलियाको ठूलो शहर मेलबर्न र सिड्नी पनि आगोबाट प्रभावित भएको छ । डिसेम्बरको सुरुवातमा सिड्नीको हावाको गुणस्तर खतरनाक स्तरमा पुगेको थियो । 

अस्ट्रेलियामा गर्मीको मौसम डिसेम्बरदेखि फेब्रुअरीसम्म रहन्छ । टाइम म्यागेजिनका अनुसार न्यु साउथ वेल्सको झण्डै ३० प्रतिशत जङ्गल जलिसकेको छ । यो हप्ता ५० प्रतिशतसम्म पुग्न सक्ने आशङ्का व्यक्त गरिएको छ । अस्ट्रेलियाको मौसम विभागका अनुसार सन् २०१९ सबैभन्दा गर्मी वर्ष थियो । 

अस्ट्रेलियाकाे तापक्रम बढिरहेकाे छ

आँकडामा अस्ट्रेलियाको तापक्रम सन् १९१० पछि एक डिग्री सेल्सियस बढेको छ । ब्यूरो अफ् मेटिअरोलजीका अनुसार सन् १९५० पछि तापमान धेरै बढ्न सुरु भएको छ । अस्ट्रेलियाले डिसेम्बरमा दुई पटक तापक्रमको रेकर्ड तोडेको थियो । 

गएको डिसेम्बर १७ मा औसत अधिकतम तापक्रम ४० दशमलव ९ डिग्री सेल्सियस रेकर्ड भएको थियो । यसको भोलिपल्ट तापक्रम ४१ दशमलव ९ डिग्री सेल्सियस थियो । यो दुवै दिन सन् २०१३ को ४० दशमलव ३ डिग्री सेल्सियसको तापक्रमको रेकर्ड तोडिएको थियो । 

डिसेम्बरको अन्त्यमा प्रत्येक राज्यमा तापक्रम ४० डिग्रीभन्दा माथि मापन गरिएको थियो । यसमा तस्मानिया राज्य पनि सामेल छ, जुन सामान्यरुपमा अन्य इलाकाको तुलनामा चिसो हुने गर्दछ । 

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आगो (बुशफायर) बाट छुटकारा पाउने तरिकालाई लिएर खेद प्रकट गरेका छन् । आगो र जलवायु परिवर्तनको विषयमा प्रधानमन्त्री मोरिसनको सरकारले आलोचना सहँदै आइरहेको छ । 

आइतबार प्रधानमन्त्री मोरिसनले भने, ‘जमिनस्तरमा केही चीज राम्रो तरिकाबाट सम्हाल्न सकिन्थ्यो ।’ पछिल्लो केही हप्ता न्यु साउथ वेल्स र भिक्टोरिया राज्यमा आगो प्रभावित इलाकाको भ्रमणका क्रममा प्रधानमन्त्री मोरिसनले विरोधको सामना गरिरहेका छन् । यसैका कारण उनले आफ्नो भ्रमण रद्द गरेका छन् । यी दुई राज्य आगलागीबाट बढी प्रभावित भएका छन् । 

प्रधानमन्त्री मोरिसन न्यु साउथ वेल्स्को कोबार्गाे शहर पुग्दा एक महिलाले फायर सर्भिसको लागि अरु संशाधन माग्न थालिन् । केही व्यक्तिले प्रधानमन्त्रीलाई ‘मूर्ख’ भन्दै ‘तिमीले यहाँबाट भोट पाउने छैनौँ’ भने ।   

एबीसीसँगको एक टेलिभिजन अन्तर्वार्तामा मोरिसनले भने, ‘यो संवेनदशील परिस्थिति हो, यो भावनात्मक परिस्थितिसँग जोडिएको छ । प्रधानमन्त्रीलाई पनि मानिसहरुसँग भेट्दा भावना र कमजोरीको आभास हुन्छ ।’

केही मेहिनाअघि उनी छुट्टी मनाउनका लागि विदेश पुग्दा पनि निकै आलोचना र विरोधको सामना गर्नु परेको थियो । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया