अग्युराेकाे कीर्तिमानी ह्याट्रिकमा म्यानचेस्टर सिटीकाे फराकिलाे जित

 पुस २८, २०७६ सोमबार ८:१८:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले एस्टन भिल्लालाई ६–१ गाेल अन्तरले हराएको छ ।

सिटीको जितमा सर्जियो अग्युराेले ह्याट्रिक गरे भने रियाद मेहरेजले दुई गोल गरे । अर्को एक गोल ग्याब्रियल जेससले गरे । एस्टन भिल्लाको मैदानमा भएको खेलमा ७१ प्रतिशत बल पोसेसन जमाएको सिटीले २२ वटा प्रहार गर्दा १२ वटा टार्गेटमा हानेको थियो ।

खेलको १८औँ मिनेटमा रियाद मेहरेजले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । उनले अग्युराेकाे पासमा गोल गरेका थिए । त्यसको ६ मिनेटपछि मेहरेजले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई दुई गोलको अग्रता दिलाए ।

खेलकाे २८औँ मिनेटमा अग्युरोले केभिन डी ब्रुयनको पासमा गोल गर्दै सिटीलाई ३–० को अग्रता दिलाए । पहिलो हाफको इन्ज्युरी समयमा जेससले गोल गर्दा सिटीले ४–० को अग्रता लियो ।

खेलकाे ५७औँ र ८१औं मिनेटमा गोल गर्दै अग्युराेले प्रिमियर लिगमा १२औँ ह्याट्रिक पूरा गरे । ह्याट्रिकसँगै अग्युराे प्रिमियर लिगमा सबैभन्दा धेरै गोल गर्ने विदेशी खेलाडीसमेत बनेका छन् । उनले थिएरी हेनरीको एक सय ७६ गोलको कीर्तिमान तोडेका छन् ।

खेलको इन्ज्युरी समयमा एस्टन भिल्लाका अनवर एल घाजीले पेनाल्टीमार्फत सान्त्वना गोल गरे । जितसँगै सिटीले प्रिमियर लिगमा ४७ अङ्क बनाएको छ । एक खेल कम खेलेको शीर्ष स्थानको लिभरपुलको ६१ अङ्क छ । भिल्ला भने २१ अङ्कसहित १८औँ स्थानमा छ ।

अर्काे खेलमा वाट्फोर्डले एएफसी बर्नमाउथलाई ३–० ले हराउँदै रेलिगेसन जोनबाट माथि उठेको छ । वाट्फोर्डले २२ खेलबाट २२ अङ्क बनाएको छ भने एएफसी बर्नमाउथ २० अङ्कसहित १९औँ स्थानमा छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया