इरानमा सरकार विरोधी प्रदर्शन चर्कँदै, सर्वाेच्च नेता खामनेईविरुद्ध नाराबाजी

 पुस २८, २०७६ सोमबार १०:३०:४० | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – इरानी सेनाले युक्रेनी विमान भुलवश खसालेको स्वीकार गरेपछि तेहरानमा आइतबार पनि सरकारविरुद्ध प्रदर्शन भएको छ । 

अमेरिकी हवाई आक्रमणमा इरानी सैन्य कमाण्डर कासिम सुलेमानी मारिएपछि अमेरिका र इरानबीचको तनाव बढिरहेको छ । तेहरानमा भएको विमान दुर्घटनामा एक सय ७६ जनाको ज्यान गएको विषयमा सरकारले झुट बोलेको भन्दै प्रदर्शन सुरु भएको हो ।  

आइतबारको प्रदर्शनमा प्रदर्शनकारीहरुले ईरानको सर्वाेच्च नेता आयातूला अली खमनेईविरुद्ध पनि नारा लगाए । यसैबीच अमेरिकाले फेरि एक पटक ईरानसँग बिना शर्त वार्ता गर्न तयार रहेको बताएको छ । 

प्रदर्शनकारीहरुको भिडलाई तितरबितर पार्न अश्रृग्यास प्रहार गरिएको र कैयौँलाई पक्राउ गरिएको सञ्चारमाध्यमहरुले जनाएका छन् । 

ट्वीटरमा राखिएको एक भिडियोमा तेहरानको एक विश्वविद्यालयबाहिर प्रदर्शनकारीहरुले भनेका छन्, ‘सरकारले हाम्रो शत्रु अमेरिका हो भनेर भुट बोलिरहेको छ, वास्तवमा हाम्रा शत्रु त यहीँ छन् ।’ यो पोस्टको आधिकारिक पुष्टि भने भएको छैन तर सरकार सञ्चारमाध्यमले शनिबार भएको विरोध प्रदर्शनको पुष्टि गरेका छन् । 

विभिन्न देशका यात्रु चढेको युक्रेनी विमान इरानी क्षेप्यास्त्र प्रहारबाट दुर्घटना भएको थियो । दुर्घटनाको दुई दिनसम्म ईरानी सेनाले क्षेप्यास्त्र प्रहार नभएको दाबी गरे पनि गएको शनिबार भने भुलवश क्षेप्यास्त्र प्रहार भएको जनाएको थियो । 

युक्रेनी अधिकारीहरुका अनुसार विमान दुर्घटनामा ८२ जना इरान, ६३ जना क्यानडा, ११ जना युक्रेन, १० जना स्विडेन, चार जना अफगानिस्तान, तीन जना यूके र तीन जना जर्मनीका नागरिकको ज्यान गएको थियो । 

प्रदर्शनमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मीका साथै रेभलुशनरी गार्ड्सका सैनिक पनि खटिएका छन् । प्रदर्शनकारीमध्ये अधिकांश महिलाहरु छन् । 

प्रदर्शनकारीहरुले सर्वाेच्च नेता आयातुला अलि खामनेईलाई लक्षित गर्दै ‘मुख्य कमाण्डर राजीनामा देऊ’ र ‘झुट बोल्नेहरुलाई मृत्यु’ भन्दै नाराबाजी गरेका थिए । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया