थपिँदै साहसिक पर्यटकीय गन्तव्य, व्यवसायी भन्छन्– 'यो क्षेत्रको लगानी डुब्दैन'

 पुस २९, २०७६ मंगलबार १२:५०:२६ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डाै – नेपाल आउने धेरैजसो पर्यटक हिमाल हेर्न र यहाँको जनजीवन अवलोकन गर्न आउँछन् भन्ने विश्वास छ । तर अहिले बिस्तारै पर्यटककाे रोजाइ र रुचि फरक हुन थालेका छन् ।

नेपालमा बढ्दै गरेका साहसिक पर्यटनका नयाँ नयाँ गन्तव्यहरुले स्वदेशी र विदेशी पर्यटकलाई लोभ्याउन थालेका छन् । पर्यटकहरुले यस्ता गन्तव्यमा रुचि देखाएपछि नेपालमा साहसिक पर्यटकीय उद्योग बढ्न थालेका छन् । साथै लगानी गर्नेहरु पनि उत्साहित छन् ।

जीपलाइन, बञ्जी, प्याराग्लाइडिङ, क्यानोनिङ, स्काइ डाइभिङ जस्ता साहसिक पर्यटकीय गन्तव्यमा पर्यटकको ओइरो लागेकैले यस्ता गन्तव्य तीव्र ढङ्गले बिस्तार भइरहेका छन् । लगानीकर्ताले पनि साहसिक पर्यटकीय गन्तव्यमा गरेको लगानी डुब्ने खतरा नरहेको बताएका छन् । 

धुलिखेलको जीपलाइन : डरैडरैमा सुरु गरेको व्यवसायबाट सञ्चालक उत्साहित

काभ्रेको धुलिखेलमा जीपलाइन सञ्चालन गरिरहेको वर्ल्डवाइड एडभेन्चर प्रालीका कार्यकारी निर्देशक (सीईओ) भुपेस श्रेष्ठसहितको टोलीले सन् २०१९ को फेब्रुअरीमा नेपालमै पहिलो पटक जीपलाइन सञ्चालन गर्दा केही जोखिम मोलेको पनि अनुभव गरेको थियो ।

तर काभ्रेको धुलिखेलकाे थाक्लेडाँडादेखि खावा पाँचखालसम्मको ११ सय मिटर लामो दुरीमा जीपलाइन सञ्चालन गरेको वर्ल्डवाइड एडभेन्चर प्रालीका सञ्चालक श्रेष्ठले अहिले भने यो व्यवसायमा जोखिम नभएको अनुभव गर्न थाल्नु भएको छ । किनकि अहिले थाक्लेडाँडादेखि खावासम्म जीपलाइन गर्ने स्वदेशी र विदेशी पर्यटकको सङ्ख्या बढेको बढ्यै छ । 

‘हामीले नयाँ प्रयोग गर्न खोजेका हौँ । नयाँ प्रयोग कतै सफल हुन्छ, कतै असफल हुन्छ तर हाम्रोमा सफल भएको छ । छोटो समयमै हामीले धेरै राम्रो प्रतिक्रिया पाएका छौँ र उत्साहित पनि भएका छौँ ।’ श्रेष्ठले भन्नुभयो । 

कम्पनीले अहिले ८ वटा कोठासहितको सुविधासम्पन्न रिसोर्ट पनि बनाइरहेको अध्यक्ष केदार बहादुर थापाले जानकारी दिनुभयाे । पाँच करोड रुपैयाँ लगानी गर्ने योजना बनाएको कम्पनीले नेपालको साहसिक पर्यटकीय गन्तव्यमा नयाँ आयाम ल्याउने दाबी गरेको छ । 

धुलिखेलको जीपलाइन सफल बन्दै गर्दा भेडेटारमा पनि दुई वटा जीपलाइन खुल्दै छन् । यस्तै भक्तपुरको नगरकोटमा पनि जीपलाइन बन्न थालेको छ ।

पोखरामा दोस्रो बञ्जी

पोखराको हेम्जामा यसअघि नै मंगलम ग्रुप गोल्छा समूहले बञ्जी सुरु गरिसकेको छ । यो बन्जीमा पर्यटकको आकर्षण बढिरहेको छ । थप पर्यटक लोभ्याउन पोखरामै अर्को बञ्जी बनिरहेको छ ।

पोखरा महानगरपालिका १७ मा बञ्जी नेपाल एडभेन्चर प्रालीले बञ्जी बनाइ रहेको छ । आउँदो फागुनभित्रै यो बञ्जी सञ्चालन भइसक्ने प्रबन्ध निर्देशक सन्तोष भट्टराईले जानकारी दिनुभयो । मकाउ, जापान, सिङ्गापुर, थाइल्याण्डमा १० वर्षभन्दा लामो बन्जी अनुभव सँगाल्नु भएका भट्टराईसहित राजु कुँवर, दुर्गादत्त खरेल, दिल गुरुङ, दामोदर बराल, भूपाल बहादुर बराल क्षेत्री, शान्ति लम्साल भट्टराई र प्रदीप बरालले आठ करोड रुपैयाँ लगानी गर्नु भएको छ । 

‘मेरो सपना नै पोखरामा बञ्जी जम्प खोल्ने थियो, अहिले मसहितको टिमले त्यो सपना पूरा गर्दैछौँ, पोखरामा आउने पर्यटकलाई बञ्जीमा नयाँ 'टेस्ट' दिने हाम्रो प्रयास छ’, प्रबन्ध निर्देशक भट्टराईले उज्यालो अनलाइनसँग भन्नुभयो । 

पोखरामा यसअघि नै बञ्जी सञ्चालनमा छ, तपाईँहरु नयाँ के दिनु हुन्छ त ?

भट्टराईले भन्नुभयो, ‘आँखै अघिल्तिर माछापुच्छ्रे हेर्न पाइन्छ, विदेशी र स्वदेशीलाई एउटै शुल्क हुनेछ । दौडेर, छाता ओढेर, साइकलमा, अपाङ्गता भएका लगायत जस्तोसुकै अवस्थामा पनि बञ्जी गर्न पाइनेछ, डोरी हामीले नै उत्पादन गर्दैछौँ, रबर चुँडिए पनि फेब्रिकेट हालिएको हुन्छ, २० टन बराबरको तौल धेरै तौल हुन्छ ।’

बञ्जीकाे विश्वप्यापी संस्था सिङ्गापुरको 'गो बञ्जी' अन्तर्गत रहेर सबै खालका सुरक्षाका उपाय अपनाइने पनि भट्टराईले जानकारी दिनुभयो । 

कुश्मामा संसारकै दोस्रो अग्लो बञ्जी बन्दै

सिन्धुपाल्चोकको भोटेकोशी नदीमा द लास्ट रिसोर्टले सञ्चालन गरेको बञ्जी देशकै प्रख्यात साहसिक पर्यटकीय गन्तव्य बन्न पुग्यो । धेरैको चाहना थियो देशका अन्य ठाउँमा पनि यस्तै साहसिक पर्यटकीय गन्तव्य बनून् । यस्तै चाहनालाई पूरा गर्न पर्वतको कुश्मामा संसारकै दोस्रो अग्लो बञ्जी जम्प बन्दैछ ।

अबको दुई महिनामा सञ्चालनमा आउने यो बञ्जीले साहसिक पर्यटकीय गन्तव्यमा नयाँ इँटा थप्ने बताउनु हुन्छ, द क्लिफ प्रालीका प्रमुख राजु कार्की । ‘म पहिलेदेखि यस्तै क्षेत्रमा लागिरहेको मान्छे हो, नेपालको पर्यटन उद्योगमा केही नयाँ दिउँ भन्ने लागेर हात हालेका छौँ, अहिलेदेखि नै सकारात्मक प्रतिक्रिया पाएकाले यसको सफलतामा हामी ढुक्क छौँ’, द क्लिफ प्रालीका प्रमुख राजु कार्कीले उज्यालो अनलाइनसँग भन्नुभयो । 

पवर्त र बागलुङ जोड्ने पुलमा बन्ने बञ्जीको उचाइ दुई सय २५ मिटर अग्लो हुने छ । मकाउमा रहेको विश्वकै सबैभन्दा अग्लो बञ्जीको उचाइ दुई सय ३५ मिटर रहेको कार्कीको दाबी छ । 

भोटेकोशीको साथै कास्कीको पोखरामा पनि यसअघि नै बञ्जी सञ्चालनमा आएका छन् र सफल पनि भइरहेका छन् । सञ्चालनमा रहेका बञ्जीमा भन्दा कुश्माको बञ्जीमा फरक ‘फिल’ हुने कम्पनीको दाबी छ । 

चित्लाङमा क्वाड बाइक

साहसिक पर्यटकीय खेलकाे अर्काे गन्तव्य मकवानपुरको चित्लाङमा सुरु भएको छ । मरुभूमिमा चढ्न पाइने चारपाङ्ग्रे अर्थात् क्वाड बाइकको मज्जा पहिलो पटक चित्लाङमा ल्याएको छ, द एडभेन्चर गियर प्रालीले ।

चित्लाङ रिसोर्टसँगको सहकार्यमा भित्रिएको क्वाड बाइक सुरु गरेको तीन हप्तामै लोकप्रिय भइसकेको र हरेक दिन यसबारेमा जिज्ञासा आइरहेको प्रबन्ध निर्देशक बलराम महर्जन बताउनु हुन्छ । झण्डै ६० लाख रुपैयाँको लगानीमा ल्याइएका पाँच वटा क्वाड बाइक चित्लाङको पहाडमा बनाइएको ६ किलोमिटर सडकमा चल्ने गर्छन्, यस्ता बाइक सार्वजनिक सडकमा चलाउन पाइँदैन । 

‘नेपालमा साहसिक पर्यटकीय उत्पादन के छ ? भनेर सोच्दै जाँदा हामीले क्वाड बाइकको कन्सेप्टलाई नौलो मान्यौँ, अहिले चित्लाङमा मात्रै होइन नेपालमै यो नौलो विषय भएकाले हामीले राम्रो प्रतिक्रिया पाइरहेका छौँ’, महर्जनले भन्नुभयो । 

सरकारले नेपाल भ्रमण वर्ष सफल बनाउन धेरै योजना बनाइरहँदा आफूहरुको यो व्यवसायले पनि सहयोग पुग्ने महर्जनको भनाइ छ । 

अनुमति लिने बढ्दै 

पर्यटन ऐनमा उल्लेख भएअनुसार बञ्जी, क्यानोनिङ, स्काइ डाइभिङ, जीप फ्लाइङ, प्याराग्लाइडिङ, बेलुनिङ, केबलकार, अम्युजमेन्ट पार्क र फनपार्क साहसिक पर्यटन उद्योगमा पर्छन् । पर्यटन विभाग २०७१ सालमा स्थापना भएकाले यसभन्दा अघि खुलेका यस्ता उद्योगले पर्यटन विभागमा दर्ता हुनु नपर्ने भएकाले पर्यटन विभागसँग कुन क्षेत्रमा कति उद्योग सञ्चालनमा छन् भन्ने यकिन तथ्याङ्क छैन । 

अहिले पर्यटन विभागअन्तर्गत तीन वटा स्पीड जेट बोट, अल्ट्रा ट्रेल रेस नाै वटा, रक क्लाइमिङ एउटा, क्यानोनिङ एउटा मनोरञ्जन पार्क एउटा र बञ्जी जम्प दुई वटा गरी १७ वटा साहसिक पर्यटकीय उद्योग सञ्चालनमा रहेका छन् । यस्तै नेपाल नागरिक उडड्यन प्राधिकरणअन्तर्गत झण्डै एक सय प्याराग्लाइडिङ कम्पनी, एउटा हट एअर बेलुन र केही अल्ट्रालाइट उडान सञ्चालनमा छन् । 

हिमाल पहाड, नदीनाला, मठमन्दिर र जनजीवन देखाएर पर्यटक भित्र्याउने नेपालमा अब साहसिक गन्तव्यहरु धमाधम बनिरहेका छन् । जसले नेपालमा पर्यटक बढाउने मात्र होइन, यो क्षेत्रलाई दिगो बनाउन मद्दत गरिरहेका छन् । 

अन्तिम अपडेट: चैत ९, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया