अमेरिका–चीनले व्यापार सम्झाैताकाे पहिलाे चरणमा हस्ताक्षर गरे, १८ महिनापछि तनाव समाप्त !

 माघ २, २०७६ बिहिबार ७:४५:३२ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – अमेरिका र चीनले गएको १८ महिनादेखि चलिरहेको व्यापार युद्ध समाप्त गर्ने दिशामा पहिलो कदम बढाएका छन् । 

दुवै देशले बुधबार सम्झौताको पहिलो चरणमा हस्ताक्षर गरे । गएको डिसेम्बरमा अमेरिका र चीन सरकारले व्यापार सम्झौताको दिशामा अघि बढ्ने निर्णय लिएका थिए । 

सम्झौताको पहिलो चरणअन्तर्गत चीनबाट आयात हुने सामानमा लगाइएको केही नयाँ कर फिर्ता लिने घोषणा गरिएको छ र त्यसबापत चीनले अमेरिकासँग धेरै कृषि उत्पादन खरिद गर्नेछ । 

पहिलो चरणको सम्झौतामा हस्ताक्षरसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको दोस्रो चरणको वार्ता पनि छिट्टै सुरु हुने बताए । 

पहिलो चरणको सम्झौता कार्यान्वयनमा आउने बित्तिकै फेरि यी दुई देश दोस्रो चरणको वार्तामा अघि बढ्नेछन् । यद्यपि सयौँ अरब डलरको चिनियाँ आयातमा कर पहिलेको अनुसार नै लागिरहनेछ । ट्रम्पले दोस्रो चरणको वार्ताको लागि सहमति जुटेपछि अतिरिक्त कर फिर्ता लिने बताएका छन् । 

ट्रम्पले यो सम्झौतालाई ऐतिहासिक भएको संज्ञा दिएका छन् । चीनले आउँदो दुई वर्षमा दुई सय अर्ब अमेरिकी डलरभन्दा बढी अमेरिकी सामान आयात गर्नेछ । जसमध्ये ५० अर्ब डलरको कृषि उत्पादन, ७५ अर्ब डलरको निर्माणसम्बन्धी र ५० अर्ब डलर ऊर्जा क्षेत्रसँग सम्बन्धित हुनेछ । 

सम्झौता कार्यक्रममा चीनको तर्फबाट उपप्रधानमन्त्री लियु ही र अन्य अधिकारी उपस्थित थिए । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया